सामुदायिक सुरक्षा जालो अभियान : पीडितका लागि आशाको किरण

आरके शीतल
दाङ, ३१ असार । समाजमा रहेका पीडित, विपन्न र सीमान्तकृत समुदायका लागि आशाको किरण बनेको छ ‘सामुदायिक सुरक्षा जालो अभियान’ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित सामुदायिक सुरक्षा जालो अभियानले २७ महिनाको अवधिमा सयौँ परिवारलाई नयाँ जीवन दिएको छ ।

अभियानको सबैभन्दा प्रभावशाली काममध्ये मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य रहेको छ । घोराही उपमहानगरपालिकाकी ५७ वर्षीया एक महिला जो अढाई वर्षदेखि घरकै कोठामा बन्द थिइन् । उनलाई उचित उपचार दिलाएर परिवारमा पुनर्मिलन गराएको छ । वडा कार्यालयसँगको समन्वयमा उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पु¥याएर मानसिक रोग विशेषज्ञसँग उपचार गराएको थियो ।

छ महिनाको निरन्तर उपचार एवम् हेरचाहपछि उनको स्वास्थ्य सामान्य भएपछि परिवारमा पुनर्मिलन भएको हो । यसैगरी रोल्पाकी १६ वर्षीया एक बालिकालाई पनि मानसिक स्वास्थ्योपचार दिएर अध्ययनमा फर्काउन सफल भएको छ । कक्षा ११ मा पढ्दै गर्दा मानसिक स्वास्थ्यमा समस्या भएकी ती बालिकालाई परिवारले हातखुट्टा बाँधेर राखेको अवस्थामा फेला पारेपछि अभियानले उनलाई तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ल्याएको थियो ।

आठ दिनसम्म निरन्तर उपचारपछि उनको स्वास्थ्यमा सुधार भयो । स्वास्थ्यमा क्रमिक सुधार भएकाले अध्ययनलाई निरन्तरता दिने तयारीमा ती बालिका छिन् । मनोपरामर्श सेवासँगै अभियानले ४३ अतिविपन्न परिवारलाई दिगो जीविकोपार्जनमा जोड्न सफल भएको छ । यस अन्तर्गत २४ जनालाई बाख्रा पालनका लागि बाख्रा र खुद्रा पसलका सामग्री, तीन जनालाई बुटिकसँग सम्बन्धित सामग्री, तीन जनालाई फलफूल पसलका सामग्री, छ जनालाई कुखुरा पालनमा सहयोग, एक जनालाई माछा पसल र कटाइ सिलाइ मेसिन सहयोग गरिएको छ ।

घोराहीकी ३१ वर्षीया एक बादी समुदायकी महिला जो डोकोमा फलफूल बेच्थिन् । कोभिडको समयदेखि आर्थिक अवस्थाका कारण व्यापार छोडेकी उनलाई सामुदायिक सुरक्षा जालो अभियानले १५ हजार बराबरको फलफूल र त्यसका लागि आवश्यक सामग्री सहयोग ग¥यो । त्यसपछि फलफूल पसल सञ्चालन गरेर ती महिलाले अहिले राम्रो आम्दानी गरिरहेकी छिन् ।

बंगलाचुली गाउँपालिकाकी एक जनजाति समुदायकी महिला जसको आर्थिक अवस्था एकदमै कमजोर थियो । दैनिकी चलाउन समेत समस्या भइरहेको बेला उनलाई दुईवटा बिउ बाख्रा सुरक्षा जालो अभियानले सहयोग गरेको थियो । हाल उनीसँग आठवटा खसी÷बाख्रा छन् । उनले बाख्रा बेचेर घरखर्च सहज रूपमा चलाउन सक्ने गरी आम्दानी गरिरहेकी छिन् ।

कमजोर आर्थिक अवस्थाका कारण घर व्यवहार चलाउन धौ धौ भएका महिलाका लागि अभियान सहयोगी बनेको छ । यसैगरी अभियानले तीन सय १३ जना बालबालिकालाई शिक्षामा सहयोग गरेको छ । अतिविपन्न परिवार, सीमान्तकृत समुदाय र अभिभावकविहीन बालबालिकालाई कापी, किताब, कलम, जुत्ता, मोजा, झोला, विद्यालय पोसाक र शुल्क सहयोग गरेको हो ।

घोराही उपमहानगरपालिका–४ को एक दलित परिवारलाई परिवारको सदस्यको मृत्युपछि किरिया बसेको समयमा खाद्यान्नको अभाव भएकोले आवश्यक खाद्यान्नलगायतका सामग्री घरसम्म पु¥याइएको थियो । अभियानले सय बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

मानसिक स्वास्थ्य, लागूऔषध विरुद्ध, बाल अधिकार, महिला अधिकार, लैङ्गिक हिंसा, जुवातास विरुद्ध, प्रजनन् स्वास्थ्य र विपद व्यवस्थापनका विषयमा विभिन्न समुदायमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । यसैगरी अभियानले २१ घरपरिवारलाई आगलागी, चट्याङ, बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक विपद् र मानवीय विपद्मा तत्काल राहत प्रदान गरेको छ । ४० जना बादी, दलित, द्वन्द्वपीडित, हिंसापीडित महिलालाई आधारभूत तथा एड्भान्स कटाइ सिलाइ तालिम समेत प्रदान गरेको छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रकी संस्थापक अध्यक्ष बिमला योगीले भनिन्, ‘हाम्रो संस्थाले स्थापनाकालदेखि नै बालबालिकाको शिक्षामा योगदान पु¥याउँदै आएको छ । सामुदायिक सुरक्षा जालो अभियानले कुनै पनि बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर शिक्षामा सहयोग गर्दै आएको छ ।’ उनका अनुसार आवश्यकता अनुसार विद्यालय शुल्क पनि अभियान अन्तर्गत प्रदान गरिएको छ ।

दिगो जीविकोपार्जनका लागि बिउ पुँजीको रूपमा सामग्री सहयोग, विपद्मा परेको परिवालाई आवश्यकता अनुसार आपतकालीन सहयोग गरेको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले बताइन् ।

सामाजिक सचेतनासँगै जीविकोपार्जनका लागि आर्थिक सहयोग गरेको भन्दै अध्यक्ष न्यौपानेले भनिन्, ‘२७ महिनाको अवधिमा हामीले अतिविपन्न, सीमान्तकृत, पछाडि पारिएका समुदाय र विपद्मा परेका परिवारलाई दिगो जीविकोपार्जनका लागि बिउ पुँजीको रूपमा सामग्री सहयोग र आपतकालीन सहयोग प्रदान गरेका छौँ । यसले उनीहरूलाई आयआर्जनमा जोड्ने काम गरेको छ ।’

अभियान घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका र दंगीशरण गाउँपालिकामा सञ्चालन भएको छ । अभियानले समुदायमा सामाजिक सुरक्षाको जाल निर्माण गरेर पीडित र विपन्न समुदायलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।