गोरक्ष समाचारदाता
दाङ, ३१ असार । घोराही उपमहानगरपालिकाले नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड काठमाडौंले स्वास्थ्य बिमा कार्यक्रमको प्रथम सेवा विन्दु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट हटाउने गरेको निर्णयलाई सच्याउन माग गरेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रिफरल सेन्टर मात्रै तोकिएपछि घोराही उपमहानगरपालिका भित्रका ३७ हजार बढी बिमितलाई उपचारमा समस्या र अन्याय भएको भन्दै घोराही उपमहानगरपालिकाले बिमा बोर्डलाई तत्काल निर्णय सच्याएर प्रतिष्ठानलाई घोराही उपमहानगरपालिका भित्रका नागरिकको उपचारका लागि प्रथम सेवा विन्दु तोक्न अनुरोध गरेको हो ।
उपमहानगरपालिकाले सोमवार बिमा बोर्डलाई पत्र लेख्दै अन्य पालिकामा तोकिएका प्रथम सेवा विन्दुमा उपचार लिन जाने कुरा व्यावहारिक नभएको भन्दै उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै प्रथम सेवा विन्दु तोकी उपचारमा सहज वातावरण बनाइदिन आग्रह गरेको हो ।
नगरका कार्यवाहक प्रमुख हुमाकुमारी डिसीले हस्ताक्षर गरी उक्त पत्र स्वास्थ्य बिमा बोर्डलाई पठाइएको हो । घोराही उपमहानगरपालिकाको नगर अस्पताल बन्ने क्रममै रहेकाले तत्कालका लागि नगरबासीलाई पायक पर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै प्रथम सेवा विन्दु तोकेर बिरामीको स्वास्थ्य सुरक्षामा सहज बनाइदिन स्वास्थ्य बिमा बोर्डलाई अनुरोध गरिएको छ ।