भानु प्रतिष्ठानद्वारा साहित्यकार पोख्रेल सम्मानित

घोराही, ३० असार । २१२ औँ भानु जयन्तीका अवसरमा साहित्यकार विनोद पोख्रेल सम्मानित भएका छन् । साहित्य, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान पु¥याएका साहित्यकार पोख्रेललाई भानु प्रतिष्ठान लुम्बिनी प्रदेशले साहित्यकार पोख्रेललाई सम्मान गरेको हो ।

भानु प्रतिष्ठान लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष बमबहादुर डिसीलगायतका अतिथिले पोख्रेललाई सम्मानपत्रसहित टोपी लगादिएर सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय पूर्वसदस्य डिल्लीराज रेग्मीले नागरिकमा लोकतन्त्र र प्रजातन्त्रप्रतिको भावना विकाससँगै सामाजिक क्षेत्रमा पोख्रेलको महत्वपूर्ण योगदान रहेको बताएका थिए ।

विचारमा दृढ, कर्ममा क्रियाशील र शालीन स्वभावका बौद्धिक व्यक्तित्व पोख्रेलले भाषा, साहित्यसँगै प्रजातान्त्रिक आन्दोलनको विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले प्रजातान्त्रिक आन्दोलनलाई संस्थागत विकाससँगै साहित्य र पत्रकारिताका माध्यमबाट नेपाली भाषा, साहित्यको विकासका क्षेत्रमा पोख्रेलको योगदान उल्लेखनीय रहेको बताएका थिए ।

सम्मानित साहित्यकार पोख्रेलले लेख, निबन्ध, कवितासँगै साहित्यिक संस्था स्थापना गरेर यस क्षेत्रमा भाषा, साहित्य, पत्रकारितासँगै प्रजातान्त्रिक आन्दोलनलाई जनस्तरसम्म पु¥याउन भूमिका खेल्दै आएका छन् ।

भानु प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष बमबहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रममा सामनित व्यक्तित्व विनोद पोख्रेल लेखक संघ दाङका पूर्वअध्यक्ष एवम् प्राज्ञ उत्तमकृष्ण मजगैयाँ, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा र लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सम्मान कार्यक्रममा संविधान सभा सदस्य अनिता देवकाटा,नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेय, नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशवरी गौतम, नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगी, नेपाली कांग्रेस दाङ क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्कालगायतका नेता तथा साहित्यिक व्यक्तत्वको सहभागिता रहेको थियो ।

किशोरचन्द्र गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका सहभागीलाई नेपाली कांग्रेस दाङकी पूर्वकोषाध्यक्ष सावित्रा रानाले धन्यावाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सहजीकरण भानु प्रतिष्ठान लुम्बिनी प्रदेशकी सदस्य सन्ध्या रेग्मीले गरेकी थिइन् ।

यसैबिच भानु जयन्तीका अवसरमा साहित्यकारले आदिकवि भानुभक्त आचार्यको सम्झनामा उनको तस्बिरमा सामूहिक रूपमा माल्यार्पणसँगै योगदानको स्मरण गरेका छन् । घोराही उपमहानगरपालिका–१५ स्थित भानु चोकमा जम्मा भएर भानुभक्त आचार्यको तस्बिरमा मल्यार्पणसँगै उक्त ठाउँमा सरसफाइ गरेका थिए । कार्यक्रममा साहित्यकार, पत्रकारलगायत नागरिकको सहभागिता रहेको थियो ।