२१२ औँ भानु जयन्ती
गोरक्ष समाचारदाता
दाङ, ३० असार । नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्धनमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको वक्ताले बताएका छन् ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीका अवसरमा लेखक संघ दाङले घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले रामायणका माध्यमबाट भाषाको एकीकरण गर्दै नेपाली भाषीलाई एकतामा बाँध्न भानुभक्तको महत्वपूर्ण योगदान रहेको बताएका थिए ।
कार्यक्रममा लेखक संघ दाङका पूर्वअध्यक्ष एवम् संस्कृतिविद् डा शिवकुमार सुवेदीले भानुभक्त आचार्यलाई नेपालमा मात्र नभई नेपाल बाहिर रहेका नेपालीले पनि उत्तिकै आदार र सम्मान गर्ने बताए । उनले भानुभक्तको योगदान स्मरण गर्दै भाषाको संरक्षण र विकासमा साहित्यिक चेतना जगाउनु आवश्यक रहेको बताएका थिए । उनले पछिल्लो समय नेपाली भाषा, साहित्य र कलाप्रति युवाको मोह घट्दै गएको भन्दै नेपाली भाषा र साहित्यमा भानुभक्तको महत्वबारे जानकारी गराउनुपर्ने बताएका थिए ।
लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा प्राज्ञ उत्तमकृष्ण मजगैयाँले भानुभक्तले भाषा र संस्कृतिलाई माध्यम बनाउँदै नेपाली जनमानसलाई एकसूत्रमा बाँधेको उल्लेख गर्दै आजको परिवेशमा पनि भानुभक्तको विचार र शैली सान्दर्भिक रहेको बताए ।
नेपाली साहित्यको गौरवशाली यात्रा र भाषाको एकताको सेतु निर्माण गर्ने भानुभक्तको योगदान महत्वपूर्ण भएको भन्दै तत्कालीन सन्दर्भमा लेखिएका कतिपय विषयलाई अहिलेको सन्भर्दसँग जोडेर विरोध गर्न नमिल्ने बताए ।
कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय पूर्वअध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनाल, नेपाली लेखक संघका सल्लाहकार डा कृष्णराज डिसी, सम्मानित साहित्यकार डा गोविन्द आचार्य, साहित्यकाहरू नारद भण्डारी, कपिल घिमिरे, शरद गौतम, विदूषी पाण्डे, देवेन्द्र रिजाल, सन्ध्या रेग्मी, कमला रिजाल, गोविन्द पौडेल, महेश न्यौपाने, नरेशजंग राणा, बिना रोका क्षेत्री, मधुसूदन गौतम, रामप्रसाद जैशी, गोपाल भुसाल ‘अभिलाषी’, कुलबहादुर वलीलगायतले रचना वाचन गर्दै आदिकवि आचार्यले नेपाली साहित्य र भाषाको विकासमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा उपप्रध्यापक किशोरचन्द्र गौतमले आदिकवि भानुभक्त आचार्य र नेपाली भाषा साहित्यका क्षेत्रमा पु¥याएको योगदानबारे प्रकाश पारेका थिए । लेखक संघ दाङका सदस्य हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष गोविन्द पौडेलले गरेका थिए ।
साहित्यकार डा आचार्य पुरस्कृत
यसैबिच भानु जयन्तीका अवसरमा लोकगायक, साहित्य तथा संस्कृतिविद् डा गोविन्द आचार्य पुरस्कृत भएका छन् । बामदेव खनाल र सन्तोष खनालद्वारा लेखक संघ दाङमा स्थापना गरेको ‘ऋषि–मेनका वाङ्मय पुरस्कार’बाट आचार्य पुरस्कृत भएका हुन् । पुरस्कृत आचार्यलाई कार्यक्रमका प्रमुख अतिथिलगायतले प्रमाणपत्र प्रदान गरेका थिए । त्यस अवसरमा साहित्यकार गुरुप्रसाद कुमाल ‘बुलबुल’लाई पनि पुरस्कार प्रदान गरिएको थियो । नारायण नेपालले स्थापना गरेको ‘नारायण सल्यानी स्मृति पुरस्कार–२०८१’ साहित्यकार बुलबुललाई प्रदान गरिएको थियो ।