प्रवृत्ति शाह
दाङ, ३० असार । लुम्बिनी प्रदेशका अल्पसङ्ख्यक, सीमान्कृत र लोपोन्मुख समुदायलाई सहयोग गर्न प्रदेश स्तरीय सहयोगी समूह गठन गरिएको छ ।
शनिवारदेखि सुरु भएको प्रदेश स्तरीय नीति सञ्जालको दुईदिने कार्यशाला गोष्ठीमा सहभागी लुम्बिनी प्रदेशको सामाजिक विकास समिति सभापति र सदस्य, कानून समिति सदस्य र अर्थ समितिका सदस्यलगायत विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागी रहेको सहयोगी समूह गठन गरिएको हो ।
राज्यको मुल प्रवाहीकरणमा अल्पसङ्ख्यक, सीमान्कृत र लोपोन्मुख समुदायलाई राज्य व्यवस्थामा पहुँच पुग्न वातावरण निर्माणका लागि सहयोगी समूहले भूमिका खेल्नेछ । यी समुदाय र वर्गलाई माथि उठाउन आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता कार्यक्रममा जनाइएको छ ।
संवाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतका अनुसार समितिमा लुम्बिनी प्रदेश सामाजिक विकास समितिका सभापति यामप्रसाद नेपाली सार्की, सामाजिक विकास समितिका सदस्य रेखा शर्मा, कानून समितिका सदस्य सुशीला नेपाली बादी र जमुना ढकाल, अर्थ समितिका सदस्य हेमा बेल्बासे रहेका छन् ।
समितिमा कानून व्यवसायी, निजी क्षेत्र, भूगोल, नागरिक समाज, पत्रकार, गैरसरकारी संघसंस्थालगायतका प्रतिनिधिको सहभागिता रहेको छ । सहभागी प्रदेश सभाका जमुना ढकाल, रेखा शर्मा, यामप्रसाद नेपाली सार्की, हेमा बेल्बासेलगायतले आआफ्नो तर्फबाट यी समुदायका लागि आवाज उठाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा सहभागी द एसिया फाउन्डेसनका डिपुटी कन्ट्री रेप्रिजेन्टिभ प्रीति थापाले नेटवर्क, सहयोगी समूह, निजी क्षेत्रलगायतको सहकार्य र समन्वयमा काम गर्न सके यी सवाल सम्बोधन हुने विश्वास व्यक्त गरेका थिए ।
ं
सम्वाद समूहले विगत दुई वर्षदेखि राज्यको मूल प्रवाहीकरणमा आउन नसकेका समुदाय, वर्ग र भूगोलका नागरिकको एउटा नीति सञ्जाल गठन गरेको छ । जसमा चिडीमार, नटुवा, सोना, कुसुन्डा, बादी, गन्धर्व, मुस्लिम, कुमाल, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, यादव, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र थारू महिलालगायतका छन् ।
नीति सञ्जालले उक्त समुदायलाई नीति निर्माण, बजेट निर्माण र कार्यान्वयनमा सहभागिता गराउँदा सङ्घीयता कार्यान्वयनको अनुभूति हुने अपेक्षा गरेको छ ।
यस अघि सम्वाद समूहले राजनीतिक अधिकारका लागि, पहिचानका सवालमा, संविधानमा जातजाति, लिङ्ग, धर्म, भाषा, संस्कृतिलगायतको अधिकार सुनिश्चितताका लागि, संविधान सभाको निर्वाचन तोकिएको समयमा गर्नुपर्ने, संविधान कार्यान्वयन, प्राकृतिक स्रोत व्यवस्थापन र उपयोगका सवाललगायतका विषयमा सम्वाद गराई सवालको व्यवस्थापन र रूपान्तरण गर्दै आएको छ ।
पछिल्ला दिनमा पछाडि पारिएको वर्ग समुदायको हरेक क्षेत्रमा पहुँच र अर्थपूर्ण सहभागिताका लागि नीति सम्वाद गराउँदै आएको छ । अभिमुखीकरणको स्रोतव्यक्तिको रूपमा लेखक एवम् अभियन्ता जिबी विश्वकर्माले गरेका थिए ।