प्राविधिक शिक्षाबारे दुधरासमा छलफल

गोरक्ष समाचारदाता
दाङ, ३० असार । जनकल्याण मावि दुधरासमा प्राविधिक शिक्षाका बारेमा छलफल गरिएको छ ।

पूर्व विद्यार्थी समूहका संयोजक प्रकाश पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नेहरुले पहिलेको तुलनामा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण कम हुँदै गएको भन्दै यस बिषयमा छलफल गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल संस्कृत विश्व विद्यालयका सहायक डिन डा. राजेश्वर अर्यालले स्थानीय स्तरमै पनि उच्च शिक्षा प्राप्त गर्न सक्दा त्यसको फाइदा विद्यार्थीहरुलाई हुने बताए । केही बर्ष अघि निकै दुःख गरेर पढनुपर्ने अवस्था रहेको सँझना गर्दै अर्यालले अहिलेको पुस्ताले पढाइको सवालमा धेरै सुविधा पाइरहेको बताए ।

कार्यक्रममा भरतपुर क्याम्पसका प्रमुख डा. नारायण पन्थीले शिक्षाप्रति विद्यार्थीहरुको आकर्षण बढाउनका लागि शिक्षकको भूमिका सवैभन्दा बढी हुने बताए । उनले स्थानीय नागरिकको सहयोग लिएर शिक्षालाई कस्तो बनाउने भन्ने बारेमा योजना बनाउन सुझाव दिएका थिए ।

पछिल्लो समय नेपालमा बसेर पढ्ने र उद्यम गर्ने भन्दा १२ कक्षा पास गरेर विदेश जानेहरुको संख्या बढ्दै गएको भन्दै यो निकै दुःखद भएको बताए । उनले शिक्षकहरुसंग बसेर पूर्व विद्यार्थीहरुले छलफल गर्न सक्ने हो भने विद्यालयको पढाई राम्रो बनाउन र विद्यार्थीको संख्या बढाउन सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिमलाल भण्डारीले विद्यालयको अवस्था र कानुन, शिक्षा र व्यवस्थापन विषयमा भइरहेको पढाइका बारेमा जानकारी दिएका थिए । यसैगरी शिक्षक आयुष पौडेलले विद्यालयमा पढाइ भइरहेका प्राविधिक विषयका बारेमा जानकारी दिए ।

कार्यक्रममा वडा नं. १८ का सदस्य धनबहादुर बस्नेत, राप्ती लाइफ केयरकी नर्सिङ निर्देशक सचिता न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पूर्व विद्यार्थी तथा विद्यालयका शिक्षक डम्मर वलीले गरेका थिए ।