नाट्य सङ्गोष्ठी सम्पन्न
गोरक्ष समाचारदाता
दाङ, ३० असार । दाङमा नाटकसम्बन्धी सम्वाद भएको छ । पहल नेपाल र शैली थिएटरको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र रोल्पाली सेवा समाज दाङको सहकार्यमा नाटकसम्बन्धी सम्वाद भएको हो ।
नाट्य सङ्गोष्ठीको दोस्रो दिन आइतवार दाङमा नाटकसम्बन्धी सम्वाद भएको हो । त्यस अवसरमा दाङमा नाट्य क्षेत्रको विगत, वर्तमान अवस्था र भविष्यबारे छलफल भएको थियो । बरिष्ठ साहित्यकार तथा प्राज्ञ उत्तमकृष्ण मजगैयाँ, लोक गायक तथा संस्कृतिविद् डा गोविन्द आचार्य र सामाजिक व्यक्तित्व ऋषिराज जङ्गलीसँग केएल बुढाथोकीले नाट्य सम्वाद गरेका थिए ।
वक्ताका रूपमा रहेका शर्मा र जङ्गलीले दाङमा नाट्य क्षेत्रको विगत राम्रो रहे पनि बिचमा केही समय ओझेलमा परेको भन्दै अहिले आयोजना भएको नाट्य सङ्गोष्ठीले अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । नाटक मनोरञ्जनको माध्यम मात्र नभएर समाजलाई दिशा दिने सशक्त माध्यम भएकाले नाट्य क्षेत्रको विकास हुन आवश्यक रहेकोमा वक्ताले जोड दिएका थिए ।
दोस्रो सेसनमा साहित्यकार डा टीकाराम उदासीले दाङमा नाटकसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि डा सुदीप गौतम र केबी चौधरीले टिप्पणी गरेका थिए । उक्त सेसनको नरेन्द्र केसीले सहजीकरण गरेका थिए । उक्त सेसनका वक्ताले नाट्य क्षेत्रको विकास हुन सके जिल्लामा नयाँ पुस्ताका लागि अवसर सिर्जना हुने बताएका थिए । दाङमा नाट्य क्षेत्रको विकास गर्ने उद्देश्यले शनिवारदेखि सुरु भएको कार्यक्रममा शनिवार विभिन्न विषयमा तयार गरिएका नाटक मञ्चनसँगै दाङमा नाट्य क्षेत्रको विकासमा योगदान पु¥याउने १२ जना नाट्यकर्मीलाई सम्मान गरिएको थियो ।