घोराहीमा नाट्य सङ्गोष्ठी सुरु

गोरक्ष समाचारदाता
दाङ, २९ असार । घोराहीमा नाट्य सङ्गोष्ठी सुरु भएको छ । पहल नेपाल र शैली थिएटरको आयोजनामा तथा नेपाल प्रज्ञा प्रतिष्ठान र रोल्पाली सेवा समाजको सहकार्यमा शनिवारदेखि दुई दिने नाट्य सङ्गोष्ठी सुरु भएको हो ।

सङ्गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले कुनै समय जिल्लामा नियमित रूपमा हुने नाटक मञ्चनलाई पुनः ब्युँताउनका लागि सङ्गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । साहित्यको महत्वपूर्ण विधा नाटक क्षेत्र भए पनि नयाँ पुस्ताको चासो नहुँदा नाट्य क्षेत्र पछाडी परेको भन्दै नयाँ पुस्तालाई आकर्षण गर्दै नाट्य क्षेत्रलाई पुनः ब्युँताउन सङ्गोष्ठी सहयोगी बन्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माले समाज रुपान्तरणसँगै साहित्यिक क्षेत्रको विकासका लागि नाट्य क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । पहिले निरन्तर रूपमा जिल्लामा नाटक लेखिने र प्रदर्शन गर्ने गरिएपछि बिचमा हराएको भन्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले नयाँ ढंगले नाट्य विधालाई अघि बढाउनका लागि यो कार्यक्रमले सहयोग गर्ने बताए ।

समाज परिवर्तनमा नाटकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै शर्माले भने,‘जिल्लामा पहिलो पटक भएको नाट्य सङ्गोष्ठीले नाटकको पुनर्जागरण गरेको छ । समयको विकाससँगै अब नाट्य विधालाई प्रविधिसँग जोडिएर नयाँ ढंगबाट अघि बढाउनुपर्छ ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेलले नाटक साहित्यको सशक्त र प्रभावकारी विधा भए पनि ओझेलमा पर्न गएको भन्दै यसलाई माथि उठाउनका लागि सबै लाग्नु पर्ने बताए । दाङको नाट्य क्षेत्रलाई माथि उठाउनका लागि सङ्गोष्ठीलगायतका कार्यक्रमसँगै नाट्य विधामा संलग्नलाई प्रोत्साह गर्न आवश्यक रहेको बताए ।

सङ्गोष्ठीले लामो समयदेखि ओझेलमा परेको विधासँगै नाट्य क्षेत्रमा दाङको सशक्त भूमिकालाई उजागर गरेको भन्दै कार्यक्रमका विशिष्ट अतिथि पोख्रेलले भने,‘नाट्य क्षेत्रलाई अघि बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने धेरै जना आज सम्मानित हुनुभयो । यसले पनि नाट्य क्षेत्रमा दाङको सशक्त भूमिका देखिन्छ ।’

कार्यक्रममा अर्का विशिष्ट अतिथि राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाले नाटक जीवन्त हुनुपर्नेमा जोड दिँदै पछिल्लो समय नाट्य विधा परिवर्तित हुँदै गएको बताए ।

पहल नेपालका संयोजक केएल बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवम् सर्वोदय पुस्तकालय सञ्चालक समितिका अध्यक्ष सुशील गौतम, सम्मानित व्यक्तित्व टीकाराम रेग्मी, राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मी, नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रगतिशील लेखक संघ दाङका अध्यक्ष चन्द्रबहादुर थापालगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण डा. सुदीप गौतमले गरेका थिए । शनिवारसम्म सञ्चालन हुने सङ्गोष्ठीमा शनिवार विभिन्न नाटक मञ्चन समेत गरिएको थियो ।

कार्यक्रममा दाङको नाट्य परम्परालाई समृद्ध र विस्तारित गर्न योगदान पु¥याउने १२ अग्रज नाट्यकर्मी तथा स्रष्टाहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुने नाट्यकर्मी तथा स्रष्टाहरूमा नारायणप्रसाद शर्मा, एकराज शर्मा, कमलापति बस्याल, टिकाराम रेग्मी, उत्तमकृष्ण मजगैयाँ, गोविन्दराज श्रेष्ठ, कृष्णा गौतम लम्साल, विश्वमाया गौतम भण्डारी, पुरुषोत्तम खनाल, रामदुलारे गुप्ता, मिठ्ठु श्रेष्ठ (विल्सन) र इन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।
उनीहरूलाई खादा र प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो । सङ्गोष्ठीमा नाट्य प्रदर्शन, कार्यपत्र प्रस्तुति, नाट्य संवाद, स्रष्टा सम्मान कार्यक्रम राखिएको संयोजक बुढाथोकीले जानकारी दिएका छन् ।