प्रतिष्ठानलाई ‘प्रथम सेवा विन्दु’ तोक्न माग

गोरक्ष समाचारदाता
दाङ, २९ असार । साउन १ गतेदेखि लागु हुने गरी स्वास्थ्य बीमा बोर्डले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल सेन्टरका रूपमा मात्रै तोकेपछि नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारी स्वास्थ्य संस्था मात्रै ‘प्रथम सेवा विन्दु’ रहने व्यवस्थाले सेवाग्राहीलाई असहज अवस्था सिर्जना हुने भन्दै प्रतिष्ठानलाई रेफरल सेन्टरका रूपमा नभई ‘प्रथम सेवा विन्दु’ तोक्न समेत समाजले अपिल गरेको छ ।

स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य बीमा बोर्डले दाङका लागि तय गरेका प्रथम सेवा बिन्दुबाट रिफरको पत्र ल्याए मात्रै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार गर्न पाउने निर्णयले घोराही क्षेत्रका सेवाग्राही थप मर्कामा पर्ने भन्दै नागरिक समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

समाजका जिल्ला संयोजक निमबहादुर थापा र सचिव नारायणप्रसाद श्रेष्ठले शनिवार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य बीमा गरेका नागरिकलाई उपचार सेवा सहज र थप प्रभावकारी बनाउनुपर्ने अवस्थामा थप झञ्झटिलो र समस्या थप्ने काम गरिएको भन्दै निर्णय सच्याई नागरिकको स्वास्थ्य उपचार सेवा पाउने अधिकार सम्बोधन गर्न माग गरेका हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल सेन्टरका रूपमा कायम गर्दै प्रथम सेवा केन्द्रबाट रिफर पूर्जी लिएर आएमा मात्रै उपचार गरिने असान्दर्भिक र अवैज्ञानिक निर्णय तत्काल खारेज गरी प्रतिष्ठानलाई पनि प्रथम सेवा केन्द्र कायम गरी सर्वसुलभ र प्रभावकारी सेवा उपलब्ध गराउन नागरिक समाजले सम्वद्ध सरोकार निकायको ध्यानाकर्षणसमेत गराएको छ ।

‘स्वास्थ्य बीमा बोर्डको निर्णयले दाङबासीमा पर्ने असरबारे सोच्न सरोकार सबै पक्षलाई गम्भीर बन्न आग्रह गर्दछौँ । घोराही कै बासिन्दा रिफर गराउन बाहिर जानु कति उपयुक्त हुन्छ ? स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ख्याल गरेर प्रतिष्ठानलाई रेफर सेन्टर नभई प्रथम सेवा केन्द्रका रूपमा तोक्न समेत नागरिक समाज सरोकार सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य बीमा बोर्डको निर्णयले स्वास्थ्य बीमा गरेका हरेक नागरिकलाई मर्कामा नपार्न र उपचार सेवा सहज बनाउने विषयमा सहजीकरण गर्न पनि नागरिक समाजले सम्वद्ध निकायलाई अनुरोध गरेको छ ।

स्वास्थ्य बीमा बोर्ड दाङका अनुसार जिल्लामा सबैभन्दा धेरै स्वास्थ्य बीमा गराउनेमा घोराहीमा नागरिक रहेका छन् । तर, उनीहरूलाई स्वास्थ्य उपचार सेवा लिन अरू ठाउँमा जानुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रतिष्ठानले शुक्रवार मात्रै एक सूचना जारी गर्दै नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रेफर सेन्टरर मात्र कायम भएको जानकारी गराएपछि यस विषयमा आम नागरिकले पनि चासो व्यक्त गरेका छन् ।

स्वास्थ्य बिमा बोर्डले दाङमा प्रथम सेवा विन्दुका रूपमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, स्युजा प्राथमिक स्वास्थ्य केन्द्र, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, बंगलाचुली अस्पताललाई तोकेको छ ।