गोरक्ष समाचारदाता
दाङ, २८ असार । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन घोराही नगरसमितिले घोराही उपमहानगरपालिका वडा नं। ८ मा अवस्थित माध्यमिक विद्यालय ढिकपुरमा वृक्षारोण गरेको छ । सङ्गठनले सञ्चालन गरेको हरित विद्यालय अभियान अन्र्तगत प्रत्येक वर्ष वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएकोमा उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको सङ्गठनको घोराही नगर अध्यक्ष पोषणराज विष्टले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित नेपाल राष्ट्रिय शिक्षक सङ्गठन लुम्बिनी प्रदेशका अध्यक्ष भागवत पौडेलले सङ्गठनको घोराही नगरसमितिले विभिन्न रचनात्मक कार्यक्रमको सञ्चालन गरी आफूलाई चलायमान गराइरहेको भन्दै प्रशंसा गरे । सन्तुलित पर्यावरण बिना जीवनको कल्पना पनि गर्न नसकिने भएकाले हाम्रो हरेक गतिविधि पर्यावरण बचाउने गरी हुनुपर्ने उनको भनाइ छ । नेपाल शिक्षक महासंघकी केन्द्रीय सदस्य श्यामा रावतले स्वच्छ वातावरणले नै स्वस्थ्य मस्तिष्कको जन्म दिने भएकाले विद्यालय परिसर हरित हुनुपर्ने बताइन् ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दाङका अध्यक्ष मिनराज शर्माले तीन वर्ष पहिले सङ्गठनले आफू कार्यरत विद्यालयमा पनि वक्षारोपण गरेको र त्यसको हेरचाहमा लाग्नु पर्ने बताए । कार्यक्रममा सङ्गठनका जिल्ला सचिव धनिराम के।सी, नेकपा एमाले घोराही नगर कमिटी वडा नं ८ का इन्र्चाज एवम् जिल्ला सदस्य बसन्त बस्नेत, निवर्तमान जिल्ला कोषाध्यक्ष एवम् जिल्ला समिति सल्लाहकार विजय अधिकारी, सङ्गठनका सङ्घीय निर्वाचन क्षेत्र नं २ का अध्यक्ष लालमणि खड्का, सङ्गठनका जिल्ला कोषाध्यक्ष चुनप्रसाद खत्री, पेसागत महासंघ तुलसीपुरका अध्यक्ष भोलाप्रसाद पौडेल, मा।वि। ढिकपुरका विव्यस अध्यक्ष पदमप्रसाद अधिकारी, बालक्लबका अध्यक्ष एलिशा चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक, उप प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी गरी करिब ७० जनाको उपस्थिति रहेको थियो ।
घोराही नगरसमितिका अध्यक्ष पोषणराज विष्टको अध्यक्षतामा भएको थियो । सङ्गठन घोराहीका उपाध्यक्ष बिमला पौडेलको स्वागत मन्तव्यवाट कार्यक्रमको सहजीकरण सङ्गठन घोराही नगरसमितिका सचिवालय सदस्य अशोक वलीले गरेका थिए ।