गोरक्ष समाचारदाता
दाङ, २८ असार । एन्टिबायोटिक औषधीको गलत प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको भन्दै नागरिकस्तरमा सचेतना बढाउन आवश्यक रहेको स्वास्थ्य क्षेत्रका विज्ञले बताएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुक्रवार घोराहीमा आयोजना गरेको एन्टिबायोटिक औषधीसम्बन्धी सचेतना कार्यक्रममा वक्ताले सामान्य नागरिकमा जानकारीको कमी रहेको भन्दै यसले भविष्यमा गम्भीर परिणाम निम्त्याउन सक्ने भएकाले सचेतना आवश्यक रहेको बताएका हुन् ।
उनीहरूले जथाभावी रूपमा मेडिकलमा राखेका एन्टिबायोटिक औषधी सेवन नगर्न आग्रह गर्दै सेवन गर्नुपर्ने अवस्थामा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र प्रयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले एन्टिबायोटिक औषधीको प्रयोग बढ्दै जाँदा भविष्यमा यसको गम्भीर असर पार्ने भन्दै हरेक नागरिक सचेत बन्नुपर्ने बताए ।
एन्टिबायोटिकको अत्यधिक प्रयोगले प्रतिरोध क्षमतामा गिरावट आउनेदेखि पछि औषधीले काम नगर्ने अवस्था सिर्जना हुने भन्दै सेवन गर्दा ध्यान दिन नागरिकलाई आग्रह गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपकुलपति डा लामिछानेले मानिसको स्वास्थ्य मात्र नभएर एन्टिबायोटिक औषधीको गलत प्रयोगले जनावर, पशुपन्छीसँगै वातावरणमा समेत असर गर्ने भएकाले एन्टिबायोटिकको प्रयोग रोक्न सबै सचेत हुनुपर्ने बताए ।
प्रतिष्ठानका फार्माेकोलोजी विभाग प्रमुख प्राडा विनय श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा फार्मोकोलोजी विभागका असिस्टेन्ट प्रोफेसर डा. उत्सव चापागाईंले औषधीको सही प्रयोग तथा गलत प्रयोग गर्दा हुने हानीबारे जानकारी दिएका थिए । यसैगरी माइक्रोबायोलोजी विभागका लेक्चरर डा अभिषेक कर्माचार्यले एन्टिबायोटिक औषधीको प्रयोग र नागरिकले अपनाउनुपर्ने सचेतनाबारे जानकारी गराएका थिए ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण फार्मासिस्ट दिलकिरण परियारले गरेका थिए । कार्यक्रममा प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी, अध्ययनरत विद्यार्थी तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरूको सहभागिता रहेको थियो ।