समृद्धिका लागि महिला उद्यमशीलतामा जोड

गोरक्ष समाचारदाता
दाङ, २८ असार । मुलुकको समृद्धिका लागि महिलाहरू सिप तथा उद्यमशीलतामा जोडिनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

अर्किड व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरको १४ औँ वार्षिकोत्सव तथा सर्टिफिकेट वितरण कार्यक्रमका सहभागीले यस्तो कुरामा जोड दिएका हुन् । शुक्रवार घोराहीमा सम्पन्न कार्यक्रममा सहभागीले पछिल्लो समय पार्लर व्यवसाय सम्भावना बोकेको व्यवसाय भएको बताउँदै महिलालाई आत्मनिर्भर बनाउन पार्लर व्यवासयको भूमिका अहम् रहेको बताएका थिए ।

सेन्टरका सञ्चालक मुना पाण्डेको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले महिलाहरू कुनै न कुनै सिप, पेसा, व्यवसायसँग जोडिनुपर्ने बताउँदै पार्लर व्यवासयलाई राम्रो र व्यवस्थित बनाउन सके महिलालाई आत्मनिर्भर बनाउन सहज हुने बताइन् ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला बारका अध्यक्ष गोमा महराले पार्लर व्यवसाय गर्नेलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् । नेपाल व्युटिसियन संघ दाङका अध्यक्ष सुलोचना प्रधानले विगतको भन्दा अहिले पार्लर व्यवासय गर्न सहज भए पनि पछिल्लो समय यसलाई थप व्यवस्थित बनाउन चुनौती कायम रहेको बताइन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले महिला दिदीबहिनीहरू कुनै न कुनै इलममा जोडिनुपर्ने बताउँदै समृद्धिका लागि महिलाहरू आत्मनिर्भर बन्नैपर्ने बताए । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, दाङ महिला जेसीजकी अध्यक्ष अनिता ढकाल, व्यवसायीहरू नारायण पाण्डेय, विपिन केसीलगायतले बोलेका थिए ।

पूजा केसीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण पावर्ती बस्नेतले गरेकी थिइन् । सो अवसरमा केक काटेर संस्थाको वार्षिकोत्सव मनाइएको थियो भने व्युटिसियनलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।