विमल योगी
दाङ, २८ असार । घोराही उपमहानगरपालिका–५ स्थित प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा यस वर्ष पनि शिवपुुराण एवम् शृङ्गारिक महाआरती सञ्चालन हुने भएको छ । जिल्लामा सबैभन्दा पहिले साउन महिनाभर महापुराण एवम् शृङ्गारिक महाआरती सञ्चालन गरेको मन्दिर व्यवस्थापन समितिले यस वर्ष पनि साउन १ देखि ३१ गतेसम्म महापुराण एवम् शृङ्गारिक महाआरती सञ्चालन गर्न थालेको हो ।
छोटो समयमा तीव्र विकास हुँदै गएको पाण्डवेश्वर महादेव धामको प्रचारप्रसार तथा धार्मिक जागरणका लागि एकमहिने शिव महापुराण तथा शृङ्गारिक महाआरती सञ्चालन गर्न थालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा मुल व्यवस्थापन समितिका संयोजक गणेशकुमार अधिकारीले जानकारी दिएका छन् ।
शिव महापुुराण एवम् शृङ्गारिक महाआरतीको मुख्य कथावाचकको रूपमा पण्डित विष्णुप्रसाद गौतम रहने भएका छन् । यसैबिच शिव महापुुराण एवम् शृङ्गारिक महाआरतीलाई भव्य र व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । जस अन्तर्गत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीको संयोजकत्वमा मुल व्यवस्थापन समिति, उपाध्यक्ष शंकर गौतम संयोजक, श्रीधर शर्मा पौडेल, शारदा शर्मा, यादव आचार्य सदस्य रहेको अतिथि सत्कार उपसमिति, सचिव विष्णुराम आचार्य संयोजक र बिमल योगी, रञ्जिता शर्मा सदस्य रहेको प्रचारप्रसार उपसमिति, कोषाध्यक्ष बोधिलाल शर्मा संयोजक र बलिराम भुसाल गोपाल, धनपति शर्मा सदस्य रहेको सामान खरिद उपसमिति गठन गरिएको छ ।
विवेक श्रेष्ठ संयोजक तथा विष्णुमणि दाहाल र गजेन्द्र चौधरी सदस्य रहेको टेन्ट, मञ्च तथा साउन्ड व्यवस्थापन उपसमिति, बिमल अधिकारी संयोजक तथा कृष्णप्रसाद भुसाल, मधुमालती अधिकारी, यादव आचार्य र ऋषिदेव शर्मा सदस्य रहेको आर्थिक परिचालन तथा सङ्कलन उपसमिति, शारदा शर्मा संयोजक तथा यज्ञश्वरी चन्द, सरस्वती खत्री, लक्ष्मी अधिकारी र मधुमालती अधिकारी सदस्य रहेको आरती तथा पूजा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
शिव महापुुराण एवम् शृङ्गारिक महाआरतीमा असुरक्षा नहोस् भनी निमा डिसी र धारापानी प्रहरी चौकी सदस्य रहेको सुरक्षा व्यवस्थापन उपसमिति, श्यामप्रकाश आचार्य संयोजक रहेको सचिवालय व्यवस्थापन उपसमिति, केशव बुढाथोकी संयोजक र सुनकोट देउराली क्लब र बयलडाँडा चौतारी क्लब सदस्य रहेको स्वम्यसेवक परिचालन उपसमिति, लोकबहादुर विक संयोजक र गजेन्द्र चौधरी सदस्य रहेको बसाइँ व्यवस्थापन उपसमिति, निमबहादुर चौधरी संयोजक तथा धनपति शर्मा र बलिराम भुसाल सदस्य रहेको भान्सा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
शिव महापुराण तथा शृङ्गारिक महाआरतीमा विभिन्न धार्मिक दैनिक कार्यक्रम समेत सञ्चालन गरिनेछ । जसमा आरती सङ्कल्प, विभिन्न नाटक कथा प्रवचन, झाँकी प्रदर्शन, ब्राह्मण भोजन सङ्कलन, प्रसादी वितरण सङ्कलन, रुद्राभिषेक सङ्कलन, वरपिपल जल अभिषेक र श्रावण ३० गते सामूहिक करोड दीप प्रज्वलन कार्यक्रम तय गरिएको मन्दिरका सचिव तथा प्रचारप्रचार उपसमितिका संयोजक विष्णुराम आचार्यले जानकारी दिएका छन् ।