गोरक्ष समाचारदाता
तुलसीपुर, २८ असार । तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको व्यापारिक भवन भाडामा लगाउने तयारी गरेको छ ।
नगर परिसरमा निर्माण भएको तुलसीपुर बहुउद्देश्यीय व्यापारिक भवन अबको एक महिनाभित्र टेन्डर प्रक्रियाद्वारा भाडामा लगाउने तयारी गरिएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले जानकारी दिएका छन् ।
व्यापारिक भवनको निर्माण २०८१ चैत्र मसान्तभित्र पूरा गर्ने गरी निर्माण कम्पनीले २०७८ चैत २९ गते ठेक्का सम्झौता गरे पनि करिब एक महिना अघि नै कम्पनीले निर्माण सम्पन्न गरेको थियो । निर्माण सम्पन्न भए पनि टेन्डर प्रक्रिया अनुसार भवन भाडामा लगाउनु पर्ने भएकाले केही समय ढिलाइ हुन गएको पालिकाले जनाएको छ ।
तुलसीपुर बहुउद्देश्यीय व्यापारिक भवन भाडामा लगाउन पालिकाले कार्यविधि निर्माण गरिसकेको छ । कार्यविधिमा केही हेरफेर गर्नुपर्ने भएकाले भदौदेखि भवन भाडामा लगाउने नगर प्रमुख खड्काले बताए । ‘यो हाम्रो मात्र लगानी होइन, नगर विकास कोषको ऋणबाट निर्माण भएको हो ।
धेरै नीति नियमलाई टेकेर कार्यविधि अनुसार टेन्डरमा गएर भाडामा लगाउनु पर्ने भएकाले केही ढिलाइ भएको हो, भदौ महिनाभित्र सबै प्रक्रया पूरा हुन्छ’, खड्काले भने । उनले भवनको टेन्डर छोटो समय नभइ लामो समयका लागि दिनुपर्ने भएकाले कार्यविधिमा छलफल गरेर टुङ्गो लगाउने बताए ।
तुलसीपुर उपमहानगरको गौरवको योजनाको रूपमा रहेको साततले व्यापारिक भवन म्याट बाहेक २२ करोड २९ लाख ३३ हजार छ सय ८४ रुपैयाँको टेन्डर आह्वान गरिएको थियो । पेस गरेकामध्ये कम दर पेस गरेको समानान्तर, डायनामिक नारायणम जेभीसँग भ्याटबाहेक १४ करोड ४२ लाख ७० हजार छ सय २४ रुपैयाँमा ठेक्का सम्झौता भएको तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले जानकारी दिए ।
तुलसीपुर बहुउद्देश्यीय व्यापारिक भवन कुल लागतमध्ये ७० प्रतिशत रकम नगर विकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण भएको हो । उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कट्ठा क्षेत्रफलमा निर्माण भएको भवनको साढे १७ मिटर लम्बाइ र ३४ मिटर चौडाइ रहेको छ ।
भवनको अन्डरग्राउन्डमा पार्किङ, व्यावसायिक कोठा र सेमिनारसहित भवनमा दुईवटा लिफ्ट र एउटा इलिभेटर (भ¥याङसहितको विद्युतबाट चल्ने सिँढी) पनि राखिएको छ । सरकारी स्तरबाट बनेको यो व्यापारिक भवन जिल्लाकै ठुलो र आधुनिक भएको इन्जिनियर पवन योगीले बताए ।
अत्याधुनिक भवनमा फायर फाइटिङसमेत रहेको छ । जसले दुई सय मिटर वरपरसम्म आगो निभाउन मद्दत गर्ने इन्जिनियर योगीले बताए । तुलसीपुर उपमहानगरपालिकाको यो पहिलो ठुलो व्यावसायिक भवन हो । योसँगै पालिकालाई दीर्घकालीन रूपमा आयस्रोत समेत थपिने अपेक्षा गरिएको छ ।