एकराज शर्मा अधिकारी
ईश्वर सबै ठाउँमा छ, तर देखिँदैन । किन ? त्यो सानोभन्दा सानो ठुलोभन्दा ठुलो छ । परमाणुको रुपमा रहेको छ । दुधमा नौनी देखिँदैन । तिलमा तिल देखिँदैन तर सर्वव्यापक छ । सर्वव्यापकको अर्थ सबैमा रहेको जड चेतन सबै पदार्थमा ईश्वरको बास छ ।
भावनामा ईश्वर छ । जता हे¥यो त्यतै ईश्वर छ । यो ब्रहमाण्डमा ईश्वर नभएको ठाउँ कही छैन । किन देखिँदैन त ? मानिसको मन अपवित्र छ । धमिलो छ । ईश्वरलाई मन, बुद्धि, चित्त, अहंकारले ढाकेको छ । त्यसैले देखिँदैन । मन, बुद्धि, चित्त, अहंकारलाई हटाएपछि ईश्वर देखिन्छ ।
सफा एैनामा आफ्नो अनुहार देखिन्छ । मैलो एैना हेरेर अनुहार देखिँदैन । ईश्वर एउटा छ तर सबै ठाउँमा छ । जस्तो सूर्य एउटा छ तर त्यसको प्रकाश सर्वत्र छ । ज्ञानले ईश्वर देखिन्छ, बुद्धिले ईश्वर देखिँदैन । अनेकमा एक देख्नु ज्ञान हो, एकमा अनेक देख्नु भक्ति हो ।
ज्ञानी मानिसले अनेकलाई एकमा लय गर्दछन् । यो वेदान्तको प्रक्रिया हो । ईश्वर बाहिर पनि छ, भित्र पनि छ । सर्वत्र छ । ईश्वरका दुई रुप छन् । एउटा सगुण, अर्को निर्गुण । सच्चिदानन्द ईश्वरको निर्गुण रुप हो ।
ईश्वर सर्वशक्तिमान छ । ईश्वरको शक्ति नपाएसम्म कसैले केही गर्न सक्दैन । गीता शास्त्रमा श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ– हे कृष्ण ईश्वर कहाँ हुनुहुन्छ । मलाई देखाइदिनुस् भन्दा कृष्णले भन्नुभयो– हे, अर्जुन ईश्वर सबै प्राणीको हृदयमा बस्छ ।
(ईश्वर सर्वभुतानां हृदयेर्जुन तिष्ठति) ईश्वरले मायासँग मिलेर कल्पनाद्वारा यो चराचर जगतको सृष्टि गर्दछ, पालना गर्दछ, सम्हार गर्दछ । ज्ञानीले ईश्वरलाई निर्गुण निराकार रुपमा मात्र देख्दछ र उसैको ध्यान गर्छ । भक्तले एकमा अनेक देख्छ र सबैमा ईश्वर देख्छ । सबैको ध्यान गर्छ ।
भक्तलाई भक्ति गर्न सजिलो होस् भनेर निर्गुण ईश्वर सगुण रुपमा प्रकट हुनुहुन्छ । जस्तै राम कृष्ण । हाम्रो हिन्दु परम्परामा त ईश्वरलाई मात्र होइन, पशुलाई पनि ईश्वर भनेर पूजा गरिन्छ । कुकुरलाई पनि भैरवको बाहन भनेर पूजा गरिन्छ । गाईलाई लक्ष्मी भनेर पूजा गरिन्छ ।
गधालाई पनि देवीको बाहन भनेर पूजा गरिन्छ । मुसालाई पनि गणेशको बाहन भनेर पूजा गरिन्छ । ईश्वरको दर्शन दिव्यदृष्टिबाट हुन्छ । यो भौतिक आँखाबाट हुँदैन । दिव्यदृष्टि सतगुरुबाट पाइन्छ । दिव्यदृष्टि पाएपछि प्रत्येक पदार्थमा ईश्वरको अनुभव हुन्छ । ईश्वरलाई अनुभव गर्न प्रेम र श्रद्धा चाहिन्छ । धनले ईश्वरलाई पाउन सकिँदैन ।
ईश्वरलाई अनुभव गर्न धेरै ज्ञान पनि चाहिँदैन । धेरै ज्ञान भएको मानिसमा आडम्बर हुन्छ । सोझो मानिसले सजिलै ईश्वरको अनुभव गर्न सक्छ । धेरै ज्ञान भएको मानिसले कुतर्क गर्छ । कस्तो कुतर्क गर्छ भने ईश्वरले त खाँदै खाँदैन किन प्रसाद चढाउने भनेर कुरा काट्छ । हो, यो सत्य कुरा हो, ईश्वरले खाँदैन ।
ईश्वरलाई श्रद्धाले अर्पण गर्ने मात्र हो । ईश्वर कै बस्तु ईश्वरलाई चढाउने हो । ईश्वर सधै तृप्त छ, तर ईश्वरले सार तत्वको ग्रहण गर्दछ । ईश्वरलाई प्रशन्न गराउन चोखो मन चढाउनु पर्छ । मैले नै बनाएका बस्तु मलाई चढाउनु कुनै ठुलो कुरा होइन । तर, अर्पण गर्नुपर्छ । अर्पण नगरी आफूले मात्र खानु हुँदैन ।
ईश्वरले भावना हेर्नु हुन्छ । श्रद्धापूर्वक दिएको छ कि छैन भनेर हेर्नु हुन्छ । हामीलाई सबै कुरा ईश्वरले दिएको छ । सेवामा प्रेमको महत्व छ । पूजा मन्त्रको महत्व छ । हामी पूजा गर्दा बत्ती बाल्छौँ । आरती गर्छौ किन ? ईश्वरलाई उज्यालो गराउन होइन आफ्नो मनलाई उज्यालो गराउन ईश्वरलाई आरती गर्नुपर्छ ।
ईश्वर स्वयम् उज्यालो छ । त्यसलाई उज्यालो बनाउनु पर्दैन । ईश्वर आनन्दमय छ । आनन्द त मानिसलाई चाहिएको हो । ईश्वरको पूजा गर्दा प्रेमका साथ गर्नुपर्छ । महत्व बस्तुको हुँदैन भावनाको हुन्छ । सेवा भावनात्मक हुनुपर्छ । ईश्वर भावनाको भोको हुनुहुन्छ । भोजनको भोको होइन ।
हामीले श्रद्धा र प्रेम पूर्वक अर्पण गरेको बस्तु लाखौँ गुणा बढाएर हामीलाई फर्कादिनुहुन्छ । भक्ति गर्दा भावना चाहिन्छ । ज्ञान गर्न वैराग्य र त्याग चाहिन्छ । मूर्तिमा पूजा गर्दा पनि यो प्रत्यक्ष ईश्वर भन्ने भावनाले पूजा गर्नुपर्छ । पूजा गर्न बस्दा जगतलाई बिर्सेर पूजा गर्नुपर्छ । नत्र जगतले बाधा दिन्छ ।
यदि हाम्रो हृदयमा प्रेम छ भने जड मूर्तिमा पनि चेतना आउँछ । प्रेमले जडलाई चेतन र चेतनलाई जड बनाइदिन सक्छ । यो संसार त एउटा अध्यारो कुवा जस्तो हो । यो कुवामा तोक्न तयार भएको एउटा सर्प घुमिरहेको छ । यसै कुवामा भोकको इच्छा गर्ने मानिस फसेका छन् । भोगले मानिस कहिले तृप्त हुँदैन ।
हामी कैयौँ जुनी भोग भोगिसक्यौँ तर तृप्त हुन सकेका छैनौँ । तृप्ती भोगबाट हुँदैन । त्यागबाट हुन्छ । मानिसलाई इन्द्रीयले सताउँछ । इन्द्रीयलाई आफ्ना अधिनमा राख्नुपर्छ । संसारलाई भोग दृष्टिबाट होइन भगवत दृष्टिबाट हेर्नुपर्छ । आफूले आफैलाई सुधार्नु पर्छ । संसारमा काँडा पनि छन् । यदि गोडामा जुत्ता भए भने काँडाले केही गर्दैन ।
विवेकपूर्वक मर्यादा बसेपछि मानिसले सुखको अनुभव गर्न सक्छ । यो संसार दुःख दिनका लागि ईश्वरले रचेको होइन । विषयमा फस्न विषय बनाएको होइन । हो, विषयले दुःख दिन्छ तर त्यसबाट मुक्त हुन ईश्वरको नाम सम्झिनु पर्छ । मानिसको जीवन भोगी हो । भोगी मानिस योगी हुन सक्दैन ।
अज्ञानी मानिसलाई संसारलाई दुःख रुपले हेर्दछन् । यही संसारलाई ज्ञानी मानिसले सुख रुपले हेर्दछन् । चिन्तन गर्नुपर्छ । चिन्ता गर्नु होइन । चिन्तन गर्नु चित्तको काम हो । संकल्प गर्नु मनको काम हो । निश्चय गर्नु बुद्धिको काम हो । सुखदुःख कर्मको फल हो । जन्ममृत्यु ईश्वरको लीला हो ।
ईश्वर न जन्मिन्छ न मर्छ । वेदान्तिले ईश्वरलाई आत्मा भन्दछ । आत्मा न जन्मिन्छ न मर्छ । शरीर जन्मन्छ शरीर मर्छ । शरीर र आत्मा भिन्न–भिन्न हो । यो ठुलो रहस्यलाई सबैले बुझ्न सकेका छैनौँ । अज्ञानी भोगमा फस्छन् र दुःख पाउँछन् । अज्ञानले ईश्वर नजिकै भएर पनि चिन्दैनन् ।
दुर्योधनले कृष्णलाई चिनेनन्, कृष्णले नारदलाई भन्नुहुन्छ– म भक्तको अधिनमा छुँ । मेरो भक्तले मलाई जहाँ बोलाए त्यही जान्छु । मेरो अर्को कुनै घर छैन । यसरी रहस्य बताउनु भएको छ । ईश्वरलाई प्रेम र श्रद्धाले प्राप्त गर्न सकिन्छ । अरु कुनै उपाय छैन ।