आचरण र व्यवहारमा परिवर्तन गरौँ

नारायणप्रसाद श्रेष्ठ

आधुनिक सभ्यताको विकाससँगै मानवीय सोच र चिन्तनमा व्यापक फेरबदल भएको छ । यही बदलिएको चिन्तन र स्वभावले ल्याएको परिवर्तनले समाजलाई आधुनिक परिवेशमा हुर्काउँदै छ । आधुनिक विकासको पूर्वाधार निर्माणसँगै विज्ञानको नयाँ खोजले आज विश्व साँघुरो घेराभित्र गाँसिन पुगेको छ । अन्तर्राष्ट्रिय परिवेश एउटै आँगन भएर देखापरेको छ । यसरी विकसित हुँदै गरेको समयचक्र अनुकूल विचारमा स्वच्छता र व्यवहारमा पारदर्शीता अहिलेको आवश्यकता हो । तर वर्तमान त्यस्तो देखिँदैन । यसले एकातिर विचारमा संकुचन र व्यवहारमा स्वार्थीपन बढाएको छ भने अर्कोतर्फ हाम्रो सामाजिक अस्तित्व खुम्चिने अवस्थामा पुगेको छ । यदि यसरी नै सोच र चिन्तनमा परिमार्जन नुहने र सधैँ परिस्थितिलाई मात्र दोष दिई सोचमा शुद्धता ल्याउन सकिएन भने मानव जीवन व्यर्थ पनि हुन सक्छ ।

तसर्थ, जीवन र जगतले खोजेको आचरण र व्यवहारप्रति मानव चिन्तन जागृत हुन वर्तमानले तड्कारो आवश्यता औल्याउन खोजेको छ । मानिस स्वभावैले युग अनुसार गतिशील रहने प्राणी हो र यसको गतिशीलता समयसापेक्ष भइरहेको पनि हुन्छ । समयको प्रवाहसँगै अघि बढ्ने संकल्प मानिसको गुण र आचरण पनि हो । त्यसैले मानव स्वभावले ल्याउने परिवर्तनलाई बुझेर समयको परिवर्तनसँगै आफू र आफ्नो परिवेशलाई मानव हित अनुकूल अनुशासित भएर गतिशील बनाउन आवश्यक देखिन्छ । जीवनमा आउने हरेक समस्यालाई परीक्षा सम्झी समयको मागअनुसार दायित्वबोध हुने गरी आचरण र व्यवहार गर्नु वर्तमानको आवश्यकता महशुस गर्नुपरेको छ । कुनै पनि परीक्षा चाहे त्यो जुनसुकै विषयमा किन नहोस्, ती सबै हाम्रा चुनौती र अवसर हुन भनी सम्झी आधुनिक सोच र परिदृश्य अनुसार आफूलाई परिस्कृत गर्दै अघि बढ्नु परेको छ ।

अहिलेको वर्तमानलाई नियालेर हेर्ने हो भने यस अवस्थामा मानिसले आफूलाई निकै शक्तिशाली र उत्कृष्ट ठानेको अवस्था छ । उसले आफूले सुयोग्य र वैभावशाली पनि ठान्दछ, म सबै जान्दछु भन्ने दम्भ पनि राख्दछ । म र मेरो कर्मले मेरो अस्तित्व उच्च बनेको छ भन्दै मेरै कारणले समाज आदर्श गन्तव्यतिर अग्रसर छ भनेर भन्न पनि ऊ हिच्किचाउँदैन । यति मात्र होइन, उसले आफूलाई सामाजिक अभियन्ता बनाउँदै सामाजिक मूल्य, मान्यता र संस्कृतिलाई परिमार्जित गर्ने स्रष्टा समेत आफूलाई ठान्दछ । समाजमा यदाकदा घट्ने घटनाको जिम्मेवारी पनि म आफै हुँ, राम्रो र असल कामको सुरुवात पनि म आफैले गरेको हुँ भनी अहंकार र घमण्ड पनि मानिस स्वयम्ले पुष्टि गरेको अवस्था छ । अहंकार र घमण्डले ओतप्रोत भई अरुलाई तिर्ण बराबर सम्झी दौलतको घमण्डले म जे गर्छु सबै सामाजिक परम्परा र संस्कृतिअनुसार गर्छु भनी ऊ कुर्लन्छ पनि । समयको परिवर्तनसँगै आएको परिस्थिति अनुकूल बढेको सोचको कारणले यो सबै भइरहेको हुनसक्छ भन्नेतर्फ मानवीय चिन्तन कमजोर भएको छ । यसरी जीवन र जगतमा सर्वश्रेष्ठ प्राणीको रुपमा आफूलाई परिचय दिँदै सामाजिक प्रतिष्ठाभित्र मानिस आफूलाई परिभाषित गर्दै छ ।

परिवर्तनको सम्वाहक पनि आफै जिम्मा लिँदै मबाटै आधुनिक युगको उद्घाटन छ भनी अघि बढेको पनि अवस्था छ । साथसाथै दिन दुगुणा रात चौगुणाको हिसाबले आफूलाई सामाजिक मर्यादापालक भनेर पनि ऊ भन्न बिर्सँदैन । आदर्श समाज स्थापनातर्फ हरतरहले प्रयत्नशील हुँदै ऊ आफ्नो दायित्व र कर्म अरुको लागि उदाहरणीय र अनुकरणीय गराउन पनि चाहिरहेको हुन्छ । त्यति मात्र होइन, जीवन मौका हो । यो फेरि आउँछ वा आउँदै भनी आफूलाई समर्पण गरेको अवस्था पनि छ । यसको विशेषता भनेको सामाजिक सुसंस्कृति र संस्कारलाई आधुनिक परिवेशसँग मिल्दोजुल्दो गराउँदै संस्कृति र कर्मको रक्षा गर्नु पनि हो भन्दै उसले समुद्र तटको एक किनारमा रहेको पानीजहाज जसरी अर्को किनारमा सजिलै पुग्न सक्छ त्यसरी नै आफूलाई तुलना गर्न ऊ पछि हट्दैन । आफूलाई सभ्यताको परिसूचक बनाउँदै सामाजिक मर्यादाको सम्वाहक बनाउन ऊ हरहमेसा लागि पनि रहेको हुन्छ । सामाजिक रुपान्तरण आफ्नो कारणले आएको पनि ऊ स्वीकार्न तयार हुन्छ । यसरी समाज, राष्ट्रको भविष्य निर्धारण गर्ने आदर्श योद्धा आफूलाई ठान्दाठान्दै पनि वर्तमान समायमा मानिसले आफ्नो धर्म, संस्कृति र संस्कारलाई पञ्छाई मैले जे गरे पनि हुन्छ भन्ने दम्भ बोकेर आचरणहीन कर्मतर्फ पनि मानिसको स्वभाव आकर्षित भइरहेको छ । पश्चिमी सभ्यताको सिको गर्दै पूर्वीय दर्शनले सिकाएको आत्मियता र आदर्शता बिर्सँदै गएको छ ।

परम्परादेखि चल्दै आएको पौराणिक सत्य जो विज्ञानमा आधारित छ, त्यस्तो संस्कृति र संस्कारलाई आधुनिकीकरण गर्ने नाममा ऐतिहासिक तत्व लोप गराउँदै अगाडि बढेको अवस्था पनि छ । मनोरञ्जन प्रधान मनोगत भावनाले अल्पकालीन सोचतर्फ मानिसको विचार आकर्षित भइरहेको छ । यसले एकातिर मानवीय संवेदनशील बिर्सिएको अनुभूति गराउँदै छ भने अर्कोतर्फ सामाजिक प्रतिष्ठा बन्धक बनाउनेतर्फ अग्रसर भएको देखिन्छ । आधुनिकताले मानिसको मन, बुद्धि र विवेकमा क्रमशः ताला लगाउँदै गरेको हो जस्तो पनि देखिँदै छ । जसको फलस्वरप हिंश्रक पशुसँग डराउनुपर्ने अवस्थामा मानिस स्वयम् मानिससँग डराउनुपर्ने अवस्था सिर्जना बनेको छ । व्यवहार र वातावरणमा देखिएको प्रदूषण र अहंकारको कारणले देखाएको विभिन्न भाइरसको कारण विश्व सन्त्रस्त अवस्थामा गुज्रिरहेको छ ।

अहिले हाम्रो वर्तमान निकै उकुसमुकस भएर गुज्रिरहेको छ । विश्वव्यापी रुपमा देखापरेको कोरोना भाइरसको कारण मानव जीवन त्रसित र भयभित भएर अगाडि बढेको छ । बाँच्न र बचाउन कुन माध्यम सहज र सजिलो हुन्छ ? त्यसबारे पनि व्यापक बहस र छलफल भइरहेको छ । रोग निवारणको लागि औषधिको खोजमा विशेषज्ञहरु लागिपरे पनि अहिलेसम्म पनि त्यसको खोज पत्ता लागेको छैन । स्वच्छ र सफाईलाई मात्र आधार बनाइएको छ । कुहिरोमा हराएको कागझैँ मानिस अहिले अन्योलको अवस्थामा गुज्रन बाध्य छन् । त्यत्ति मात्र होइन, आफू र आफ्नो परिवेश कसरी स्वच्छ हुन्छ भनेर सोच्न पनि वाध्य छन् । हिजो आफ्नै स्वार्थमा लुटपुटिएका पनि अहिले आफू र आफ्नो परिवार, समाज र मानवीय उत्तरदायित्वबोध हुने गरी सेवा र सद्भावतर्फ अकर्षित भएका छन् । भाइरसको कारण मानिसमा सकारात्मक चिन्तन गर्ने अभ्यास बढिरहेको छ । साथसाथै मानवीय सोच पूर्वीय दर्शनतर्फ आकर्षित भइरहेको छ । यसले मानिसलाई चिन्तनशील बनाउनुको साथै चुनौतीलाई सामना गर्ने शक्ति सञ्चित गर्नुपर्ने रहेछ भनेर पनि सचेत गराइरहेको छ ।

तसर्थ, यस अवस्थामा मानिस स्वयम् जागृत भई शुषुप्त रहेको विचार र चिन्तनलाई जागृत बनाउनु परेको छ । जन्म र कर्मको उद्देश्यलाई पहिचान गरी स्वभाव र विचारमा परिमार्जित गर्नुपरेको छ । मानव नै मानवको विनाशको कारक रहेछ भन्ने सोचलाई आत्मसात गरी सहयोग र सद्भावपूर्ण जीवनशैली अपनाउन तथा आचरण र व्यवहारमा शुद्धता ल्याउन आवश्यक परेको छ । अनुशासन र मर्यादालाई कायम गरी शान्ति र सद्भाव मानव आचारण र स्वभाव हो भन्ने बुझी सामाजिक धरोहरको रुपमा आफूलाई प्रष्ट्याउनु परेको छ । समाजमा देखापरेको र अब पनि देखापर्ने जति पनि विकृति र विसंगति छन् ती सबै हाम्रै आचरण र व्यवहारका परिणाम हुन् भन्ने सोच राखी आहार विहार, खान, पानमा शुद्धता ल्याई शारीरिक र मानसिक विकार हटाउने संकल्प गर्नुपरेको छ ।

स्वभावमा नम्रता, विचारमा शुद्धता, व्यवहारमा पवित्रता झल्कने स्वभाव प्रदर्शन गर्नुपरेको छ । आचरण र व्यवहारबाटै सुसंस्कृति कायम हुने हुँदा यस कुरालाई गम्भीर भएर सोच्नुपरेको छ । रोग ठूलो होइन, विचारको दरिद्रताले मानिसको लागि रोग ठूलो भएर रोगी बनेका हुन् । त्यसैले यो केही पनि होइन । यसलाई हामीले सहजै हटाउन सक्छौँ भन्ने दृढता राखी आचरण र व्यवहारमा अनुशासित हुन सिकौँ । अनुशासन र मर्यादानुकूल जीवनलाई गतिशील बनाऔँ । वातावरण आफै स्वच्छ बन्छ भन्ने दृढसंकल्प राखी अघि बढौँ । यो आजको आवश्यकता हो । यसैमा हामी सबैको भलो हुन्छ ।