मेरो खुशीः निजमाति सेवामा प्रवेश गर्दा …

मिजासिला स्वभाव, काममा दत्तजित भएर लाग्ने । जनताको सेवामा निरन्तर दुई दशकदेखि निजामति सेवामा कार्यरत छन्, यादवप्रसाद भुसाल । उनी लकडाउनको समयमा पनि जनस्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमनमै थिए । उनलाई मैले भेट्दा अनि बजारमा किराना पसलमा उपभोग्य सामग्रीहरुको मूल्य र म्याद गुज्ररेको छ कि छैन भन्ने नियालेर हेर्दै थिए । मुस्कान सहित जनतालाई छिटो छरितो सेवा प्रवाह गर्दै आएका भुसाललाई मैले खुशीका पलहरु सोध्दै गर्दा उनले आफू जनताको सेवामा निरन्तर लाग्न पाउँदा सधैँ खुशी भएको सुनाए । जीवनमा धेरै खुशीहरु भए पनि उनले पहिलो खुशी निजामति सेवामा प्रवेश गर्दाको लागेको सुनाए । ‘मेरो धेरै खुशीहरु छन्, तर मेरो पहिलो खुशी निजामति सेवामा प्रवेश गर्दाको लेखिदिनुहोला’–उनले भने ।

तुलसीपुर–९ सल्लीवनमा २०२४ सालमा जन्मिएका भुसालले २०४८ सालमा पहिलो पटक लोकसेवा आयोगमा मुखिया पदमा नाम निकाल्दा खुशी भएको बताए । मैले २०४३ सालमा महेन्द्र माविबाट एसएलसी दिएको थिएँ । ‘एसएलसी पास गर्दाको खुसी झन मैले व्यक्त गर्न नसक्ने थियो, त्यससँगै मुखिमा नाम निकाल्दा मेरो अर्को खुशी थपियो’– उनले भने । जागिरभन्दा पनि एसएलसीपछि मैले करिब ४ वर्ष व्यापर गरेँ, तुलसीपुरमा । तर व्यापार गर्दा एकदुई जना साथीहरुले आफूहरु जागिर गर्ने र मलाई व्यापार गरेको देख्दा हेप्ने गरेको मेरो अनुभव भयो । मैले पनि अठोट लिएर लोकसेवाको तयारी गरेँ, त्यो अठोट मेरो लागि अवसरको रुपमा रह्यो’ भुसालले बताए । २०४८ सालमा मुखिया भएर जिल्ला वन कार्यालय सल्यानमा आफूले सेवा गरेको बताए । उनले त्यहाँ काम गर्दा पनि वन वातावरण संरक्षण र सेवाग्राहीहरुलाई सहज, छिटो र छरितो सेवा दिन पाउँदा आफूलाई खुशी लागेको सुनाए ।

त्यससँगै उनले २०५३ सालमा पुनः लोक सेवाबाट खरिदार पदमा नाम निकाल्दा अर्को खुशी थपिएको बताए । खरिदार भएर जिल्ला हुलाक कार्यालय सल्यानमा गएर काम गर्न पाउँदा दोस्रो खुशी प्राप्त भएको सुनाए । त्यहाँ उनले धनादेश हुलाक बचत बैंक स्थापना गरी बैंकबाट सेवाग्राहीहरुलाई सहज सेवा र जनताको खाता खोलेर सेवा दिन पाउँदा झनै खुशी भएको सुनाए । त्यतिबेला निजी बैंकहरु पनि सल्यानमा थिएनन्, सरकारी बैंक पनि पहुँच नभएको उनी बताउँछन् । १० हजार निक्षपबाट बैंक स्थापना गरी भेटनरी, शिक्षा, कृषिलगायतका क्षेत्रका ऋण प्रवाह गरी जनजीविकामा सहजता ल्याउन पाउँदा निकै खुशी भएको उनले सुनाए । त्यससँगै हुलाकको प्रशिक्षणमा काठमाडौं गएर केन्द्रीय प्रबन्धकसँग छलफल गरी त्यसलाई बढाउन पाउँदा अर्को खुशी प्राप्त भएको सुनाए । करिब डेढ वर्षपछि बैंकको कोष बृद्धि गरेर १० लाख पु¥याउन सफल भएकोमा उनले खुशी व्यक्त गरे । यादवले बंगलादेश बैंकबाट कर्मचारीहरुका लागि बिना धितो ऋण लगानी गरेको र त्यसले कर्मचारीहरुलाई सहजता भएको भन्दै सबैले धन्यवाद दिएकोमा खुशी व्यक्त गरे ।

त्यससँगै उनले २०६६ सालमा नायव सुब्बा भएर सल्यान जिल्ला प्रशासनमा सेवा गर्न पाउँदा अर्को खुशी थपिएको बताए । त्यहाँ पनि जनतालाई सहज, छिटो र छरितो सेवा दिन पाउँदा खुशी मिलेको सुनाए । उनले सल्यान जिल्ला प्रशासनको मुद्दा शाखाको जिम्मेवारी पाएको र आफू जाँदा त्यहाँका गैरसरकारी कार्यालयहरु (एनजियो आइएनजियो)को मुद्दाहरु धेरै भएको र सो मुद्दाको छानविन गरी अख्तियारमा पठाएको सुनाए । अख्तियार अनुसन्धान आयोगमा पठाएको रिपोर्टका बारेमा त्यहाँबाट टोली आएर पुनः छानविन गरेको र आफूले पठाएको रिपोर्ट सबै ठीक भेटेपछि आफूलाई पनि निकै खुशी लागेको सुनाए । ‘अख्तियारको टोलीले पुनः मुद्दाको छानविन ग¥यो, त्यो रिपोर्ट सबै ठीक भेटियो र टोलीले मलाई धन्यवाद दियो । त्यससँगै मलाई आत्मसन्तुष्टिका महशुस भयो । त्यस बेला पनि मलाई निकै खुशी लागेको थियो’–भुसालले भने ।

आफूले दिने सेवा छिटोछरितोका साथै निष्पक्ष भए पनि आफूलाई काम गर्ने हौसला पनि मिलेको बताए । त्यससँगै सल्यान उद्योग वाणिज्य संघ विगत ७ महिनादेखि विवादको कारण तालाबन्दी भएको र त्यसको सहजीकरण गरेर ताला खुलाउन सफल भएकोमा पनि आफूलाई खुशी मिलेको उनले बताए । ‘लामो समयदेखि सल्यान उद्योग वाणिज्य संघमा विवादका कारण ताला लागेको रहेछ, जिल्ला प्रशासनबाट मलाई ताला विवाद सामाधान भए पनि खुलाउने नभए पनि बल प्रयोग गर्ने भन्ने निर्देशन भएको थियो, तर मैले सम्वादबाट ताला खुलाउन सफल भएँ, त्यसमा पनि मलाई खुशी लागेको थियो’–उनले भने । भुसालले ७ घण्टा चौरमा बसेर सम्वाद गरेर सहज रुपले ताला खुलाउँदा आफूलाई निकै खुशी लागेको बताए । उनले त्यो आफ्नो लागि पहिलो अनुभव भएको सुनाए । त्यस्तै जिल्लामा विकास निर्माणको कामका लागि पनि विवाद भएको र विभिन्न स्थानमा विवाद मिलाएर विकासलाई तीव्रता दिएको र विकासलाई दिगो र गुणस्तरी बनाउन सहजीकरण गरेकोमा पनि खुशी व्यक्त गरे । ‘सुशान कायम गरी विकासलाई निन्तरता गराउन सहयोगी भूमिका खेल्न पाउँदा खुशी मिल्दो रहेछ, धेरै विकासहरु यसरी नै मैले विवाद मिलाएर सुचारु गर्न पाएँ’ उनले भने । त्यससँगै २०७० सालदेखि तुलसीपुर स्थित ईलाका प्रशासन कार्यालयमा सूचना अधिकारीको पदमा बसेर जनतालाई सही सूचना र सेवा प्रवाह गर्न पाउँदा खुशी मिलेको सुनाए । ‘आप्mनै गाउँ–ठाउँमा सेवा प्रवाह गर्न पाउँदा निकै खुशी छु’–उनले भने ।

त्यससँगै २०७२ सालको नाकाबन्दीमा ईलाका प्रशासन कार्यालयबाट सहज तेलको आपूर्ति गर्न पाउँदा पनि खुशी मिलेको सुनाए । तुलसीपुर क्षेत्रका पेट्रोल पम्पहरुसँग समन्वय गरी अत्यावश्य सवारी साधनलाई तेलको सहज आपूर्ति ईलाका प्रशासनबाट आफूले कुपन दिएर मिलाएको उनले सम्झिए । त्यस्तै उनले २०६५ सालमा अफिसको कामले सुर्खेत जाँदा घोराही तुलसीपुर सडकखण्डको एक खोलामा दुर्घटना भएर बाँच्न सफल हुँदा खुशी लागेको सुनाए । श्रीमती र आफू यात्रामा रहेको र श्रीमतीको हात भाँचिएको र लखनउमा ६ महिनासम्म उपचारपछि सञ्चो लागेको उनले सुनाए । यादवले आफूलाई घरपरिवारबाट सेवा गर्दा सहयोग मिलेकोमा पनि खुशी व्यक्त गरे ।

त्यस्तै छोराछोरीहरुले पढेलेखेर राम्रो बाटोमा लागेकोमा पनि खुशी व्यक्त गरे । छोराबुहारीहरु भैरहवाको युनिभर्शल मेडिकल कलेजमा उपप्रध्यापक र अर्को छोरा प्राध्यापक भएर शिक्षा दिइरहेको र सबैले राम्रो काम गरेकोमा आफुलाई खुशी लाग्ने गरेको छ’ उनले भने । त्यस्तै भुसालले जागिर सँगसँगै समाजमा विभिन्न व्यक्तिहरुलाई सहयोग गर्न पाउँदा तथा सामाजिक काममा हातेमालो गर्न पाउँदा खुशी हुनेगरेको बताए । भुसाल हाल ईलाका प्रशासन कार्यालय तलसीपुरमा नासु पदसँगै सूचना अधिकारीको रुपमा कार्यरत छन् ।

                                                                        प्रस्तुतीः बालाराम खड्का