एसिसी मेन्स यु–१६ इस्टर्न जोन कप, विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान

गोरक्ष समाचारदाता
दाङ, २७ असार । एसिसी मेन्स यु–१६ इस्टर्न जोन कप विजेता टोलीका सदस्य र सहायक प्रशिक्षकलार्ई घोराहीमा सम्मान गरिएको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा बिहिबार घोराहीमा कार्यक्रमको आयोजना गरी राष्ट्रिय टिमका खेलाडी शुभम खनाल र सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलाई सम्मान गरिको हो ।

विजेता टोलीका महत्वपूर्ण सदस्य खनाल लमही नगरपालिका–५ निवासी हुन् भने टोलीका सहायक प्रशिक्षक क्षेत्री घोराही उपमहानगरपालिका–१३ निवासी हुन् । दुवै जनालाई घोराहीमा ¥यालीसहित बजार परिक्रममा गराइएको थियो । जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले लामो समयको मिहिनेत, लगनशीलता र प्रयासबाट दाङका खेलाडी र प्रशिक्षक राष्ट्रिय टिममा पर्नु, उपाधि जितेर राष्ट्र र नेपालीको नाम अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु¥याउन सफल भएको बताएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव गौतमले खेलाडीको हौसला बढाउन र खेल भावनाको विकास गर्न खेलाडीको सम्मान आवश्यक रहेको बताए । नेपालमा पछिल्लो समय निकै रुचाइएको क्रिकेटको विकासमा उमेर समूहका खेलाडीको ठुलो योगदान रहने भन्दै सदस्य सचिव गौतमले खेलकुद क्षेत्रमा दाङसँगै लुम्बिनीको राम्रो सम्भावना भएको प्रमाणित गरेको बताएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनले खेलको समग्र विकासका लागि सबैको साथ आवश्यक पर्ने बताए । खेलबाट सकारात्मक नतिजा हासिल गर्न धेरै लगानी चाहिने भन्दै नगर संयोजक पुनले लगानी गर्ने सवालमा राज्य अझै उदार बन्न नसकेको बताए ।

नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले दाङमा क्रिकेटको पूर्वाधारसँगै खेलाडी उत्पादनका लागि राम्रो सम्भावना बोकेको जिल्लाका रूपमा उदाउँदै गएको भन्दै यसले आपूmलाई गर्व महसुस गराएको बताएका थिए । दाङबाट प्रतिनिधित्व गर्दै उमेर समूहका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर प्रभावशाली प्रदर्शनसँगै सहायक प्रशिक्षक भएर सञ्जुले आफ्नो क्षमता देखाउने अवसर प्राप्त गरेको भन्दै यसले देशकै शिर ठाडो बनाउने काम गरेको बताए ।

दाङ क्रिकेट संघका सचिव समेत रहेका सहायक प्रशिक्षक सञ्जु क्षेत्रीले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण संघका सल्लाहकार किशोरचन्द्र गौतमले गरेका थिए ।

विजेता खेलाडीलाई एक लाखसहित सम्मान

यसैबिच लुम्बिनी प्रदेश खेलकुद परिषद्ले एसिसी मेन्स यु–१६ इस्टर्न जोन कपका विजेता खेलाडीलाई सम्मान गरेको छ । परिषद्ले देउखुरीमा बिहिबार कार्यक्रमको आयोजना गरी एसिसी मेन्स यु–१६ इस्टर्न जोन कपका विजेता खेलाडी दाङका शुभम खनाल, कपिलवस्तुका रौनक श्रीवास्तव र टिमका सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलाई नगदसहित सम्मान गरेको हो ।

परिषद्ले खेलाडी शुभम खनाल र रौनक श्रीवास्तवलाई जनही एक लाख र सहायक प्रशिक्षक क्षेत्रीलाई ५० हजार नगदसहित सम्मान गरेको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै सम्पूर्ण देशबासीको शिर उचो बनाएको भन्दै उपाधि जितेका खेलाडीको सम्मान स्वरुप लुम्बिनीबाट प्रतिनिधित्व गरेका खेलाडी र सहायक प्रशिक्षकलाई पुरस्कृत गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोका मगरले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले खेलाडीलाई नगदसहित अविर, टीका, खादा र सम्मानपत्र प्रदान गरेका थिए । खेलाडी तथा सहायक प्रशिक्षकलाई सम्मान कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य तथा दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँलगायतका अतिथिको सहभागिता रहेको थियो ।

गत असार ८ गतेदेखि मलेसियामा भएको खेलमा २१ गते शनिवार नेपालले सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, सिङ्गापुर, इन्डोनेसिया, भुटान, जापान, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार सहभागी थिए । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।