नेविसंघले एसइई ग्रेटवृद्धि तयारी कक्षा चलाउने

गोरक्ष समाचारदाता
दाङ, २७ असार । नेपाल विद्यार्थी संघ दाङले एसइई ग्रेटवृद्धिका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । आर्थिक रूपमा विपन्न विद्यार्थीलाई सहयोग पु¥याउने उद्देश्यले नेविसंघले असार २९ गते आइतवारदेखि तयारी कक्षा सञ्चालन गर्ने जनाएको छ ।

एसइई परीक्षामा विषय लागेका ग्रेटवृद्धि गर्न चाहने इच्छुक विद्यार्थीलाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघले गणित, अङ्ग्रेजी र विज्ञान विषयका लागि तयारी कक्षा सञ्चालन गर्न थालेको नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेलले जानकारी दिएका छन् ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताका हाम्रा आदर्श हुन्’भन्ने नेविसंघको मुल नारासाथ घोराही उपमहानगरपालिका–१५ स्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गर्ने जानकारी दिएका छन् । कक्षा बेलुकी ४ः३० बजेदेखि सञ्चालन हुने भन्दै नेपाल विद्यार्थी संघले इच्छुक विद्यार्थीलाई पढ्नका लागि आउन अनुरोध गरिएको छ ।

नेविसंघले गत वर्ष पनि एसइई ग्रेटवृद्धि तयारी कक्षा सञ्चालन गरेको थियो । गत वर्ष सञ्चालन गरेको ग्रेटवृद्धि परीक्षा तयारी कक्षामा ८६ जना विद्यार्थी सहभागी भएका थिए । ‘आर्थिक रूपमा विपन्न विद्यार्थीलाई पढ्नका लागि सहयोग गर्ने उद्देश्यले यो वर्ष पनि नेविसंघले एसइई तयारी कक्षा सञ्चालन गर्न थालेको छ’, नेविसंघ दाङका अध्यक्ष पोख्रेलले भने, ‘यो तयारी कक्षाले विद्यार्थीलाई परीक्षामा सहयोग पुगोस् भन्ने हो ।’

ग्रेटवृद्धि तयारी कक्षामा सहभागी हुन नेविसंघले विद्यार्थीलाई अनुरोध गरेको छ । यसैविच नेविसंघले आज घोराहीमा एसइई परीक्षामा चार जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गर्ने भएको छ ।