स्वर्गद्वारी आश्रममा गुरुपूर्णिमा

गोरक्ष समाचारदाता
दाङ, २७ असार । गुरुपूर्णिमाको अवसरमा स्वर्गद्वारी आश्रमको शाखा कार्यालय वनगाउँ देउखुरीमा धार्मिक कार्यक्रम आयोजना गरी मनाइएको छ । विश्व कल्याणको भावनाले आयोजना गरिएको कार्यक्रममा स्वामी १०८ भागवतानन्द गिरीको दर्शनसँगै हवन, हरिकीर्तन र भण्डारा सञ्चालन गरिएको थियो ।

कार्यक्रममा स्वामी १०८ भागवतानन्द गिरीले गुरुपूर्णिमाको आध्यात्मिक महत्वबारे प्रकाश पार्दै उपस्थित भक्तजनलाई मार्गदर्शन र आशिरवचन प्रदान गरेका थिए । गुरुको आशिरवचनले भक्तजनमा नवीन आध्यात्मिक उत्साह र प्रेरणा जगाएको थियो । स्वर्गद्वारी आश्रमका भक्त भुवनेश्वर पौडेलका अनुसार कार्यक्रममा दाङ, प्युठान, बुटवल, पाल्पा र काठमाडौंलगायत स्थानबाट करिब सात सय बढी भक्तजनको सहभागिता रहेको थियो ।

गुरुपूर्णिमाको यो विशेष दिनमा वनगाउँ देउखुरीसँगै झिँगौरा आश्रम, काठमाडौंको पशुपतिनाथस्थित राम मन्दिर र प्युठानको स्वर्गद्वारी आश्रममा पनि कार्यक्रम आयोजना गरिएको थियो । काठमाडौंको पशुपतिनाथस्थित राम मन्दिरमा ब्रह्माचारी डा. रुद्रानन्द गिरीको उपस्थितिमा कार्यक्रम भएको थियो । स्वर्गद्वारी महाप्रभुको पालादेखि नै गुरुपूर्णिमाका दिन गौशाला, यज्ञशाला र पाठशाला सञ्चालनलाई मुख्य आधार बनाएर प्रत्येक वर्ष कार्यक्रम सञ्चालन हुँदै आएको छ ।