दाङमा एसीसी मेन्स यु–१६ इस्टर्न जोन कपका विजेता खेलाडीलाई सम्मान

घोराही, २६  असार । लुम्बिनी प्रदेश खेलकुद परिषदले एसीसी मेन्स यु–१६ इस्टर्न जोन कपका विजेता खेलाडी र सहायक प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ । खेलकुद परिषदले दाङको देउखुरीमा विहिवार कार्यक्रमको आयोजना गरेर एसीसी मेन्स यु–१६ इस्टर्न जोन कपका विजेता खेलाडी दाङका शुभम खनाल, कपिलवस्तुका रौनक श्रीवास्तव र टिमका सहायक प्रशिक्षक सञ्जु क्षेत्री (पुरणसिंह खत्री)लाई नगदसहित सम्मान गरेको हो ।

परिषद्ले खेलाडी शुुभम खनाल र रौनक श्रीवास्तवलाई जनही एक लाख र सहायक प्रशिक्षक क्षेत्रीलाई ५० हजारसहित सम्मान गरेको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै सम्पूर्ण देशबासीको शीर उँचो बनाएको भन्दै उपाधि जितेका खेलाडीको सम्मान स्वरुप लुम्बिनीबाट प्रतिनिधित्व गरेका खेलाडी र सहायक प्रशिक्षकलाई सम्मान गरेको हो ।

बिजेता खेलाडी तथा सहायक प्रशिक्षकलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले खेलाडीलाई नगदसहित अविर टिका, खादा र सम्मानपत्र प्रदान गरेर सम्मान गरेको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोकामगरले जानकारी दिनुभएको छ । उहाँका अनुसार खेलाडी तथा सहायक प्रशिक्षकलाई सम्मान कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य तथा दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँलगायतको सहभागीता रहेको थियो ।