म्याद सकियो, बनेन ट्रमा सेन्टर

गोरक्ष समाचारदाता
दाङ, २६ असार । ठेक्का सम्झौता अनुसार लमही नगरपालिका–४ मा निर्माण हुन थालेको प्रादेशिक ट्रमा सेन्टर सञ्चालनमा आइसक्नु पर्ने हो तर विभिन्न कारण देखाउँदै लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको ट्रमा सेन्टर निर्माणमा ढिलाई हुँदै आएको छ ।

२०८० असार २३ गतेभित्र निर्माण सक्ने गरी २०७७ फागुन २८ गते ठेक्का सम्झौता भएको ट्रमा सेन्टरको दोस्रो पटक थप गरिएको म्याद सकिदाँ समेत निर्माण पूरा हुन सकेको छैन । सम्झौता मितिमा काम पूरा नभएपछि २०८१ चैत ३० गतेसम्म पहिलो पटक म्याद थप गरिएको थियो । उक्त समयमा पनि काम नसकिएपछि दोस्रो पटक २०८२ वैशाखसम्म अवधि थप गरिएको थियो ।

दोस्रो पटका थपिएको समयमा पनि निर्माणको काम सम्पन्न हुन नसकेको सहरी विकास तथा भवन कार्यालय दाङले जनाएको छ । ५० श्ययाको ट्रमा सेन्टर निर्माणको काम लामा एन्ड गौरीशंकर हिमालयन कन्स्ट्रक्सन प्रालि काठमाडौंले गरिरहेको छ । भवन निर्माणको काम भइरहे पनि समयमा भुक्तानी नहुँदा काममा ढिलाई भएको निर्माण कम्पनीका प्रतिनिधि आइतसिंह तामाङ बताउँछन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देउखुरी क्षेत्रमा हुने दुर्घटनाका घाइतेसँगै अन्य बिरामीलाई उपचार गर्ने करिब २२ कट्ठा क्षेत्रफलमा चार तलाको ट्रमा सेन्टरको मुख्य भवनसहित एकतले डाक्टर क्वाटर, दुईतले चिकित्सक क्वाटर, चमेना गृहसहित शौचालय निर्माण भइरहेको छ । गार्ड क्वाटर र मर्चरी रुम भने अझै बनेको छैन ।

सहरी विकास तथा भवन कार्यालयले लामा एण्ड गौरी शंकर हिमालयन कन्स्ट्रक्सन प्रालिसँग भ्याटसहित २१ करोड ९३ लाख ३७ हजार पाँच सय ३६ रुपैयाँमा भवन निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । ट्रमा सेन्टरमा हाडजोर्नी विशेषज्ञ डाक्टर, न्यूरो सर्जन, जनरल सर्जन, एनेस्थेसियासहित नर्सिङ र पारामेडिक्स टिम रहने गरी ट्रमा सेन्टर सञ्चानलका लागि भवन निर्माणको काम भइरहेको सहरी विकास तथा भवन कार्यालय दाङका सूचना अधिकारी बामदेव खनालले बताए ।

उनका अनुसार जति सक्यो चाँडै भवन निर्माण गरेर ट्रमा सेन्टर सञ्चालनमा ल्याउन आवश्यक रहे तापनि आर्थिक समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ । कार्यालयका सूचना अधिकारी खनालले भने, ‘ठेक्का सम्झौता मितिमै काम सक्ने गरी निर्माण व्यवसायीलाई ताकेता गर्दासमेत आर्थिक समस्याकै कारण निर्माणमा ढिलाइ भइरहेको छ ।’

ठेक्काको म्याद सकिएपछि २०८२ वैशाख १६ गते निर्माण कम्पनीको तर्फबाट म्याद थपको लागि निवेदन कार्यालयमा परेको र उक्त निवेदनको फाइल तयार पारेर प्रदेश मन्त्रालयमा कार्यालयले पठाएको उनले बताए । करिब ८५ प्रतिशत निर्माणको काम सकिएको ट्रमा सेन्टरको बाँकी काम आगामी आर्थिक वर्षमा हुने कार्यालयले जनाएको छ ।

ट्रमा सेन्टरको मुख्य भवनको काम सकिए पनि वायरिङ, मार्बल, एसी जडानलगायतको काम बाँकी रहेको निर्माण व्यवसायी तामाङले बताए । ट्रमा सेन्टरको भवन निर्माणका लागि अहिलेसम्म १४ करोड दुई लाख बढी भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । सुरुमा जग्गा व्यवस्थापनसँगै कोरोना सङ्क्रमणका कारण निर्माणमा ढिलाइ भए पनि पछिल्लो समयमा भने अर्थिक अभाव ढिलाइको कारण बनेको छ ।