दाङमा उत्कृष्ट चार किसानलाई सम्मान

अमरराज आचार्य
दाङ, २६ असार । कृषि ज्ञान केन्द्र दाङले जिल्लाका चार उत्कृष्ट किसानलाई सम्मान गरेको छ । कृषि उत्पादन, बजारीकरण, नियमन प्रविधि प्रसार कार्यक्रम अन्तर्गत बुधवार उत्कृष्ट चार किसानलाई नगदसहित सम्मान गरेको हो ।

कार्यालयले जिल्ला भरका किसान मध्येबाट छनोट गरेर चार जना किसानलाई सम्मान गरेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए । उनका अनुसार माहुरीपालनबाट मह उत्पादन तथा व्यवसायीकरण र आधुनिकीकरण गरेको भन्दै तुलसीपुर उपमहानगरपालिका–१० का माधव केसीलाई नगर १० हजार र प्रमाणपत्र सर्वोत्कृष्ट कृषकको रूपमा सम्मान गरिएको छ ।

यसैगरी कम्पोस्ट मल उत्पादन एवम् प्राङ्गारिक कृषि उत्पादन गर्दै आएका तुलसीपुर उपमहानगरपालिका–३ का कर्णबहादुर वली, व्यावसायिक तरकारी खेती गदै आएका घोराही उपमहानगरपालिका–१० का महेन्द्र खड्का र व्यावसायिक केरा खेती गदै आएका राप्ती गाउपालिका–३ का गोविन्द विकलाई उत्कृष्ट किसानका रूपमा सम्मान गरिएको हो । उनीहरूलाई नगद पाँच हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कृषि पेसामा लागेर कृषि उत्पादन, बजारीकरण, नियमन प्रविधिको प्रयोग उद्यमशीलताको विकास, उत्पादन तथा रोजगार सिर्जना गरेको भन्दै सम्मान गरिएको हो । व्यासायिक रूपमा कृषि उत्पादनमा लागेका ती किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए ।

‘कृषि क्षेत्रमा काम गरिरहेका किसानलाई राज्यको तर्फबाट सम्मान गरेर प्रोत्साहित गरेका हौँ’, उनले भने, ‘वास्तविक रूपमा काम गर्ने कृषकलाई राज्यले सहयोग गर्दै आएको पनि छ ।’ राज्यले गर्ने सानो सम्मानले पनि किसानलाई कृषि कार्यमा थप हौसाला मिल्ने उनले बताए ।

जिल्लामा रहेका धेरै किसानमध्ये छनोट गरेर उत्कृष्ट चार किसानलाई सम्मान गरिएको प्रमुख भण्डारीले बताए । सम्मानित हुने किसानले आफूहरूलाई राज्यले सम्मान गर्नु खुसी खुसीको कुरा भएको बताएका थिए । आफूहरूले गरेको कृषि कार्यको मूल्याङ्कन गरेर कृषि ज्ञान केन्द्रले सम्मान गरेको र यो सम्मानले कृषि क्षेत्रमा लाग्न अझ उत्साहित भएको बताएका थिए । कार्यक्रमको सहजीकरण कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले गरेका थिए ।

स्थानीय तहका प्राविधिकसँग छलफल

कृषि ज्ञान केन्द्रले जिल्लामा रहेका स्थानीय पालिकाका कृषि शाखाका प्रमुख, प्राविधिकहरूसँग छलफल गरेको छ । स्थानीय पालिकामा कृषि क्षेत्रमा भएका राम्रा काम, काम गर्दा देखिएका चुनौती, कृषि क्षेत्रका सम्भावना, चुनौती र आगामी वर्षमा गरिने कृषि कार्यबारे छलफल गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले राज्यले कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको बताए । तीनवटै सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताउँदै प्रमुख शर्माले कृषि उत्पादन वृद्धि गर्न सरकारले गरेको लगानीको सदुपयोग गर्न किसानलाई आग्रह गरे ।

‘दाङ कृषिका लागि उपयुक्त जिल्ला हो, तीनै तहका सरकारले कृषि क्षेत्रमा लगानी गरेका छन्, त्यसैले किसानले यसको सदुपयोग गरेर कृषि उत्पादन वृद्धि गर्नुपर्छ’, उनले भने, ‘कृषि व्यवसाय गर्दै आएका किसानलाई राज्यले अनुदान वितरण समेत गदै आएको छ ।’

अनुदानका लागि मात्र कृषि व्यवसायमा लाग्न नहुने बताउँदै प्रमुख शर्माले परम्परागत रुपमा गरिँदै आएको खेतीकिसानीलाई प्रविधिसँग जोडेर उत्पादन बढाउन किसानलाई सुझाएका थिए ।

लुम्विनी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख हरिप्रसाद पण्डितले किसानलाई सरकारले सहयोग गदै आएको बताए । सरकारले किसानलाई सहयोग गर्न विभिन्न शीर्षकमा अनुदान, प्राविधिक सहयोग गर्दै आएको बताएका थिए । त्यसैले सरकारले केही दिएन भनेर किसानले गुनासो गर्न नहुने बताएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका कृषि शाखा प्रमुख खिमबहादुर बस्नेत, तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका शंकरप्रसाद न्यौपाने, शान्तिनगर गाउँपालिका कृषि शाखाका केशव केसी, बबई गाउँपालिका कृषि शाखाका दीपेन्द्रप्रसाद डाँगी, दंगीशरण गाउँपालिकाका कृषि शाखाका सरु भुसाल, गढवा गाउँपालिका कृषि शाखाका फुलन्देवी चौधरी, राजपुर गाउँपालिका कृषि शाखाका रीता भण्डारी, राप्ती गाउँपालिका कृषि शाखाका निर्मला गिरी, लमही नगरपालिका कृषि शाखाका रूमा थापालगायतले कृषि क्षेत्रमा पालिकाले गरेका काम, चुनौती तथा सम्भावनाका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रम कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले गरेका थिए ।