प्राध्यापक संघको सभापतिमा न्यौपाने

गोरक्ष समाचारदाता
दाङ, २६ असार । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस एकाइ सभापतिमा तीर्थ न्यौपाने निर्वाचित भएका छन् ।
उपाध्यक्षमा निश्चल हमाल, सचिवमा सुधीर रेग्मी, कोषाध्यक्षमा टोपेन्द्र गौतम निर्वाचित भएका छन् । संघका सदस्यमा समीरमणि गौतम, पुष्कर खड्का, मनोज चौधरी, कुलवीर चौधरी र देवेन्द्र अधिकारी निर्वाचित भएका छन् ।

एकल सङ्क्रमणीय निर्वाचनबाट निर्वाचित सदस्यहरूको पहिलो बैठकले सर्वसम्मतिमा पदाधिकारी चयन गरेको थियो । यसैगरी त्रिवि प्राध्यापक संघको राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा निवर्तमान सभापति दिनेश भट्टराई, पूर्वसभापति श्याम आचार्य, राजेन्द्र पोख्रेल र शंकर धिताल निर्वाचित भएका छन् ।
प्राध्यापक संघका केन्द्रीय सदस्य प्रकाश श्रेष्ठ संयोजक तथा सुन्दर गौतम र हरि रावत सदस्य रहेको निर्वाचन समितिले बुधवार ९ जना सदस्य तथा ४ जना राष्ट्रिय प्रतिनिधि निर्विरोध निर्वाचिन भएको घोषणा गरेको थियो ।

घोषणापछि बसेको सदस्यहरूको पहिलो बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलगायतका पदाधिकारी चयन गर्नुका साथै निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको थियो । संघका अध्यक्ष दिनेश भट्टराईको अध्यक्षता तथा प्राध्यापक डा. शिवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा मङ्गलवार संघको १७ औँ अविधेशन उद्घाटन गरिएको थियो ।

सो अवसरमा क्याम्पसबाट सेवा निवृत्त सहप्राध्यापक बिमल सुवेदी, भरतराज न्यौपाने, प्रियव्रत आचार्य तथा राम थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । निर्वाचन समितिले निर्वाचित पदाधिकारी, सदस्य तथा राष्ट्रिय प्रतिनिधिलाई प्रमणपत्र समेत प्रदान गरेको थियो । कार्यक्रममा निवर्तमान सभापति दिनेश भट्टराईले नवनिर्वाचित सभापति तीर्थराज न्यौपानेलाई माइन्युट हस्तान्तरण गरेका थिए ।