तुलसीपुर, २४ बैशाख । तुलसीपुर–६ की रमादेवी रेग्मीले लकडाउनको समयमा छाक बस्ने अवस्थामा पुगेका नागरिकहरुका लागि सहयोग पुराउन १ लाख ११हजार १ सय ११ रुपैयाँ सहयोग गरेकी छिन् ।
रेग्मीले तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख नबराज लामिछानेलाई मंगलबार सो रकम हस्तान्तरण गरेकी हुन् । कोभिड १९ का कारण दैनिक ज्यालादारी गरेर खाने वर्गलाई समस्या नहोस् भनेर आफूले सहयोग गरेको रेग्मीले बताइन् ।
कोरोना संक्रमणको महामारीबाट बच्न सबैले सतर्कता अपनाउनुपर्ने उल्लेख गर्दै कार्यबाहक नगर प्रमुख लामिछानेले संकटको समयमा रेग्मीले गरेको सहयोगले धेरै परिवार लाभान्वित हुने भन्दै धन्यबाद ज्ञापन गरे । नगरपालिकाले जथाभावी राहत वितरणमा रोक लगाउँदै एकद्वार प्रणालीबाट राहत बितरण गर्दै आएको छ ।