मेरो खुशी : जिन्दगीको पहिलो कमाइ बुवालाई दिँदा …

बालाराम खड्का

विगत दुई दशकदेखि उनी वन वातावरणको क्षेत्रको क्षेत्रमा क्रियाशील छन् । वातावरण संरक्षण विभिन्न कार्य गरिरहेका छन् । २०५९ सालमा भैरव सामुदायिक वनको अध्यक्ष हँुदै हालसम्म सामुदायिक वन उपभोक्ता महासंघमा आवद्ध उनी छन् ।

सकारात्मक सोचका साथ आफ्नो कर्ममा विश्वास गर्ने तुलसीपुर–३ रानागाउँ निवासी खेमलाल महतराले वन वातावरण र पर्यावरण संरक्षणका साथै जलवायु परिवर्तनलाई कसरी कम गर्न सकिन्छ र वन उद्यमशिलता जीविकोपार्जनका लागि वनमा आधारित रही विभिन्न सिप र ज्ञान सचेतना आफूले जनतालाई दिन पाएकोमा खुसी व्यक्त गरे । सधै खुसीका साथ सतकर्ममा लाग्ने महताराले आफू सधै खुसीका साथ आफ्नो कर्म गर्ने गरेको बताउँछन् ।

‘कर्म गराँै फलको आशा नगरौँ, जो सँग जे छ त्यसैमा रमाउँ खुसी त्यसैमा छ’ महतराले भने । २०३० सालमा साविक तुलसीपुर गाउँ पञ्चायत वडा नं. १ हाल तुलसीपुर उपमहानगरपालिका–३ रानागाउँमा स्व. पेशल महतारा र आमा स्व.रेवादेवि महतराको कोखबाट जन्म लिएका महतराले जीवनमा पहिलो खुसी जीवनको पहिलो कमाई बुवालाई दिँदा मिलेको सुनाए ।

करिब ६ वर्ष शिक्षण पेसामा संलग्न भएका महतराले शिक्षण गरेर आएको पहिलो तलब बुवालाई दिएको दिनलाई आफ्नो पहिलो खुसी खुसी सम्भिए । ‘२०५४ सालमा होला म प्रा.वि रानागाउँमा शिक्षण सुरु गरेको थिए, त्यहीबाट आएको पहिलो कमाई मैले बुवाको हातमा दिँदा बुवाको आँखा रसाएर हौसला दिएको दिन म निकै खुसी भएको थिए’ महताराले भने ।

गुरुजजुर माविबाट विद्यालय शिक्षा र महेन्द्र बहुमुखी क्याम्पस घोराहीबाट उच्च शिक्षा हासिल गरेका महतराले करिब ६ वर्ष शिक्षण गरी शिक्षाको उज्यालो फैलाउन पाएकोमा पनि खुसी व्यक्त गरे । ‘त्यति बेला अहिले जस्तो विद्यालय थिएनन् प्रावि रानागाउँमा मैले धेरै विद्यार्थीलाई शिक्षा दिन पाएकोमा पनि म खुसी छु’ महतराले भने ।

त्यस्तै भैरव सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष हुँदा दाङमा पहिलो पटक आधुनिक चिउरी मिल स्थापना गर्न पाएकोमा पनि उनले खुसी व्यक्त गरे । ‘हाम्रो सामुदायिक वनमा प्रशस्त चिउरी थियो त्यसको विजुलाबाट चिउरीको घ्यू उत्पादनका लागि मिल हामीले स्थापना गरेका थियौँ गाउँमा मिल राख्न पाउँदा निकै खुसी लागेको थियो’ उनले भने । महताराले त्यो आधुनिक मिल स्थापना गरे पनि त्यसको दिगो व्यवस्थापन भने हुन नसकेको बताए ।

त्यस्तै २०६० सालमा तुलसीपुर रेञ्जपोष्ट महासंघको सचिव एलएपी प्रोजेक्ट वन्यजन्तु संरक्षण संघ नेपाल लगायतका वनसम्बन्धी काम गर्ने संस्थामा काम गरेर वृक्षारोपन, वातावरण संरक्षणका साथै आर्थिक उपार्जनका विभिन्न समूहमा काम गर्न पाएकोमा पनि उनले खुसी व्यक्त गरे ।

त्यस्तै सर्वाङ्गिन सामुदायिक विकास केन्द्रमा सदस्य रही पश्चिम दाङका तत्कालीन साविकाका गाविस र तुलसीपुर उपमहानगरपालिकाभित्र विभिन्न घुम्ती कोषमार्फत् विपनहरूलाई जीविकोपार्जन सम्बन्धी टोल गठन गरी काम गर्न पाएकोमा पनि उनले खुसी व्यक्त गरे । त्यस्तै वन्यजन्तु संरक्षण संघ नेपालमा २ वर्ष काम गर्दा १२ वटा सामुदायिक वनका उभोक्तालाई गोबर ग्याँस वितरण गरेको र दुरदराजका जनताको घरमा सितैमा चुलो बलेको र उनीहरूको मुहारमा खुसी झल्केको देख्दा आफूलाई पनि खुसी मिलेको उनले सुनाए ।

त्यस्तै रानागाउँमा लाहुरे खोला खानेपानी तथा सिँचाइ उपभोक्ता समितिको कोषाध्यक्ष भई गाउँमा आफूहरूले खानेपानीको धाराहरू वितरण गर्न पाउँदा अर्को खुसी प्राप्त भएको उनले सुनाए । ‘हामीहरूले गाउँमा दुई लाख लिटरको रिजर्भ ट्याङकी निर्माणका साथै ८५ वटा धारण वितरण गरेका छौँ, यसले करेसाबारीमा सिँचाइ सुविधा पुगेको छ, यसमा पनि म खुसी छु’ महताराले भने ।

उनले अहिले प्रत्येक घरको करेसाबारीमा तरकारी खेती लटरम देख्दा आफू निकै खुसी हुने गरेको सुनाए । त्यस्तै गाउँमा हुने अन्य विकास निर्माणमा साथ सहयोग दिन पाएकोमा पनि खुसी व्यक्त गरे । ‘गाउँमा बाटो निर्माण होस् वा मठमन्दिर निर्माणमा मैले पनि सहयोग गर्न पाएको छु यसमा पनि म खुसी छु’ महताराले भने ।

त्यस्तै २०८० सालदेखि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ तुलसीपुरको अध्यक्ष भई विभिन्न वन वातावरण संरक्षणसम्बन्धी तालिम गोष्ठी र सचेतना बाढ्न पाएकोमा पनि खुसी व्यक्त गरे । २०४६ सालमा नेपाल विद्यार्थी संघ गुरुजजुर माविमा स्कुल समितिमा तदर्थ समितिमा रही राजनीति सुरु गरेका महताराले तेह्रौँ अधिवेशनमा कांग्रेसको तुलसीपुर नगर वडाको सभापति भई काम गर्न पाएकोमा पनि खुसी व्यक्त गरे ।

त्यस्तै महताराले आफूहरू ६ जना दाजुभाइ रहेको भन्दै घरायसीसँगै हरेक कुरामा आफूहरू भाई बन्धुत्वको भवनाले अगाडि बढनुका साथै साथ सहयोग मिलेकोमा पनि खुसी व्यक्त गरे । ‘हाम्रो परिवारमा सधै एकता हुन्छ साथ सहयोग मिलेको छ यसमा पनि म निकै खुसी छु’ महताराले भने ।

उनले घर परिवारमा पनि पारिवारिक वातावरण र एकले अर्कोलाई साथ सहयोग मिलेको भन्दै खुसी व्यक्त गरे । ‘एकबारको जीवनमा के लिनु दिनु छ र, हासी खुसी मिलेर अगाडि बढ्ने हो त्यसैमा खुसी हुनुपर्छ’ महताराले भने । उनले आफूले समस्या पर्दा अरूलाई सहयोग गर्ने र अरूले पनि आफूलाई साथ सहयोग गर्ने गरेकोमा पनि खुसी व्यक्त गरे ।