नारायणप्रसाद श्रेष्ठ
मानिस ठूलो दिलले हुन्छ धनले हुँदैन, मानिस राम्रो सेवाले हुन्छ स्वार्थले हुँदैन । यी नारा हाम्रो सामाजिक जीवन पद्दतिमा प्रशस्त मात्रामा गरेको पाइन्छ । व्यवहार र कर्ममा एकरुपता ल्याई जीवनलाई सहज अवतरण दिने साधकहरु पनि यस कुरालाई समर्थन गर्दछन् ।
जीवन छ, त संसार छ, जीवन छैन भने केही पनि छैन तसर्थ ‘हातको मैलो सुनको थैलो के गर्नु धनले’ भनेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले सेवा र समर्पणमा आधारित जीवन जिउनु पर्छ भनी साहित्य सिर्जनामार्फत सबैलाई जागरुक बनाउन खोजेका छन् । विविध विचार भए पनि एक हुन सन्देश प्रवाह गरेका छन् । तसर्थ यस कुरालाई प्रत्येकले आफ्नो मनमन्दिरमा सोचेर आफ्नो कर्म र व्यवहारमा प्रदर्शन गर्नु परेको छ ।
मानिसको सोँच, कर्म र तथा व्यवहार र सेवामा त्यत्तिकै विविधता पाइन्छ । नारा र व्यवहारमा देखिएको भिन्नताले समाजमा देखिएको विकृति हटाउन सबै त्यतिकै जागरुक भएको पनि देखिन्छ । विकृति हटाई समग्रमा एकता र सद्भाव कायम राख्न सामाजिक अगुवाहरुले विभिन्न उपायहरु अवलम्बन गरेको पनि हुन्छन् । कहिले समाज सेवाको नाममा दान गर्न उत्प्रेरित गरिरहेका हुन्छन् भने कहिले कथा पुरानको माध्यम ज्ञान सागरमा पौडन सिकाइरहेका हुन्छन् ।
सेवा नै धर्म हो भनी सेवा र समर्पणमा आधारित कर्म गरेर जीवनलाई आदर्श बन्ने तर्फ उत्प्रेरणा जगाउने कर्म पनि गरिरहेका हुन्छन् । आधुनिक परिवेशको नाममा जथाभावी र प्रयोगविहीन क्षेत्रमा संलग्न नरहन उत्प्रेरणा पनि जगाइरहेका हुन्छन् । उद्देश्यविहीन र सेवाविहीन कर्मले सामाजिक सुसंस्कृति कायम नहुने विचार पनि प्रवाह गरिरहेका हुन्छन् ।
यतिमात्र होइन समर्पण नै भविष्य हो सेवा नै धर्म हो र उज्यालो ल्याउने कर्म नै मानवीय संस्कार हो भन्ने नारा लगाउँदै सामाजिक आदर्शता ल्याउने कर्म र व्यवहार गर्न पनि सचेतना जगाइरहेको अवस्था छ । मानिसको स्वच्छ र पवित्र भावनाबाट नै त्याग हुन सक्ने र त्यागबाटै एकताको सन्देश प्रवाह हुने कुरामा पनि सचेतना अभिवृद्धि गराइरहेको हुन्छ ।
मरेर जाने जिन्दगी हो, नांगै आउने नांगै जाने, अहिलेसम्म कसले पो के साथमा लिएर गएका छन् र ? मरेपछि सम्झना आउने भनेको उसले गरेको त्याग र समर्पणको इतिहास मात्र हो । यसरी हामीले एकअर्कोलाई बुझाउने गरेका छौँ । सबैको मन मष्तिष्कमा दया र समर्पणको भाव जागृत गर्न लागि परेका पनि छौँ तर दुःखका साथ भन्नु पर्छ हामीले दिने अर्ति उपदेश अनुसार के हामी आफैले आचरण गरेका छौँ ? सोच्नु पर्ने भएको छ ।
एकअर्का कुरा जीवन भनेको जन्ममरणको चक्रमा घुमिरहने आत्मतत्व हो । सागरको लहर हो, ध्वनीको तरंग पनि हो । यो इतिहास हिजो पनि थियो, आज पनि छ र सृष्टिचक्रको इतिहास यसरी नै चलिरहेको छ । बाल, युवा, वृद्ध हुँदै मानव देह यसरी नै परिवर्तन भइरहेको हुन्छ । उत्पत्ति हुने, नष्ट हुने यो प्रकृतिको नियम हो । यही प्रक्रियामा जीवन र जगतले गति लिई अघि बढिरहेको हुन्छ । जबसम्म यो पृथ्वीको परिवर्तित रुपले सृष्टिचक्रको इतिहासलाई रचना गरिरहन्छ तबसम्म यो प्रक्रिया चलिरहुन्छ ।
प्राचिन युगका हाम्रा ऋषिमुनीहरुले सिकाएको हाम्रो संस्कारले जसरी वर्तमान परिवेश सुसंस्कृति र सभ्य भएर अघि बढिरहेको छ । जुन कुरा परिस्कृत हुँदै वर्तमानमा सेवा र समर्पणमा आधारित कर्म भइरहेका छन् यी केवल वर्तमानको उपलब्धी मात्र होइन, भविष्य पनि यसरी नै चलिरहने सत्य हुन् । यो सत्यलाई नकार्नु भनेको आफै पतिततर्फ धकेलिनु हो ।
वर्तमानमा हामीले जे गर्छौ यसको पदचिन्ह पछिसम्म रहिरहन्छ । तसर्थ देख्दा सामान्य जस्तो लागे पनि भविष्य आफ्नो हो र आफूले नै बनाउनुपर्छ भन्ने हेक्का राखी क्षमता र कर्ममा परिस्कृतता देखाउनु परेको छ । मानवीय आचरण र संस्कृति भविष्यको उज्यालो जीवन भनी व्यवहार प्रदर्शन गर्नुपरेको छ । हाम्रो वर्तमान हाम्रो भविष्य भनी सबैको मन मस्तिष्कमा अमिट छाप पार्नु परेको छ । सत्कर्म नै धर्म हो, सेवाबाट नै मानिसले आफूलाई भविष्यको कर्णधार बनाएको हुन्छ ।
आदर्श व्यक्तित्वको रुपमा आफूलाई युगौ युगसम्म चिनारी दिएको हुन्छ । सामाजिक बनोटमा उसले पु¥याएको सहयोग र सद्भाव नै उसको आदर्श भएर भविष्यमा सुनौलो अक्षरमा परिचित बनेको हुन्छ । त्यसैले हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने वर्तमान हाम्रो हो जस्ता नाराका साथ सामाजिक सचेतना अभिवृद्धिको लागि हामी सबैको ध्यान केन्द्रित हुनु परेको छ ।
जीवनको वास्तविकता भनेकै भविष्यको लागि पदचिन्ह छोड्नु हो । यसको लागि सहयोग, सद्भाव त्याग र समर्पण साथै निरन्तरताको पनि आवश्यक परेको हुन्छ भनी हामी सबैले सबैलाई उत्प्रेरणा जगाउनु परेको छ । दुःख र पीडा सहेर पनि सामाजिक रुपमा आदर्शता न्यौछावर गर्न सबै प्रतिवद्ध हुनु परेको छ । यही कुरा मानव इतिहासले हामीलाई स्मरण गराइरहेको छ ।
जसरी मानव अस्तित्वले आफूलाई समर्पण गरेको हुन्छ त्यसरी नै सबै सामाजिक सचेतकले यसलाई पूर्णरुपमा पालन पनि गर्न त्यतिकै आवश्यक रहेको हुन्छ । युगको परिवर्तनसँगै समाज सुधारमा उल्लेखनीय योगदान पु¥याई सामाजिक सचेतक र आदर्श व्यक्तित्वको रुपमा वर्तमानमा समेत यसलाई परिचित गराउनुपर्ने हुन्छ । हाम्रो पुर्खाको इतिहास हेर्ने हो भने हामीले वर्तमानमा गरेको कर्म कस्तो हुनुपर्छ त्यो आफैले सोच्ने हो ।
साहित्यिक क्षेत्रमा भानुभक्त र लक्ष्मीप्रसाद देवकोटाले पु¥याएको अतुलनीय योगदान हामी सबैको सामुु छ । राज्य एकिकरण गरी राष्ट्रिय स्वाभिमान कायम गर्ने हाम्रा अग्रज र अमरसिंह थापालगायत जसलाई इतिहासले कहिले भुल्न सक्दैन त्यस्तो त इतिहास पनि हाम्रो सामु छ । पचास वर्ष अघिको नेपाल र वर्तमानको नेपालको रुपरेखा हामीलाई ताजै छ । युगको परिवर्तनसँगै आउने चुनौती र अवसरहरु पनि हामी आफैले निर्वाह गर्ने सत्य हामी सबैले महसुस पनि गरिरहेका छौँ ।
वर्तमानको त्यागले सुनौलो भविष्य निर्माण गर्नुपर्छ भन्ने हाम्रो धारणा पनि बलवान भएको हामी स्वयम्ले स्वीकारेका छौँ तर पनि क्षणिक स्वार्थ र भावावेशमा सामाजिक सांस्कृतिक, आर्थिक र राजनीतिक परिवेश नै बदलिने गरी हामीले कर्म गरिरहेका छौँ । राजनीतिक खिचातानीबाट समाज र संस्कारलाई चुनौती दिन खोजिरहेका छौँ ।
के यस्तो कर्म गर्नु भविष्यको लागि सार्थक हो ? के उचित मानिन्छ ? बिहान खाए बेलुका खान नपर्ने भए सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन किन चाहियो ? राजनीति र यसको पदचिन्ह टेक्दै अघि बढ्ने नेतृत्व किन चाहियो ? विकासको नाममा विनाश किन ? विनाश नै गर्ने हो भने राजनीति किन ? आफै बोक्सी, आफै धामी के यो नैतिकता हो र ?
तसर्थ वर्तमानले खोजेको सही र स्पष्ट दिसा निर्दिष्ट गरी भविष्यलाई आदर्शतर्फ उन्मुख गराउने कार्यमा हामी सबै किन एकबद्ध नहुने । नेपाल राज्यको सदनदेखि सडकसम्म छताछुल्ल भएको राजनीतिक तरलता र धन कमाउने होडमा बढेको विकृति प्रवृति हेर्दा हाम्रो भविष्य कहाली लाग्दो होला नहोला आफै सोचौँ । भोलिको भविष्य हामी आफैले बनाउनुपर्छ भन्ने सत्य हामीले कदापी बिर्सनु पनि हुँदैन ।
त्यसैले कमसेकम भोलिको लागि वर्तमान सेवा र कर्म गर्नुपर्ने होइन र ? हिजो दान दातव्य लिँदा र दिँदा जुन सहमति थियो त्यो बिर्सेर वर्तमानमा छिनाझप्टी गर्नु के औचित्य हो र ? क्षणिक आनन्दको अनुभूति गर्ने नाममा परिश्रम बिना करोडपति बन्न चाहनु यो कति सुहाउँदो विषय हो । मैले गरे के हुँदैन भनी धन, दौलतको मोहमा फसेर सोझा र इमान्दार मानव आत्मालाई धोका दिनु के त्यो पनि राम्रो आचरण हो र ?
यसले त मानिसले गरिने त्याग र समर्पणलाई पनि प्रश्न चिन्ह खडा गर्न पुगेन र ? यदि यस्तै परिस्थिति रहिरह्यो भने विश्वासको खडेरी नपर्ला भन्न सकिन्न । सेवा र समर्पणप्रति नै बक्रदृष्टि पर्न सक्छ । त्यसैले निष्पक्ष र पवित्र मनले सेवा र समर्पणमा हुने आत्म विश्वासलाई बलियो बनाउने तर्फ हाम्रो धारणा विकास हुनुपर्दछ ।
विश्वासको धरातललाई बलियो बनाउँदै भविष्यको लागि निस्वार्थ भएर मन, वचन र कर्मले आफूलाई परिचित बनाउनुपर्छ । हाम्रो मन स्वच्छ भए चरित्र पवित्र बन्छ र चरित्र पवित्र बने वातावरण स्वच्छ हुन्छ र वातावरण स्वच्छ र पवित्र भए हाम्रो भविष्य उज्ज्वल बन्छ । यस कुरालाई हामीले सदैव आत्मसात गर्नुपर्छ यो आजको आवश्यकता हो र अनिवार्य पनि छ । अस्तु ।