प्रिया स्मृती गजमेर
देउखुरी, २५ असार । लमही नगरपालिकामा विपन्न परिवारका घरमा निःशुल्क खानेपानीको धारा जडान गरिएको छ । लमही नगरपालिका–५ वडा कार्यालयले वडाभित्र रहेका अति विपन्न ११ घरधुरीलाई निःशुल्क रूपमा खानेपानीका धारा जडान गरिदिएको हो ।
दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका, पानीको पहुँचबाट टाढा रहेका परिवारलाई पानीको सुविधा पु¥याउने गरी धारा जडान गरेको छ । निःशुल्क जडान गरिएका धारा हस्तान्तरण गर्दै लमही नगरपालिका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले जीवनको महत्वपूर्ण आधारका रूपमा रहेको पानी सबै नागरिकको पहुँचमा पु¥याउन लमहीमा विपन्न परिवारका घरमा धारा जडान गरिएको बताइन् । ‘पानी जीवनको आधार हो ।
आधारभूत आवश्यकतामा पहुँच सुनिश्चितता गर्नु स्थानीय सरकारको पहिलो जिम्मेवारी हो’, उपप्रमुख योगीले भनिन्, ‘आज हामीले अति विपन्न परिवारलाई सुरक्षित र भरपर्दो खानेपानी सुविधा उपलब्ध गराउन सफल भएका छौँ, यो हामी सबैका लागि गर्वको विषय हो ।’ उनले स्थानीय सरकारको प्रयास सबै वर्गका नागरिक लाभान्वित हुने खालको हुनुपर्नेमा जोड दिइन । पछाडि पारिएका, विपन्न र जोखिममा रहेका समुदायलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नु नगरको लक्ष्य भएको उनले बताइन् ।
कार्यक्रममा लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले केही वडामा अझै खानेपानीको समस्या रहेको उल्लेख गर्दै ती वडामा प्राथमिकताका साथ खानेपानी सेवा विस्तार गरिने जानकारी दिए । वडास्तरीय योजना निर्माण र कार्यान्वयनमा पारदर्शिता, समावेशिता र जनउत्तरदायी आवश्यक रहेको उल्लेख गर्दै देवकोटाले लक्षित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने योजना प्राथमिकतामा राखिने बताए ।
लमही–५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले वडाको आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी खानेपानी सेवा विस्तार गरिएको जानकारी दिए । उनका अनुसार विनबहादुर केसी वडाध्यक्ष भएको समयमा करिब ३१ घरधुरीलाई निःशुल्क धारा जडान गरिएको थियो । निःशुल्क धारा प्राप्त गर्ने घरपरिवारमा लमही गल्लीका रमेश चौधरी, कृष्णप्रसाद चौधरी, लमही बजारकी सुनिता बुढाथोकी, आनन्दनगरकी जानुका वैदिक, दुखीराम चौधरी, कोलहीका दिलबहादुर चौधरी, फिर्ताकुमारी चौधरी, गोरक्ष टोलकी सरिता चौधरी, न्युरोडकी कुवारी केसी, बयलडाँडाका चैतु चौधरी र सुनखोलीका मोहम्मद अमिर रङग्रेज रहेका छन् ।