कृषिमा सुधार आवश्यक : मन्त्री पन्थी

प्रिया स्मृती गजमेर
देउखुरी, २४ असार । लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषिमा देखा परेका समस्याहरूको समाधान खोज्न मन्त्रालय जुटिरहेको बताएका छन् ।

लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजना तथा सञ्चारिका समूह लुम्बिनी प्रदेशको सहकार्यमा सञ्चारकर्मीसँग सोमवार भएको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पन्थीले कृषिमा देखिएका समस्या समाधानका लागि लागिरहेको बताएका हुन । पछिल्ला वर्षहरूमा खेतबारीमा उत्पादन घटिरहेको भन्दै उत्पादनलाई बढाउने गरि लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रदेश सरकारले कृषिमा अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याएको भन्दै किसानलाई आत्मनिर्भर बनाउन र आम्दानीको बाटो खोल्ने काम भइरहेको बताए । मन्त्री पन्थीले भने,‘थोरै मानिसले कृषि गरेर आफ्नो परिवार पाल्न र बिक्रीमार्फत आम्दानी गर्न सफल भएका छन्, तर धेरै मानिस अहिलेपनि जोडिन सकेका छैनन् । सवैलाई कृषिमा जोड्ने गरि लाग्नुपर्छ ।’ प्रदेश सरकारले सात वर्षयता भएका राम्रा कार्यक्रमको निरन्तरतामा जोड दिएको र स्रोत अभावका कारण केही कार्यक्रम अघि बढ्न नसकेको मन्त्री पन्थीले बताएका थिए ।

मन्त्री पन्थीले सञ्चारकर्मीलाई कृषिमा भएका कामबारे खोजी गर्दै राम्रो कामको सकारात्मक र खराव कामलाई सच्याउने गरि लेखेर सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा उपलब्धिको बारेका मन्त्रालयका बाली संरक्षण निर्देशक घनश्याम चौधरीले प्रकाश पारेका थिए ।
कृषि मन्त्रालयका सचिव यामनारायण देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले विषय प्रवेश गराएकी थिइन ।