विद्युत जडान नहुँदा गाउँमा बत्ती बाल्न समस्या

हिमाल महरा
दाङ, २४ असार । दाङमा भौगोलिक रूपमा विकट पालिका रूपमा परिचित बंगलाचुली गाउँपालिका पछिल्लो समय विकासका पूर्वाधारसँग जोडिँदै गएको छ । विकासका आधारभूत आवश्यकताका रूपमा रहेका सडक, विद्युत, खानेपानी, सञ्चारलगायतका पूर्वाधारले जोडिँदा स्थानीयलाई सहज बन्दै गए तापनि विद्युत सेवा अधिकांश बस्तीसम्म अझै पुग्न सकेको छैन ।

विद्युत सेवा नपुग्दा अहिले पनि कतिपय गाउँ मट्टी तेल बालेर उज्यालो र सोलारको प्रयोग गरेर बत्ती बाल्न बाध्य छन् । बंगलाचुली गाउँपालिका वडा नं. ७ अन्तर्गतका जामुने, हल्दे र बगरखुट्टी गाउँले अझै विद्युतको उज्यालो पाएका छैनन् । विद्युत विस्तारका लागि गाउँमा करिब ६ महिना अघि पोल गाडेर तार तानिसकिए पनि मुख्य लाइनको विद्युत जडान नगरिएकाले बंगलाचुली गाउँपालिका वडा नं. ७ अन्तर्गतका जामुने, हल्दे र बगरखुटीका ५० घरधुरीले विद्युतको उज्योलो पाएका छैनन् ।

विद्युत विस्तारका लागि राप्ती गाउँपालिका–९ घुमाउने गाउँबाट विद्युत जडान गर्नुपर्ने भए पनि घुमाउने गाउँका स्थानीयले मुख्य लाइनको विद्युत जडानका लागि विरोध गरेपछि बंगलाचुलीका तीन गाउँ अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको स्थानीय तिलबहादुर सारु मगर बताउँछन् ।
गाउँमा विद्युत विस्तारका लागि पोलमा तार तानिसकेपछि ती तीन बस्तीका स्थानीयले घरमा वायरिङ गरेर मिटर समेत ल्याइसकेको सारु मगर बताउँछन् । उनका अनुसार पोलमा तानिएको तारमा मुख्य लाइन जडान नभएपछि भने स्थानीय विद्युत बत्ती बाल्न पाएका छैनन् ।

सारु मगर भन्छन्, ‘गाउँमा विद्युत विस्तार गर्न स्थानीय तयारी अवस्थामा छन् तर विद्युत घरघरमा पु¥याउन मुख्य लाइन जडानमै समस्या भएको छ । छिमेकी गाउँलेले विरोध गरेपछि तीन गाउँ अन्धकारमै बस्नुपर्ने बाध्यता रहेको सारु मगर बताउँछन् । बंगलाचुली गाउँपालिका अन्तर्गत पर्ने जामुने, हल्दे र बगरखुटी गाउँमा विद्युत जडानका लागि विद्युत कार्यालय घोराहीबाट प्राविधिक टोली पुगेपछि राप्ती गाउँपालिका–९ स्थित घुमाउने गाउँका केही स्थानीयले अवरोध गरेपछि विद्युत जडान हुन सकेको छैन ।

बंगलाचुली गाउँपालिका अन्तर्गत पर्ने जामुने, हल्दे र बगरखुट्टी गाउँमा विद्युत लाइन जडानका लागि घुमाउने गाउँमा १०० केभीको ट्रान्सफर्मर राख्नु पर्ने अथवा छुट्टै ५० मिटरको ट्रान्सफर्मर राख्नु पर्ने राप्ती गाउँपालिका–७ का वडा सदस्य ददिबहादुर बराल बताउँछन् । अहिले गाउँमा राखिएको ५० केभी क्षमताकै ट्रान्सफर्मरबाट विद्युत जडान गर्दा भोल्टेज घट्ने र त्यसको असर स्थानीयले भोग्नु पर्ने भएकाले स्थानीयले विद्युत जोड्न नदिएको उनी बताउँछन् । यता घोराही विद्युत वितरण केन्द्रका सबइन्जिनियर दीपक बुढाथोकीले भने अहिले भएकै ट्रान्सफर्मरबाट विद्युत विस्तार गर्न सकिने बताउँछन् ।

५० केभी क्षमता भएको ट्रान्सफर्मरले दुवै गाउँमा सहज रूपमा भोल्टेज पु¥याउन सकिने भएकाले घुमाउने गाउँबाट विद्युत जडान गरेर जामुने, हल्दे र बगरखुटीमा विद्युत पु¥याउँदा कुनै समस्या नहुने बताउँछन् ।गाउँमा विद्युत पोल गाडेर तार तानिसक्दा पनि बत्ती बाल्न लाइन विस्तारमा अवरोध हुनु दुःखद अवस्था भएको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी बताउँछन् । गाउँमा विद्युत पु¥याएर स्थानीयलाई बत्ती बाल्ने अवस्था मिलाउन गाउँपालिकाको तर्फबाट आफूले पहल गरिरहेको बताएका छन् ।