विपद्मा प्रारम्भिक द्रुत लेखाजोखा महत्वपूर्ण

प्रकाश डाँगी
भालुबाङ, २४ असार । कुनै पनि विपद्बाट प्रभावित हुने नागरिकलाई तत्काल उपलब्ध गराउने मानवीय सहायता कार्य प्रभावकारी रूपमा प्रवाह गर्न सरोकारवालाले विशेष ख्याल पु¥याउन आवश्यक रहेको कार्यक्रमका सहभागीले बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी सुपर परियोजनाको प्राविधिक सहयोगमा भालुबाङमा भएको तीनदिने प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन तथा मुलभूत मानवीय मापदण्ड कार्यशालामा बोल्ने वक्ताले यस्तो बताएका हुन् । उनीहरूले यो वर्षको मनसुन आँकलन अनुसार बाढीजन्य विपद्का कारण देशका विभिन्न स्थानसँगै लुम्बिनी प्रदेशका जिल्लामा समेत बाढी र पहिरोका कारण विगतका वर्षभन्दा थप प्रभावित हुने देखिएकाले कार्यशाला प्रभावकारी बन्ने बताएका थिए ।

यो वर्षको मनसुनले पार्ने प्रभाव र त्यसले पु¥याउन सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै विपद्बाट लुम्बिनीमा प्रभावित बन्न सक्ने आम नागरिकलाई समयमै राहात, उद्दार तथा मानवीय सहायता कार्यलाई प्रभावकारी बनाउन तीनदिने कार्यशाला फलदायी बन्ने बताएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गतका सम्पूर्ण मन्त्रालयका विपद सम्पर्क व्यक्ति एवम् प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटीलगायतका प्रतिनिधिको सहभागिता रहेको छ ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशका सचिव लोकबहादुर सुनारले विपद् पूर्व तयारी तथा व्यवस्थापनका लागि प्रदेशबाट विभिन्न कार्य तथा योजना सञ्चालान भइरहेको बताए । यो वर्षको मनसुन पूर्वानुमानका आधारमा प्रदेश सरकारले विभिन्न नीतिगत कार्यको अद्यावधिकसँगै प्रदेशभित्र रहेका जिल्ला, स्थानीय तह तथा सरोकारवाला निकायसँग रहेको स्रोत र साधनको पहिचान भइरहेको र विपद्को समयमा प्रतिकार्यको लागि प्रदेश सरकार समन्वात्मक भूमिका खेल्न तयार रहेको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका प्रदेश अध्यक्ष लालप्रसाद पङ्गेनीले मनसुनलाई मध्यनजर गरी विपद्पश्चात क्षतिको आँकलन र विपद्बाट प्रभावितलाई तत्काल स्थान्तरण, राहात र उद्धारका लागि प्रारम्भिक द्रुत लेखाजोखाका आधारमा कार्य सञ्चालन गर्नुका साथै प्रतिकार्य गर्न सहज हुने बताए । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा प्रारम्भिक द्रुत लेखाजोखा, सूचना व्यवस्थापन तथा मुलभूत मानवीय मापदण्ड विषयमा छलफल हुनेछ ।

कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशका सचिव लोकबहादुर सुनारको अध्यक्षतामा भएको थियो । कार्यक्रम सहजकर्तामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय विपद् व्यवस्थापन विभागका शेरबहादुर कार्की र अजन्ता ढकाल रहेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कृष्णप्रसाद नेपालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लुम्बिनी प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका विजयसिंह ठकुरीले गरेका थिए ।