मोबाइल र भावनात्मक अलमल, प्रारम्भिक किशोरावस्थाका चुनौती

किरण थापा

आजको विज्ञान र प्रविधिको युगमा मोबाइल फोन मानवीय जीवनको अत्यावश्यक अङ्गजस्तै बनिसकेको छ ।
सञ्चार, जानकारी, शिक्षा तथा मनोरञ्जनका लागि मोबाइल फोन अपरिहार्य जस्तो देखिए तापनि यसको अत्यधिक प्रयोगले विशेष गरी किशोरकिशोरीहरुमा भावनात्मक असन्तुलन ल्याउने सम्भावना उच्च रहेको छ । विशेषतः प्रारम्भिक किशोरावस्थाका बालबालिकामा यसको प्रभाव झनै गम्भीर देखिन्छ ।

प्रारम्भिक किशोरावस्था र प्रविधिको प्रवेश प्रारम्भिक किशोरावस्था मानिसको जीवनको एक संवेदनशील र निर्णायक चरण हो । यस समयमा बालबालिकाको शारीरिक, मानसिक, र भावनात्मक विकास तीव्र गतिमा भइरहेको हुन्छ । यस्तै चरणमा प्रविधि, विशेषतः मोबाइल फोनको सहज पहुँचले उनीहरुको स्वभाव, भावना, व्यवहार तथा सामाजिक सम्बन्धहरुमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।

मोबाइल प्रयोगको वर्तमान अवस्था नेपाल टेलिकम प्राधिकरणको २०८० सालको प्रतिवेदन अनुसार, देशभर करिब ४ करोड ४० लाखभन्दा बढी मोबाइल प्रयोगकर्ता छन् । तीमध्ये ठूलो संख्यामा किशोरवय समूहका बालबालिका पनि समावेश छन् ।

युनिसेफ नेपालका अनुसार, १२ देखि १६ वर्षका करिब ६५% किशोरकिशोरीहरु दैनिक ३ घण्टा भन्दा बढी मोबाइल प्रयोग गर्छन् । पहिला–पहिला साथीभाइसँग विभिन्न खेल खेल्न तथा परिवारका सदस्यसँग बसेर रमाउन चाहने किशोरकिशोरी तथा बालबालिकामा अत्यधिक मोबाइल फोनको प्रयोगले उनीहरुमा मोबाइल फोनबाहेक अन्त ध्यान नहुँदा समस्या हुन थालेको हो ।

घरभित्रै रहे पनि जुनसुकै समयमा मोबाइल चलाइरहने, इन्टरनेटमा गेम तथा सामाजिक सञ्जालको एकोहोरो प्रयोग गरिरहने, कसैले बोलाए झर्किने तथा झोक्राउने गरेका कारण उनमा चिन्ता थपिएको हो ।

लगातार मोबाइलको प्रयोगले तनाव, चिन्ता तथा बेचैनी, उदासीनता, निद्राको समस्या, थकान महसुस हुनु, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने, ध्यान केन्द्रित गर्न समस्या हुनेलगायतका मानसिक लक्षण देखापर्ने मनोविद्सीता भण्डारीको भनाइ छ ।

साइको थेरापिष्ट डा. माइकल रुबिनोले एमआरआई गर्दा इन्टरनेटले दिमागमा नराम्रो प्रभाव पार्ने देखिएको, इन्टरनेट लतका रुपमा बस्न सक्ने, अनलाइनको दुनियाँमा रमाउँदै गर्दा साँच्चिकै दुनियाँमा रमाउन नसक्ने, एकदम असामाजिक हुने, नकारात्मक कुरा सिक्न सक्ने, इन्टरनेटका कारणले पनि धेरै आत्महत्या भएका देखिएका उल्लेख गरेका छन् ।

बालबालिका र इन्टरनेटबारेको एक लेखमा उनले इन्टरनेटको प्रयोगले दैनिक कार्य र निद्रामा प्रभाव पार्ने, निद्रा नलाग्ने जस्ता समस्याहरु पनि हुने उल्लेख गरेका छन् ।

साइको थेरापिस्ट डा. रुबिनो जस्तै अनुभव कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक डा. अरुण कुँवरको पनि छ । इन्टरनेट र स्मार्टफोनहरु अहिलेको समयमा किशोर–किशोरी र बालबालिकामा लतका रुपमा देखिन थालेका उल्लेख गर्दै उनी भन्छन्, एडिक्सन हुनेबित्तिकै बालबालिकाले आफ्ना अन्य कामहरु छाड्न थाल्छन् ।

मानसिक रोगजस्तै भएकाले यसले आफ्नो क्रियाशीलता पनि घटाउँदै जान्छ । पढ्न, सामाजिक अन्तरक्रिया गर्न छाड्छ, जसले उसको वृद्धि विकासमा त असर गर्छ नै, सामाजिक विकासलाई पनि प्रभावित पार्न थाल्छ, सिर्जनशीलता मर्छ । यही कारण धेरै बालबालिकामा एन्जाइटी, डिप्रेसनजस्ता समस्याहरु देखिन थाल्छन् ।

डा. कुँवर यसले बालबालिकाको मानसिक पक्षमा मात्रै होइन्, शारीरिक पक्षमा पनि उत्तिकै प्रभाव पारिरहेको छ । उनका अनुसार एकै ठाउँमा बसेर ग्याजेट र इन्टरनेटमै भुलिने भएकाले अहिलेका बालबालिकामा मोटोपनजस्ता शारीरिक समस्याहरु बढिरहेका छन् ।

डा. रुबिनो र डा. कुवँरमात्रै होइन, विगत ५ वर्षदेखि मनोपरामर्शमा सक्रिय मनोविद् रामपुकार साह इन्टरनेट, सामाजिक सन्जाल र इलेक्ट्रोनिक्स डिभाइसमा बढी समय बिताउने बालबालिकाहरुमा सोसियो एन्जाइटी’ बढी पाइएको बताउँछन् । डर, चिन्ता, तनाव हुँदो रहेछ ।

बढी समय इन्टरनेटमा बिताउँदा आत्तिने, डर, तनाव चिन्ता, निद्रा नलाग्नेजस्ता कुराहरु बढ्छन् । मोबाइल, टिभीमा आउने ब्लू रेजहरुमा ऊर्जा हुन्छ, त्यसले निद्रा कम गर्छ ।’ स्कुलहरुमा किशोर–किशोरी र बालबालिकालाई मनोपरामर्शका कामहरु गरिरहेकी मनोपरामर्शदाता ग्रीष्मा पनेहरु इन्टरनेटले उनीहरुमा एकाग्रतादेखि रिलेसनसम्मलाई प्रभावित पारिरहेको बताउँछिन् ।

अवस्था यस्तो पनि देखें कि कतिपय किशोर–किशोरीहरु पब्जीका साथीहरुसँग मात्रै कुराकानी गर्ने रहेछन्, उनी भन्छिन् । इन्टरनेटमा धेरै समय बिताउने बालवालिकाका सोच, भावना र व्यवहार परिवर्तन तीन पक्षमा केन्द्रित गरेर मनोविद्हरुले अध्ययन गर्दै आएका छन् ।

जसमा इन्टरनेट र ग्याजेटमा बढी समय बिताउनेहरुमा सोचमा–धैर्यता नहुने, कुर्न नसक्ने, चाँडै धैर्यता टुट्ने, नयाँ कुरा नसिक्ने, भावनात्मक–नियन्त्रण नहुने, चाँडै झर्किने र झगडा गर्ने र व्यावहारिक– भनेको कुरा नमान्ने, खोजेको कुरा तुरुन्तै चाहिने, भनेको जस्तो हुनुपर्ने जस्ता विशेषता भेटिन्छन् ।

यसले कालान्तरमा परिवर्तनशील मनस्थितिमा हुने हुन्छ, एकछिनै हाँस्ने, एकछिनमै रुने पनि हुनसक्छ । यसले कालान्तरमा व्यक्तित्वमा विकार पनि ल्याउन सम्भावना पनि उत्तिकै देखिन्छ । मोबाइलको प्रयोग आफैंमा नराम्रो होइन, तर नेपालमा किशोर–किशोरीहरुले मोबाइलमा बिताइरहेको समय अत्यन्तै चिन्ताजनक बन्दै गएको छ ।

हामी सबैलाई थाहा छ कि किशोरहरु देशको भविष्य हुन्, त्यसैले उनीहरुको मानसिक, शैक्षिक र सामाजिक विकासमा बाधा पुग्ने गरी मोबाइलको दुरुपयोग हुनु गम्भीर विषय हो । यसैले हाम्रो देशका नेताहरुले यस समस्यालाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । उनीहरुले समयमै उचित नीति निर्माण गर्नुपर्छ र मोबाइल प्रयोगलाई सन्तुलित बनाउने प्रभावकारी संयन्त्र तयार गर्नुपर्छ, जसले किशोरहरुको उज्ज्वल भविष्य सुनिश्चित गर्न मद्दत गर्छ ।

स्थानीय निकायहरुले निम्न उपायहरु अपनाएर योगदान गर्न सक्दछन् 

१. स्थानीय नीति निर्माण 

स्थानीय सरकारले विद्यालय, सामुदायिक केन्द्र र सार्वजनिक स्थानहरुमा मोबाइल प्रयोग सम्बन्धी स्पष्ट नियम र निर्देशिका तयार गर्न सक्छ । यसले किशोरहरुमा अनुशासन र जिम्मेवारीको भावना जगाउन मद्दत पु¥याउँछ र मोबाइलको दुरुपयोगलाई कम गर्न प्रभावकारी वातावरण बनाउँछ ।

२. सचेतना अभिवृद्धि कार्यक्रम 

मोबाइलको अत्यधिक प्रयोगबाट हुने मानसिक, शारीरिक र सामाजिक असरबारे जनचेतना फैलाउन स्थानीय तहले विभिन्न कार्यशाला, अभिभावक तथा किशोर लक्षित गोष्ठी, सूचना सामग्री, पोस्टर, तथा नाटकजस्ता कार्यक्रम सञ्चालन गर्न सक्छ । यस्ता कार्यक्रमले मोबाइलको दुरुपयोगबारे चेतना दिनुका साथै, सुरक्षित र सन्तुलित प्रयोग गर्न प्रेरित गर्ने वातावरण निर्माण गर्छ ।

३. वैकल्पिक गतिविधिहरुको प्रवर्धन 

नेपालमा किशोरहरु मोबाइलमा अत्यधिक निर्भर भइरहेका बेला उनीहरुलाई सकारात्मक दिशातर्फ मोड्न वैकल्पिक गतिविधिको प्रवर्धन आवश्यक छ ।

स्थानीय तहहरुले खेलकुद प्रतियोगिता, चित्रकला, नृत्य, संगीतजस्ता सिर्जनात्मक कार्यशाला, स्थानीय सांस्कृतिक कार्यक्रमहरु, सार्वजनिक पुस्तकालय, तथा युवा क्लबहरुको स्थापना र सञ्चालन गरेर किशोरहरुलाई मोबाइलबाहेकका रचनात्मक र सामाजिक गतिविधिमा संलग्न गराउन सक्नेछन् ।

यस्ता गतिविधिले उनीहरुको आत्मविश्वास, समूहमा काम गर्ने क्षमता, र भावनात्मक सन्तुलन विकासमा सहयोग पु¥याउँछ, जसले दीर्घकालीन रुपमा स्वस्थ र जिम्मेवार नागरिक निर्माणमा टेवा पु¥याउँछ ।

४. विद्यालयहरुसँग सहकार्य 

स्थानीय सरकारको पहलमा विद्यालयहरुसँग मिलेर मोबाइल प्रयोगबारे स्पष्ट र व्यावहारिक नीति तयार गर्नुपर्छ । यस अन्तर्गत कक्षा सञ्चालन भइरहँदा मोबाइल प्रयोग पूर्ण रुपमा निषेध गरिनेछ, र आवश्यक परेमा केवल शैक्षिक प्रयोजनका लागि मात्र प्रयोग गर्न दिने व्यवस्था गरिनेछ ।

यस्ता नीतिहरुको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न विद्यालयभित्रै अनुगमन टोली गठन गरिनेछ, जसले नियमित रुपमा मोबाइल प्रयोगको अनुगमन र आवश्यक कारबाहीको व्यवस्था गर्नेछ ।

५. परामर्श तथा मानसिक स्वास्थ्य सेवा 

नेपालमा किशोरहरु मानसिक तनाव, चाप, सामाजिक दबाब र मोबाइलको दुरुपयोगबाट उत्पन्न समस्याबाट प्रभावित हुँदै गइरहेका छन् । यस्तो अवस्थामा स्थानीय तहले विद्यालयहरु, स्वास्थ्य चौकी तथा समुदायसँग समन्वय गरेर किशोरहरुलाई लक्षित गरी निःशुल्क परामर्श सेवा, सामूहिक थेरापी सत्र र मनोवैज्ञानिक सहयोग कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।

यस्ता सेवाले उनीहरुलाई आफ्नो भावना खुलेर अभिव्यक्त गर्न, आत्मविश्वास बढाउन र मानसिक सन्तुलन कायम राख्न सहयोग पु¥याउँछ । नेपालको संघीय प्रणालीअन्तर्गत स्थानीय तहलाई यस्ता कार्यक्रम सञ्चालन गर्न नीति निर्माणदेखि बजेट विनियोजनसम्मको अधिकार प्राप्त भएकाले यस क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न सक्नेछ ।

६. युवा क्लब र सामुदायिक गतिविधि प्रवर्धन

किशोरहरुलाई मोबाइलको लतबाट जोगाउन स्थानीय तहले खेलकुद, चित्रकला, संगीत, नृत्यजस्ता सिर्जनात्मक कार्यक्रमहरु, पुस्तकालय र युवा क्लबहरुको स्थापना तथा सञ्चालन गर्न सक्छ ।

साथै, स्वयम्सेवक कार्यमार्फत उनीहरुलाई सामाजिक सेवामा संलग्न गराउने व्यवस्था मिलाउन सकिन्छ । यस्ता गतिविधिले किशोरहरुलाई आफ्नो क्षमता विकास गर्न, सकारात्मक सोच बनाउन र समयको सही उपयोग गर्न सहयोग गर्छ, जसले उनीहरुलाई मानसिक रुपमा सशक्त र सामाजिक रुपमा उत्तरदायी बनाउँछ ।

७. प्रहरी र सामाजिक संस्थासँग सहकार्य

मोबाइलको दुरुपयोगसँग जोडिएका साइबर अपराध र अनलाइन हिंसा नियन्त्रण गर्न स्थानीय तहले प्रहरी र सामाजिक संस्थासँग सहकार्य गर्न आवश्यक छ ।

यस्ता सहकार्यबाट साइबर सुरक्षाबारे जनचेतना फैलाउने, किशोरहरुलाई सुरक्षित इन्टरनेट प्रयोगबारे प्रशिक्षण दिने, र आपतकालीन अवस्थामा आवश्यक सहयोग उपलब्ध गराउने वातावरण निर्माण गर्न सकिन्छ ।

यदि यसलाई समयमा नियन्त्रण गरिएन भने भविष्यमा गम्भीर मानसिक समस्याहरु, सामाजिक एक्लोपन व्यवहारजन्य चुनौतीहरु बढ्ने खतरा हुन्छ । र यसरी स्थानीय निकायहरुले नीतिगत, शैक्षिक र सामाजिक कार्यक्रमहरुको माध्यमबाट मोबाइलको दुरुपयोग रोकथाम र नियन्त्रणमा महङ्खवपूर्ण भूमिका खेल्न सक्छन् ।

(लेखक गैर सरकारी संस्था सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूहका कार्यकारी निर्देशक हुन्) ।