गोरक्ष समाचारदाता
दाङ, २४ असार । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले लागूऔषध दुव्र्यसनलाई नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो औल्याएका छन् ।
निर्णय पुनःथापना केन्द्र घोराही–१७ कर्जाहीले गृहमन्त्रालय लागूऔषध नियन्त्रण शाखाको सहयोगमा आयोजना गरेको पूर्व लागूऔषध प्रयोगकर्तालाई कपाल काट्ने तालिम उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नगर प्रमुख चौधरीले दिनानुदिन गम्भीर बन्दै गइरहेका लागूऔषधे दुव्र्यसनीलाई नियन्त्रण गर्न साझा प्रयासको खाँचो औल्याए । लागूऔषधको बढ्दो प्रयोगले युवा पुस्ता मात्र नभई समाजलाई असर गरिरहेको भन्दै नियन्त्रणका लागि तीनवटै सरकार, समुदाय, अभिभावक, शैक्षिक संस्था तथा सुरक्षा निकाय एवम् पुनःस्थापना केन्द्रहरूको संयुक्त प्रयास अपरिहार्य रहेको उल्लेख गरे ।
‘लागूऔषध दुव्र्यसन कुनै व्यक्तिगत समस्या होइन, यो सामूहिक चिन्ताको विषय हो’, नगर प्रमुख चौधरीले भने । यसको रोकथाम र नियन्त्रणका लागि हामी सबैले आआफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक भूमिका खेल्नु पर्ने उनले बताएका थिए ।
घोराही उपमहानगरपालिका भित्रका विभिन्न विद्यालय, युवा समूह, सामुदायिक संस्था तथा आम नागरिकसँग समन्वय गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । उनले पछिल्लो समय विद्यालय तहमै लागूऔषधको पहुँच देखिन थालेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
उनले भने, ‘हामीले अहिले नै सचेत र सक्रिय कदम नचाले हाम्रो भविष्यवाणी पुस्ता जोखिममा पर्नेछ ।’ कानूनी कारबाहीले मात्र दीर्घकालीन समाधान नहुने भन्दै उनले परिवार, विद्यालय र समाजभित्र सकारात्मक वातावरण निर्माण गर्दै मानसिक रूपमै नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुपर्नेमा जोड दिए ।
दुव्र्यसनमा फसेका युवालाई समाजबाट टाढा राख्ने नभई उनीहरूलाई जीवनको महत्व बुझाउने र व्यावसायिक ज्ञान, सिप दिएर श्रम गरेर बाँच्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । भरतमणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १७ का अध्यक्ष रामलौटन चौधरीले युवाको सिर्जनशीलता र ऊर्जालाई सही दिशातर्फ मोड्न खेलकुद, सिप विकास तालिम, रोजगारीमूलक कार्यक्रम जस्ता सकारात्मक गतिविधिमा आकर्षित गराउन लागिपरेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसी, जिल्ला प्रशासन कार्यालयका विश्वदेव खड्का, केन्द्रका सल्लाहकार मधुमालती अधिकारीले लागूऔषध दुव्र्यसन विरुद्ध एकजुट भएर सबै लाग्नुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण केन्द्रका उपाध्यक्ष विष्णु वलीले गरेका थिए । पूर्व लागूऔषध प्रयोगकर्तालाई केन्द्रले १५ दिनसम्म कपाल काट्ने तालिम सञ्चालन गर्नेछ ।