Goraksha

National Daily

स्टिम एजुकेशन र नेपालको विद्यालय प्रणाली : अन्तरदृष्टि, अन्तरविरोध र आवश्यक्ता

यादव गिरी

२१औँ शताब्दीको शिक्षाको मूल मन्त्र बनिसकेको छ, स्टिम एजुकेशन । यसको अर्थ हो : विज्ञान, प्रविधि, अभियान्त्रिकी र गणित यी चारवटा विषयलाई एकीकृत तरिकाले सिकाउने र व्यवहारमा उतार्ने शिक्षा पद्धति हो ।

आधुनिक समाजमा आवश्यक पर्ने समाधानमुखी सोच, अनुसन्धान र नवप्रवर्तनका आधारशिला यही शिक्षाले निर्माण गर्छ । तर नेपालको विद्यालय प्रणालीमा स्टिम शिक्षा के कति मात्रामा समाहित भएको छ ? हामीले यसलाई बुझ्न अन्तरदृष्टि र अन्तरविरोध दुवै तहमा गहिरिएर विश्लेषण गर्नु आवश्यक छ ।

स्टिम शिक्षा केवल विषयगत ज्ञानको परिधिभित्र सीमित रहँदैन :

यो शिक्षाको रुपान्तरणशील दृष्टिकोण हो, जसले विज्ञान, प्रविधि, अभियान्त्रिकी र गणितलाई एकीकृत गर्दै विद्यार्थीको बहुआयामिक सीप र सोचको विकासमा जोड दिन्छ । यसले तर्कात्मक चिन्तन, अनुसन्धान प्रवृति र समस्या समाधान गर्ने दक्षता निर्माण गर्न सहयोग पु¥याउँछ ।

आजको विद्यार्थी भोलिको वैज्ञानिक, अभियन्ता, उद्यमी वा सामाजिक रुपान्तरणकर्ता बन्न सक्छ भन्ने तथ्यलाई आत्मसात गर्दै, स्टिम शिक्षाले प्रारम्भिक तहमै व्यवहारमुखी सिकाइमार्फत् उनीहरुको जिज्ञासा, अन्वेषण र नवप्रवर्तनको क्षमतालाई सशक्त बनाउँछ ।

स्टिम शिक्षाको मूल विशेषता भनेको परम्परागत विषयगत विभाजनलाई तोड्दै आपसमा सम्बन्धित तरिकाले विषयवस्तुलाई प्रस्तुत गर्नु हो । यसले विद्यार्थीलाई ‘के सिक्नेु मात्र होइन, ‘कसरी सिक्नु भन्ने गहिरो अनुभूति प्रदान गर्छ ।

सिर्जनात्मक सोच, आलोचनात्मक दृष्टिकोण, सहकार्यमा आधारित कार्यदक्षता र प्रयोगात्मक अनुभूतिमा आधारित सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्ने यसको क्षमता नै कारण हो, जसले गर्दा विश्वका धेरै मुलुकहरुले स्टिम शिक्षालाई राष्ट्रिय पाठ्यक्रमको मेरुदण्डका रुपमा स्वीकार गरेका छन् ।

विद्यालय शिक्षा प्रणालीको यथार्थ

नेपालको विद्यालय शिक्षामा पछिल्ला केही दशकयता सुधारका संकेतहरु देखिए तापनि, प्रणालीगत तहमा अझै गहिरा चुनौतीहरु कायमै छन् । शिक्षण–शिक्षण प्रक्रिया अझै पनि पाठ्यपुस्तकमै केन्द्रित छ, जहाँ विद्यार्थीलाई पाठकण्ठ पार्ने शैलीबाट बाहिर निकाल्ने प्रयास न्यून छ ।

शिक्षाको उद्देश्य केवल जानकारी दिने नभई जीवनोपयोगी सीप र व्यवहारिक दक्षता विकास गर्ने हो भन्ने तथ्यलाई विद्यालय प्रणालीले अझै आत्मसात गर्न सकेको छैन ।

हामीकहाँ मूल्याङ्कन प्रणाली पनि परीक्षामुखी र अंककेन्द्रित छ, जसले विद्यार्थीको समग्र विकासको ख्याल गर्न सकेको छैन । कक्षाकोठामा सिकाइभन्दा अंकमा सफलता प्राप्त गर्ने होडले सिर्जनात्मकता, अनुसन्धान प्रवृति र आलोचनात्मक सोचलाई ओझेलमा पारिदिएको छ । विज्ञान, गणित वा प्रविधिजस्ता विषयहरु पढाइने भए तापनि, ती विषयहरुमा व्यवहारिक प्रयोग र अन्तः सम्बन्धित प्रस्तुति अत्यन्तै सीमित देखिन्छ ।

शिक्षण प्रक्रियामा प्रविधिको पहुँच अत्यन्त सीमित छ, विशेषतः ग्रामीण क्षेत्रका विद्यालयहरुमा । कतिपय विद्यालयमा प्रयोगशालाको आधारभूत पूर्वाधार समेत छैन : कम्प्युटर शिक्षालाई अझै पनि ‘Paint’ वा ‘MsWord ’ कध्यचम ’ को सीमित अभ्यासमा खुम्च्याइएको छ । यस्ता अवस्थाले विद्यार्थीको अन्वेषणशीलता र नवप्रवर्तनशील क्षमतामा अवरोध खडा गर्छ, जुन स्टिम शिक्षाको आत्मा हो । त्यसमाथि, शिक्षकहरुको तयारी पनि आधुनिक शिक्षण–शिक्षण अवधारणासँग सुसंगत छैन । धेरैजसो शिक्षकहरु अझै परम्परागत शिक्षण पद्धतिमा सीमित छन्, जहाँ एकतर्फी व्याख्यान र पाठ्यपुस्तकमा आधारित पाठन नै प्रधान हुन्छ ।

सीमित स्रोत, कमजोर तालिम प्रणाली र नीतिगत अस्पष्टताले गर्दा स्टिम शिक्षाको कार्यान्वयन व्यवहारमा होइन, केवल कागजी दस्तावेजमा सीमित भइरहन्छ । यस्तो अवस्थाले नेपालमा स्टिम शिक्षाको प्रभावकारी विस्तारमा गम्भीर अवरोध उत्पन्न गरिरहेको छ ।

यद्यपि नेपालको विद्यालय शिक्षामा प्रणालीगत समस्याहरु गहिरो छन्, केही सकारात्मक प्रयासहरु पनि देखिन थालेका छन्, जसले आगामी दिनमा स्टिम शिक्षाको सम्भावना उज्यालो बनाउने संकेत गर्छ । नीति निर्माणदेखि प्रयोगात्मक पहलसम्म थोरै भए पनि गतिशीलता आएको देखिन्छ । यी प्रयासहरु अझै प्रारम्भिक चरणमै छन्, तर सही दिशातर्फको कदम मान्न सकिन्छ ।

अन्तरदृष्टि : प्रयास र पहल

पाठ्यक्रमको सन्दर्भमा, राष्ट्रिय पाठ्यक्रम रुपरेखा २०७६ ले शिक्षालाई जीवनोपयोगी, सीपमूलक र नवप्रवर्तनशील बनाउनुपर्ने धारणा अघि सारेको छ। विद्यार्थीकेन्द्रित सिकाइ, परियोजनामूलक कार्य, र आलोचनात्मक सोचको विकासलाई पाठ्यक्रमको मूल उद्देश्यका रुपमा स्पष्ट गरिएको छ ।

यस्तो दृष्टिकोण स्टिम शिक्षाको दर्शनसँग घनिष्ठ रुपमा सम्बद्ध छ, जसले विज्ञान, प्रविधि, अभियान्त्रिकी र गणितलाई केवल विषय होइन, जीवनका लागि आवश्यक सीपको रुपमा लिने गर्छ । सरकारी तथा निजी क्षेत्रबाट पनि केही उत्साहजनक पहलहरु देखिन्छन् ।

निजी विद्यालयहरुमा STEAM Challenge, Coding Bootcamp, Robotics Workshop जस्ता कार्यक्रमहरुको संख्यामा वृद्धि भएको छ । त्यस्तै, नेपाल सरकारले समेत केही पाइलट स्कूलहरुमा प्रविधिमैत्री कक्षा, विज्ञान प्रयोगशाला विस्तार र इ–लर्निङ प्रविधिको प्रयोग सुरु गरेको छ, जुन स्टिम शिक्षाको आधार तयार पार्न सहयोगी ठहरिन सक्छ । यस्ता पहलहरुले शिक्षा प्रणालीमा नवीनता भित्र्याउने प्रयासलाई गति दिएको छ ।

अन्तर्राष्ट्रिय सहकार्यमार्फत् समेत स्टिम शिक्षाको प्रवद्र्धनको प्रयास भइरहेको छ । UNICEF, British Council, USAID जस्ता संस्थाहरुको सहकार्यमा केही विद्यालयहरुमा को अभ्यास गरिँदै Project-Based Learning -PBL/ Technology-Integrated Learning छ । यस्ता कार्यक्रमले विद्यार्थीको सक्रिय सहभागिता, समस्या समाधान गर्ने क्षमता र टोलीगत कार्यशैली विकासमा सघाउ पु¥याउँछन् । यी सबै पहलहरु नेपालमा स्टिम शिक्षालाई व्यवहारमा ल्याउन सकिने सम्भावनाको संकेतकका रुपमा बुझिनुपर्छ ।

अन्तरविरोध : नीति र व्यवहार विचको दुरी

नेपालमा स्टिम शिक्षालाई नीति तहमा प्राथमिकता दिइएको भए तापनि, व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन अझै अधुरो देखिन्छ । सैद्धान्तिक प्रतिबद्धता र व्यवहारिक तयारीबीचको खाडल निकै गहिरो छ ।

राष्ट्रिय पाठ्यक्रम रुपरेखा, शिक्षा नीतिहरु, र रणनीतिमा स्टिम शिक्षा समावेश गरिएको छ, तर विद्यालय तहमा आवश्यक पूर्वाधार, स्रोत सामग्री, दक्ष जनशक्ति र प्रभावकारी अनुगमन संयन्त्रको विकास हुन नसक्नुले यस्ता नीतिहरु व्यवहारमा लागू गर्न कठिन बनाएको छ । उदाहरणस्वरुप, आज पनि धेरै विद्यालयहरुमा विज्ञान प्रयोगशालाको व्यवस्था छैन, जसले विद्यार्थीलाई प्रयोगात्मक सिकाइबाट वञ्चित बनाउँछ ।

गणितको शिक्षण अझै सूत्र र परिभाषा याद गराउने परम्परागत ढाँचामा सीमित छ, जसले विचारशील सोचको विकासमा बाधा पु¥याउँछ । कम्प्युटर शिक्षाको अवस्था झन् कमजोर छ– जहाँ अझै पनि ‘Paint’ वा ‘MsWordको आधारभूत प्रयोगलाई नै प्रविधि शिक्षा ठानिन्छ । यस्तो स्थितिमा स्टिम शिक्षाको अपेक्षित परिणाम हासिल गर्नु केवल आशावाद मात्र बन्न पुग्छ ।

सहर र गाउँबीचको असमानता अर्को गम्भीर अन्तरविरोधको रुपमा देखिएको छ । काठमाडौं, पोखरा, धरान, विराटनगर जस्ता सहरी क्षेत्रमा केही निजी विद्यालयहरुमा स्टिमका आंशिक कार्यक्रमहरु सञ्चालनमा आएका छन् तर दाङ, कालिकोट, बाजुरा, सप्तरी लगायतका ग्रामीण तथा पिछडिएका जिल्लाहरुमा यस्तो अवधारणा नै पहुँचबाहिरको विषय बनेको छ ।

यसले नेपाली विद्यालय शिक्षामा पहुँच र गुणस्तरबीचको असमानतालाई अझ चर्को बनाएको छ, जुन शैक्षिक समावेशीकरणका दृष्टिले चिन्ताजनक संकेत हो । यसैगरी, शिक्षकको सीप र तयारीको अभाव पनि स्टिम शिक्षाको एक प्रमुख अवरोधक पक्ष हो ।

स्टिम शिक्षा केवल विषयगत जानकारीमात्र नभई प्रयोगात्मक दक्षता, प्रविधि प्रयोग, र परियोजनामूलक सिकाइका विधिमा आधारित हुन्छ तर हाम्रो शिक्षक प्रशिक्षण प्रणाली अझै पनि व्याख्यानमुखी र पाठ्यपुस्तकमै केन्द्रित छ ।

प्रशिक्षित नभएका शिक्षकहरुलाई स्रोतविहीन कक्षामा स्टिम शिक्षण गराउने अपेक्षा गर्नु नै वर्तमान शिक्षाको वास्तविक अन्तरविरोध हो । यसले देखाउँछ कि नीति र व्यवहारबीचको दूरी कम नगरेसम्म स्टिम शिक्षा केवल आदर्शको भाषामा सीमित रहिरहनेछ ।

समाधानका सम्भाव्यता र रणनीतिहरु

नेपालमा स्टिम शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि अब सतही पहलभन्दा पर गएर नीति, पूर्वाधार, जनशक्ति र सहभागिताको समन्वित रणनीति आवश्यक भइसकेको छ । विद्यालय तहमा आवश्यक शैक्षिक वातावरणको निर्माण, प्रविधिको सहज पहुँच, र प्रयोगात्मक सिकाइलाई आत्मसात गर्ने पूर्वाधार विकास अब केवल विकल्प नभई अपरिहार्य आवश्यकता हो ।

विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र प्रविधिसम्वेदी स्मार्ट कक्षाकोठा प्रत्येक विद्यालयमा सुनिश्चित गरिनुपर्छ । विशेषतः ग्रामीण तथा पिछडिएका भेगका विद्यालयहरुलाई प्राथमिकतामा राखी स्रोतहरुको लक्षित वितरण गर्नुपर्छ, ताकि शैक्षिक समानताको भावना व्यवहारमा रुपान्तरित होस् । शिक्षकको तयारी र क्षमताको रुपान्तरण स्टिम शिक्षाको मेरुदण्ड हो ।

यसका लागि विषयगत मात्र नभई स्टिम शिक्षण पद्धति, प्रविधिको उपयोग, परियोजनामूलक सिकाइ र अनुसन्धानमुखी चिन्तन मा आधारित तालीम कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । यस्ता तालिमहरु दुवै– भौतिक उपस्थितिमा आधारित र अनलाइन माध्यम मार्फत सर्वसुलभ रुपमा उपलब्ध गराइनुपर्छ ।

साथै,Master Trainer उत्पादन गरी जिल्लास्तरमा व्यापक ज्ञान प्रसारण सुनिश्चित गर्न सकिएमा दीर्घकालीन स्थायित्व प्राप्त गर्न सकिन्छ । पाठ्यपुस्तक र पाठ्यक्रम पनि स्टिम शिक्षाको दृष्टिकोण अनुसार पुनः संरचना गर्नुपर्ने आवश्यकता अत्यन्त महत्वपूर्ण छ ।

गणित, विज्ञान, र प्रविधिजस्ता विषयहरुलाई एकीकृत रुपमा प्रस्तुत गर्ने सामग्री विकास गरिनुपर्छ, जसले विषयवस्तुहरु बिचको सम्बन्ध बुझ्न सहज बनाउँछ । Project-Based LearningPBL_ / Inquiry-Based LearningIBL जस्ता सक्रिय सिकाइ विधिहरुलाई पाठ्यक्रममै समावेश गरेर विद्यार्थीलाई मात्र सिकाउने नभई सिक्न खोज्ने बनाउने दिशा स्थापित गर्न सकिन्छ ।

स्टिम शिक्षाको दिगो कार्यान्वयन सामुदायिक सहभागिताबिना सम्भव छैन । विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार, अभिभावक, तथा समुदायका अन्य सरोकारवालासँग सहकार्य गरी सामुदायिक लगानीमा आधारित कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । यस्ता सहभागी अभियानहरुले शिक्षामा स्वामित्वको भावना विकास गर्नुका साथै स्रोत व्यवस्थापनमा पारदर्शिता र स्थानीय सशक्तिकरणको अनुभूति पनि दिलाउँछ ।

‘विद्यालय मेरो, विज्ञान हाम्रो भन्ने’ नारालाई व्यवहारमा उतार्ने हो भने स्टिम शिक्षा जनस्तरसम्म पु¥याउन सकिन्छ । त्यसैले, अब समय आएको छ कि हामी नीतिगत संकल्प मात्र होइन, कार्यगत प्रतिबद्धता, समावेशी पहुँच र गुणस्तरीय रुपान्तरणतर्फ दृढतापूर्वक अघि बढौं ।

स्टिम शिक्षा नेपालको भविष्य निर्माण गर्ने मूल साधन हो, तर त्यसको सफल कार्यान्वयनका लागि साझा प्रयत्न, स्पष्ट रणनीति, र निष्ठापूर्वक कार्यान्वयन अपरिहार्य शर्त हुन् ।

स्टिम शिक्षा नेपालको सन्दर्भमा कुनै विलासी अवधारणा होइन ः यो समावेशी, समसामयिक र सक्षम राष्ट्र निर्माणको मूल आधार हो । विद्यालय शिक्षाको गुणस्तरीय रुपान्तरण, रोजगारोन्मुख सीपको विकास र नवप्रवर्तनशील सोच भएको पुस्ता निर्माणका लागि स्टिम शिक्षा अपरिहार्य माध्यम बनेको छ ।

यद्यपि नीति दस्तावेजहरुमा यसप्रति प्रतिबद्धता देखिए तापनि व्यवहारिक तहमा तयारीको अभाव स्पष्ट देखिन्छ–न त पर्याप्त पूर्वाधार छ, न त आवश्यक तालिम र स्रोत साधन । परिणामतः हाम्रो शिक्षा प्रणाली अझै पनि परम्परागत चौकटभित्रै सीमित रहँदै आएको छ । अब शिक्षा प्रणालीलाई ‘परीक्षामुखी अभ्यास’ बाट ‘सीपमूलक प्रयोग’ तर्फ, र ‘पाठ्यपुस्तक–केन्द्रित अध्ययन’ बाट ‘अन्वेषणमूलक सिकाइ’ तर्फ रुपान्तरण गर्नुपर्ने बेला आएको छ ।

स्टिम शिक्षाको दर्शन हाम्रो भविष्यको दिशा हो, तर त्यो भविष्य स्वतः निर्मित हुँदैन– यसका लागि आजकै दिनमा लिइने दूरदर्शी निर्णय, नीतिगत स्पष्टता, लगानीको प्राथमिकता र व्यवहारिक प्रतिबद्धताले मात्र नयाँ पुस्तालाई वैज्ञानिक सोच, नवप्रवर्तन र समस्यासमाधान क्षमतायुक्त नागरिक बनाउने मार्ग प्रशस्त गर्न सक्छ ।

अन्त्यमा, नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि स्टिम शिक्षा केवल शैक्षिक सुधारको एउटा विकल्प होइन, यो आर्थिक रुपान्तरण, सामाजिक सशक्तीकरण र वैज्ञानिक चेतनाको आधार निर्माण गर्ने अनिवार्य आवश्यकता हो । शिक्षा प्रणालीले अब परम्परागत पद्धति र मूल्याङ्कनका ढाँचामा मात्रै अडिनु हुँदैन ः यथार्थमा व्यवहारिक, परियोजनामूलक र प्रविधिमैत्री सिकाइलाई आत्मसात गर्नु जरुरी भइसकेको छ ।

यदि हामी चाहन्छौं कि हाम्रा बालबालिकाहरुले विश्वसँग प्रतिस्पर्धा गर्न सकून्, रोजगार सिर्जना गर्न सकून् र नयाँ सोच र नवप्रवर्तनका माध्यमबाट राष्ट्र निर्माणमा योगदान दिन सकून् भने, आजैबाट स्टिम शिक्षालाई नीति, पूर्वाधार, तालिम र समुदायको साझा जिम्मेवारीका रुपमा स्वीकार गर्नु आवश्यक छ । भविष्य टाढा छैन– त्यो त आजको शिक्षामा बिउ रोपिएको विश्वास, लगानी र कार्यान्वयनबाटै निर्माण हुन्छ ।