प्रजनन स्वास्थ्य सेवामा नागरिकको मन जित्दै

परिवार नियोजन संघको ४६औँ साधारणसभा
गोरक्ष समाचारदाता
दाङ, २२ असार । नेपाल परिवार नियोजन संघ दाङ शाखाले एक वर्षमा करिब डेढ लाख सङ्ख्यामा सेवा प्रदान गरेको छ । संघले सन् २०२४ मा एक लाख ४१ हजार ६ सय ७२ सेवा सङ्ख्या प्रदान गरेको संघका शाखा प्रवन्ध बसन्त खनालले जानकारी दिए । संघको ४६औँ साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गदै यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार परिवार नियोजन सेवा तथा परामर्श सेवा २६ हजार दुई सय २५, स्त्रीरोगसँग सम्बन्धी सेवा तथा परामर्श सेवा २५ हजार सात सय, एचआइभी एड्स तथा परामर्श ११ हजार चार सय दुई, गर्भवती तथा सुत्केरी पश्चातको सेवा तथा परामर्श १६ हजार ७३, अन्य प्रजनन स्वास्थ्य सेवा १४ सेवा सङ्ख्या प्रदान गरिएको छ । यसैगरेर बच्चाको खोप तथा परामर्श सेवा १२ हजार नौ सय ७०, सुरक्षित गर्भपतन सम्बन्धी सेवा परामर्श एक हजार नौ सय आठ, विशिष्ठकृत सेवा पाँच हजार सात सय चार, यौन रोगको उपचार तथा परामर्श सेवा २२ हजार नौ सय, बाँझोपनको रोकथामसम्बन्धी उपचार तथा परामर्श सेवा तीन सय २० पिसाब जन्य रोगको उपचा तथा परामर्श पाँच हजार आठ सय ७१ र साधारण उपचार सेवा १२ हजार चार सय ६१ सेवा सङ्ख्या प्रदान गरिएको शाखा प्रवन्धक खनालले बताए । संघले जिल्लासँगै जिल्ला बाहिर शिविरमार्फत् सेवा दिँदै आएको छ ।

साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री राजु खनालले परिवार नियोजन संघले स्वास्थ्य क्षेत्रमा उल्लेखीय काम गरेको बताए । संघलाई आत्मनिर्भर बनाउँदै नागरिकको सेवामा लाग्न समेत उनले आग्रह गरे । यसको लागि आफू आफ्नोतर्फ भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको समेत बताए । पछिल्लो समय नागरिक सचेत भइसकेको भन्दै नयाँ चुनौती पहिचान गरेर अगाडि बढ्नु पर्ने उनले बताए । ‘स्वास्थ्यसँगै जोडिएका नयाँ चुनौती थपिँदै गएका छन् त्यसलाई पहिचान गरेर अगाडि बढनुस्’ खनालले भने । लुम्बिनी प्रदेशमा मातृ शिशु मृत्युदर तथा कुपोषणको समस्या रहेको भन्दै यसतर्फ काम गर्न उनले आग्रह गरे । यसलाई घटाउन प्रदेश सरकारसँग जोडिएर काम गर्न सकिने उनको भनाइ छ ।

राष्ट्रिय सभाका पूर्व सदस्य अनिता देवकोटाले परिवार नियोजन संघले महिला तथा युवालाई प्राथमिकता दिएर काम गदै आएको बताइन् । यसले ग्रामीण स्तरसम्म स्वास्थ्यको पहँुच पु¥याउन धेरै सहयोग पुगेको उनको भनाइ छ । अहिले वडा–वडासम्म स्वास्थ्य सेवा पुगेको भन्दै सबै सहकार्य गरेर नागरिकलाई स्वास्थ्य सेवा सहज र शुलभ बनाउनु पर्ने उनको भनाइ छ । संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष निर्मला गौतम रेग्मीले परिवार नियोजनप्रति नागरिकको विश्वास रहेको बताइन् । गुणस्तरीय सेवा प्रदान गरेको कारणले नागरिकको विश्वास नटुटेको उनको भनाइ छ ।

घोराही उपमहानगरपालिकाका जन स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले सामाजिक संस्थाको रूपमा रहेको संघले स्वास्थ्यको क्षेत्रमा नागरिकको मन जित्ने गरी काम गरेको बताइन् । उनले स्वास्थ्यको क्षेत्रमा काम गर्न उपमहानगरपालिका सहकार्य गरेर अगाडि बढ्ने समेत उनले बताइन् । संघका पूर्व अध्यक्ष गणेशराज श्रेष्ठले सेवा विस्तार गर्दै गएको संघलाई सहयोग घट्दै गएको बताए । अझै पनि सेवालाई विस्तार गर्दै नागरिकको मन जित्ने गरी अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासन, घोराही खानेपानीका वरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे, संघका आजिवन सदस्य गोविन्द्रप्रसाद न्यौपाने, अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिका सदस्य बासुदेव रिजाल, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीलगायतकाले भनाइ राखेका थिए । कार्यक्रममा वार्षिक प्रतिवेदन शाखा प्रवन्धक बसन्त खनालले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मायाकुमारी पोख्रेलले प्रस्तुत गरेकी थिइन् । कार्यक्रम संघका सभापति भरतराज देवकोटाको अध्यक्षतामा भएको थियो । संघका सदस्य किरण पोख्रेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष मायाकुमारी पोख्रेलले गरेकी थिइन् ।

५ जना सदस्य निर्वाचित

संघका रिक्त रहेको ५ सदस्यमा निविरोध निर्वाचित भएका छन् । महिला सदस्यहरूमा बालिका लम्साल र डा शारदा गौतम निविरोध निर्वाचित भएका हुन् । विज्ञ सदस्यहरूमा किरणकुमार पौडेल, भेषराज विसी र रेणु श्रेष्ठ निविरोध भएका हुन् । सबै पदमा एकल उम्मेद्वारी परेकाले निविरोध भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।