सुत्केरी मृत्यु घटनाको छानबिन गर्ने सहमति
दाङ, २१ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न बिवाद सुल्झिएको । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि प्रतिष्ठानमा ल्याइएकोमा बिरामीको अबस्था जटिल भएका कारण सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रिया मार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो ।
मृत्युको बारेमा सत्य तथ्य छानबिन गर्ने सहमतिपछि बिबाद मिलेको प्रतिष्ठानका सुचना अधिकारी निसानदाजु भट्टराईले जानकारी दिएका छन । पीडित परिवारको सहभागितासहितको प्रतिष्ठानका सह–निर्देशक डा सुरेश रसाईलीको नेतृत्वमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने अस्पताल प्रशासन र पीडित परिवारबिच सहमति भएको हो ।
यसैगरेर दुबै पक्षबिच शल्यक्रियामार्फत जन्म भएको बच्चा १८ बर्षसम्म नपुग्दासम्म प्रतिष्ठानबाट प्रबाह हुने सबै सेवा निशुल्क गर्ने, अस्पतालको सेवामा अबरोध नगर्ने, उपचारमा संलग्न चिकित्सकमाथि हातपात नगर्ने सहमति भएको छ । प्रतिष्ठानका उपकुलपति डा बिकास लामिछाने, शिक्षाध्यक्ष प्रा डा बसन्त लामिछाने, अस्पतालका निमित्त निर्देशक प्रा डा जनार्दन पन्थी, सहनिर्देशक डा सुरेश रसाइली, घोराही १८ का वडा अध्यक्ष भरत अर्याल र पीडित बिरामी परिवारबिच शुक्रबार र शनिबार दिनभरिको सामुहिक छलफलबाट घट्नाको छानविन गर्ने सहमति बनेको हो ।
