शिव महापुराण तथा श्रृङ्गारिक महाआरति हुने

घोराही, २१ असार । घोराही उपमहानगरपालिका–१७ गुलरीयामा अवस्थित राधाकृष्ण तथा शिव पार्वती मन्दिरमा ‘शिव महापुराण तथा श्रृङ्गारिक महाआरति’ हुने भएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गोराथोकीको अध्यक्षतामा शनिवार बसेको बैठकले साउन महिनाभर शिव महापुराण तथा श्रृङ्गारिक महाआरति सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्दिर परिसरभित्र रहेको सहिद स्मारक तथा सांस्कृतिक संग्रहालय पार्क र शिव पार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापनको योजना घोराही उपमहानगरपालिकाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई आधार मानेर अघि बढाइने भएको छ । यसै योजनाको एक भागका रूपमा धार्मिक र सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहित गर्न शिव महापुराण तथा श्रृङ्गारिक महाआरति आयोजना गर्न लागिएको अध्यक्ष गोराथोकीले जानकारी दिएका छन् । शिव महापुराण तथा महाआरति कार्यक्रममा पं. सन्तोष श्यामचरणको मुखारविन्दबाट कथा वाचन हुनेछ ।

विभिन्न क्षेत्रका पुरोहित, भजनमण्डली र भक्तजनको सहभागिता रहनेछ । धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले समेत यो कार्यक्रमलाई व्यापक बनाइने योजना छ । समितिले कार्यक्रमका लागि आवश्यक तयारी, समन्वय र प्रचारप्रसार गर्ने तयारी समेत गरेको छ । मन्दिर व्यवस्थापन समितिले घोराही क्षेत्रका सम्पूर्ण श्रद्धालु, भक्तजन र सर्वसाधारणलाई कार्यक्रममा सहभागी भएर पुण्य कमाउनुका साथै धार्मिक, सांस्कृतिक एवं सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने आह्वान गरेको छ ।

कार्यक्रमलाई सफल बनाउन गोविन्द गोराथोकीकै संयोजकत्वमा मूल आयोजक समिति समेत गठन गरिएको छ । जसको सहसंयोजकमा विकासनगर टोल विकास संस्थाका अध्यक्ष बेचन ओली र सचिवमा दीपक वली र कमल वली रहेका छन् । कोषाध्यक्षमा बसन्त बुढाथोकी, सहकोषाध्यक्षमा बुद्धिकला पोख्रेल र टोपनारायण बन्जाडे रहेका छन् । सदस्यहरूमा इन्द्रकुमार ओली, दामोदर केसी, भोजबहादुर थापा, भक्तबहादुर खत्री, राम चौधरी, दीपक चौधरी, मानबहादुर बस्नेत, चित्रबहादुर बस्नेत, गिरबहादुर बुढाथोकी, पलवान थापा, रामबहादुर बन्जाडे, निमानन्द अर्याल, पदम ओली, मदन केसी, राधा केसी, सरिता शर्मा, मानबहादुर खड्का, भरत अधिकारी, एमप्रसाद अधिकारी, दीपबहादुर खत्री, खुशलराम पुन, बुद्धिबहादुर केसी, सुशील सुवेदी, रमेश केसी, देवराज अधिकारी र हरिप्रसाद भुसाल रहेका छन् ।