ज्येष्ठ नागरिकसम्बन्धी आचारसंहिता पुस्तक विमोचन
गोरक्ष समाचारदाता
देउखुरी, २१ असार । लमही नगरपालिकाले ज्येष्ठ नागरिकका हक, अधिकार, सम्मान र संरक्षणका विषयमा तयार गरिएको पुस्तक विमोचन गरेको छ ।
ज्येष्ठ नागरिकमैत्री समाज निर्माण गर्ने उद्देश्यसहित तयार गरिएको उक्त पुस्तकले स्थानीय राज्यबाट पाउने सेवा सुविधा र आचारसंहितालगायतका विषय समेटिएको पुस्तक निर्माण गरिएको हो ।
‘तिमी जवान हुँदा वृद्धको सम्मान गर्न सिक, किनकि जीवनमा तिमी पनि एक दिन वृद्ध हुनेछौ’ भन्ने सन्देशका साथ लमही नगरपालिकाले ज्येष्ठ नागरिकका हक, अधिकार, सम्मान र संरक्षणसम्बन्धी आचारसंहिता २०८१ को विमोचन गरेको हो । नगरपालिकाका अनुसार पुस्तकमार्फत् ज्येष्ठ नागरिकले आफूलाई प्राप्त हुने सेवा, सुविधा र अधिकारबारे स्पष्ट जानकारी पाउनेछन् ।
नगरपालिकाले अवलम्बन गरेका नीति, सामाजिक सुरक्षा कार्यक्रम, स्वास्थ्य तथा सन्दर्भ सेवालगायत थुप्रै ज्येष्ठ नागरिकमैत्री व्यवहारसम्बन्धी मार्गनिर्देशन पुस्तकमा समेटिएका छन् । पुस्तकबारे नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले टिप्पणी गरेका थिए । पुस्तकको विमोचन गर्दै लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले ज्येष्ठ नागरिक जीवनको अनुभवका भण्डार भएको बताउँदै ज्येष्ठ नागरिकको सम्मान गर्नु भनेको आफैँको भविष्यको सम्मान भएको बताइन् ।
लमही नगरपालिका–३ का वडाध्यक्ष मनोजकुमार चौधरीले ज्येष्ठ नागरिक दैनिक जीवनका विभिन्न पक्षमा समस्या भोग्दै आइरहेको भन्दै ती समस्या समाधानमा सम्बन्धित निकाय र सरोकारवाला सबै गम्भीर हुनुपर्ने बताए । वडाध्यक्ष चौधरीले ज्येष्ठ नागरिकको हितमा विभिन्न आचारसंहिता निर्माण भए पनि ती आचारसंहिता प्रभावकारी तवरले कार्यन्वयन हुन नसक्नु दुःखद् विषय भएको उल्लेख गरे ।
लमही नगरपालिका–५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले नगरपालिकाले विभिन्न नीति तथा नियम बनाए पनि कार्यान्वयनमा कमजोर रहेको बताए । यसैगरी अस्थायी ट्राफिक पोस्ट लमहीका प्रमुख माधव रावतले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सबैको सहयोग अनिवार्य रहेको बताएका छन् ।
कार्यक्रममा बैंकर्स एसोसिएसन लमहीका अध्यक्ष आशकुमार जरेजुले ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार र सेवामा प्राथमिकता दिने विषयमा बैंकहरू प्रतिबद्ध रहेको बताए ।
