Goraksha

National Daily

गढवाको न्यायिक समितिमा ८१ उजुरीमा मेलमिलाप

प्रिया स्मृती गजमेर
देउखुरी, २१ असार । गढकवा गाउँपालिकाको न्यायिक समितिले आर्थिक वर्ष ०८१÷०८२ मा सम्पादन गरेका कामको विवरण सार्वजनिक गरेको छ ।

समितिका अनुसार चालु आर्थिक वर्षमा परेका एक सय २१ वटा उजुरीमध्ये ८१ उजुरी मेलमिलापमार्फत् समाधान गरिएका छन् भने बाँकी ४० उजुरी हाल कार्यान्वयनको प्रक्रियामा रहेका छन् ।

न्यायिक समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले सार्वजनिक कार्यक्रममा जानकारी दिँदै भनिन्, ‘समाजमा देखिने ससाना विवाद समाधान गर्दै शान्तिपूर्ण सहजीकरण गर्नु न्यायिक समितिको प्रमुख उद्देश्य हो । यस वर्ष उल्लेख्य परिणाम प्राप्त गर्न सक्नु हाम्रो टोलीको समर्पण र समुदायको सहकार्यको परिणाम हो ।’

उनका अनुसार न्यायिक समितिमा घरायसी विवाद, जग्गासम्बन्धी झगडा, ऋण लिने÷दिने विषय, कुटपिट तथा सामाजिक व्यवहारसँग सम्बन्धित विवाद आउने गरेका छन् । न्यायिक समितिले दुवै पक्षलाई जितको महसुस हुने गरी विवाद समाधान गर्ने गरेको छ । समितिले दुई वर्षदेखि चल्दै आएको जग्गासम्बन्धी विवाद मेलमिलाप प्रक्रियामार्फत् टुङ्ग्याएको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक चौधरीले बताइन् ।

समितिले समुदायमा कानूनी सचेतना फैलाउने, मेलमिलाप केन्द्रको सुदृढीकरण गर्ने र न्यायिक संरचना थप प्रभावकारी बनाउने योजना अगाडि सारेको छ । गाउँपालिकाले स्थायी मेलमिलाप प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा डिजिटल फाइलिङ प्रणाली लागु गर्ने तयारी समेत गरेको जानकारी दिएको छ ।