कथा : बिर्सन नसकेको कथा
नारायणप्रसाद श्रेष्ठ
थोरै बचेको पैसाले औषधी मोलो भयो, तर बालाई सन्चो भएन । त्यसबेला न त कसैले सहयोग गरे, न त दया माया देखाए । ठुला मान्छेको कुरै नगरौ ती त सबै पिचास जस्तो लाग्छ । कति अनुनय विनय गरे तर कसैले सुनेनन् ।
कसैले सुने जस्तो गरे पनि जवानीको प्यास मेटाउने ब्वासा मात्रै हुन्थिए, कसैले सुन्दैनथे । हुनेको सबै हुँदा रहेछन्, नहुनेको त दैव पनि हुदो रहेन छन् । उनले भक्कानिँदै भनिन्– बालाई टप्प टिपेर दैवले लग्यो आमा घोप्टीएर रोइन्, सबै मुलुक दर्शक बने । यसरी अघिल्लो दिनको चौतारीको कहाली लाग्दो यथार्थ भित्र लुकेको व्यथा सुनेका गाउँले आज निकै बेरसम्म चौतारीमा भेला भएका थिएनन् ।
रामु काका भने माथ्लाघरे पुरेत बाजेको राइलो छोराको व्यथा लिएर आइपुगेका थिए । हिजो सुन्तलीको व्यथा र पीडाको बारे धेरै बेर चौतारी स्तब्ध भएको उनलाई पनि थाहा थियो । तर, पनि एका बिहानै राइलोको चिठी उनको हातमा परेको र पत्रमा कथा र ब्यथा भनिदिन भनेकाले उनी सबेरै उक्लिएका थिए चौतारी ।
पत्रमा लेखिएको थियो रामु काका मेरो व्यथा पनि सुनाउन मन छ चौतारीमा । यो पत्र बाचेर सुनाइदिनु होला भनी भनेका रहेछन् । त्यसैले गाई बाख्रा फुकाएर चराउने बेला भइसकेर पनि मानिस जम्मा नभए पछि आज चौतारी हुँदैन कि भनी मनमा गुन्दै जसै रामु का फर्कने तरखर गर्दै थिए, त्यसैबेला डाँडाघरे बसन्ती र धेरै गाउँले आउँदै गरेको देखेपछि रुखमा अडेश लगाइ सुस्केरा हाल्दै थचक्क बसेको थिए ।
सबै गाउँले जम्मा भए । चौतारीमा किन अबेर भनी जसै रामुले भन्नै लागेका थिए बसन्तीले एकै सासमा भनिन्– रामु काका पर्खनुस… । हिजो सुन्तली नानीको कहानीले त हाम्रो गाउँ सबैलाई शोकमग्न बनायो नी ? अचम्मै गरी । टाट्के गाउँका महिला त रुदै गाउँ गएका रहेछन् ।
गाउँ पुग्दा सबैको आँखा राता भएको देखि घरका सबैले किन के भयो ? भनी सोध्दा सुन्तलीको कथाले बितायो भने छन् । यति कुरा सुने सी लौ त्यसो हो भने हामी पनि भोलि जान्छाँै, पर्खे है भनेकाले ढिला भएको हो । उ हेर्नुस त… टाटकेका मुख्या बा पनि लौरो टेक्दै बिस्तारै आउदै छन् ।
सबैले एक टाट्के त्यतैतिर आँखा लगाए । आज फेरि त्यो गाउँ मात्र होइन २, ३ गाउँका भलादमी पनि जम्मा हुँदै छन् । यस प्रकार त्यो चौतारी अब एक गाउँको मात्र नभएर तीन चार गाउँको साँझा बन्दै गरेको थियो । समय कति चाढै बदलिँदो रहेछ, हिजो भारी बिसाउने, पसिना पुछ्दै सुस्ताउने चौतारी आज कथा र व्यथा सुन्ने, सुनाउने चौतारी बनेको छ ।
मानिसको जमघट हुँदै गर्दा त्यो चौतारीको वर पिपल पनि झागिँदै ठुलै भइसकेको छ । सबै गाउँले आइ भेटघाट दुवा सलाम पछि कुराको सुरुवात गर्दै रामु काकाले भने– गाउँले दाजुभाइ मुख्या बा, दिदीबहिनी, आज मैले ल्याएको पत्र सुनाउने विचारले पत्रै बोकेर ल्याएको छु ।
धेरैजसोले चिन्नु पनि हुन्छ होला– उनाउ गाउँको माथ्ला घरे पुरेत बाजेका राइला छोरा जीवनले पनि चौतारीको बारे धेरै सुनेका रहेछन्, रामु काका मेरो पनि व्यथा छ । सुनाइदिनु होला । माफी माग्ने मेरो धोकोको भारी म सँग पनि छ, भनी अनुरोध गरेकाले मैले लिएर आको छु । ल के गर्ने आज उनको पीडा सुन्ने ।
मुख्या बाले खोक्दै भने यी त हाम्रा जेठा पुरेतका भदै पो हुन्, देश गा छन् भन्थे किन जानु पर्या होला मुग्लान । विचरा निकै दुःखकष्ट भोगे छन्् । लौ लौ सुनौ बाबुको कहानी । यति कुरा मुख्या बाले भनेसी सबै गाउँलेले हो मा हो मिलाइ भने हुन्छ … हुन्छ । यस पछि रामु काकाले गोजी को चिठी निकाली पल्ट्याउादै भने छन्– उनलाई निकै पछुतो भएको रहेछ ?
आफूलाई पछुतो भएको आफ्नो व्यथा सुनाउँदै उनले लेखेका छन्– आज मैले आफूले आफैलाई सोधिरहेको छु । पत्यारै लाग्दैन म सपनामा छु वा विपनामा । मेरो व्यथा कथा हो कि के हो ? कति समय बितिसक्यो तर त्यो दिन, क्षण अहिलेसम्म झलझली आइरहेछ । पत्रमा लेखिएको कहानी अगाडि बढाउँदै काकाले सुरु गरे– मैले किन मेरो जिम्मेवारी र दायित्व निर्वाह गर्न सकिन ? मलाई पछुतो भइरहेको छ ।
के मैले मेरो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न सफल भए ? म अहिले किन पछुताउनु प¥यो ? मलाई समाजले हेर्ने दृष्टिकोणमा किन परिवर्तन भयो ? के समाज बदलिएको हो ? कि यहाँका प्रत्येक सजिव आत्मामा सचेतना वृद्धि नभएर हो ? स्वार्थ र अहंकारले भरिएको चिन्तनले के मान्छे आफूले आफैलाई गलत मार्गमा धकेलेका हुन् ?
हिजो आज र भोलि हुँदै समयको गतिशीलतामा हुर्कदै गएको सामाजिक परिवेशमा विकृति र विसंगतिको बोलबाला किन बढिरहेको छ ? सामाजिक प्राणी भएर बाँचेको मानवीय आदर्श किन धमराइरहेको होला ? आचरण र व्यवहारमा आएको परिवर्तनले के हाम्रो विश्वासको धरातल कमजोर भएको हो ?
जो चोर उसैको ठूलो स्वर भनेझैँ समाजमा विकृतिको जग बसाल्ने व्यक्ति स्वयम् आचरणहिन भएर पनि आफ्नो आङको भैंसी नदेख्ने तर अरुको आंगको जुम्रा देख्ने प्रवृत्ति के हाम्रो समाजको आदर्श हो ? मेरो पवित्रता मन र विचार किन र कसरी विचलित हुन पुग्यो ? हाम्रो पारिवारिक निस्वार्थ सेवामा दाग लाग्ने गरी वर्तमानमा विचार किन छरप्रस्टिँदै गरेका छन् ?
के मेरो मन र कर्म त्यस्तै हो र ? के फेरि त्यस्ता दिन सहज भएर एकताबद्ध भई अघि बढ्न सक्ला ? बितेको समय र बगेको खोला फेरि फर्कँदैन भन्छन् तर पनि के त्यही सत्यभित्र जलिरहनु पर्ने मेरो कर्मको उपहार हो र ?
वर्षापछि शरद, शरद पछि हिउँद, हिउँद पछि बसन्त, जसरी यो चक्र घुमिरहन्छ त्यसैगरी जीवनमा आउने उतारचढाव तथा जीवनचक्रमा पनि सुखपछि दुःख, दुःख पछि सुख, यो सर्वमान्य होइन र ?
प्रायश्चित र गल्ती महसुस गरी माफि माग्दै शरण परेपछि शरणागतलाई माफि दिँदै चरित्र सुधार गर्न अवसर दिने सामाजिक मान्यता छैन र ? के यो परम्परा हराएको छ र ? जान अनजानमा गल्ती भएको स्वीकारेपछि, अब पुनः यस्तो गल्ती दोहोरिँदैन भनी प्रतिज्ञा गरेपछि, के व्यक्ति समाज र परिवारले स्वीकार्दैनन् ?
यिनै विविध प्रश्नले मलाई छटपटी भइरहेको छ काका । यति कुरा बताइसके पछि रामु काका केही बेर सुस्ताउँदै भन्छन्– उनको गन्थन धेरै छ तर म त्यता जान्न ढिलो पनि भइसकेको छ मलाई थाहा भए अनुसार उनको कथा यस्तो थियो ? कथाभित्रको कथा माफि यसरी भन्न थाले– शारदा नदीको तिरमा बसेका जीवन त्यसबेलाको समयमा निकै चर्चित र मान सम्मानले सम्मानित परिवारको आदर्श मानिन्थे ।
व्यक्ति, परिवार र समाजको लागि आदर्श भएर पनि आज उनै व्यक्ति विदेशी मरभूमिमा ४०–४५ डिग्रीको तापमा जलिरहेका छन् । उनको अन्तिम इच्छा केवल माफि पाउनु मात्र रहेछ । यो जन्ममा बालाई औषधी मुलो र साथ दिन नसकेकोमा पछुतो छ । हिजोको कुरा उनी सम्झन चाहँदैनन ।
यस जन्ममा सेवा गर्न नपाए पनि अर्को जन्ममा उनकै छोरा बनेर जन्मन उनी चाहन्छन् । बाले सपनामा आएर भए नि छोरा यो तिम्रो गलत उद्देश्य होइन भनी भनेर माफि दिए कति हुन्थियो, उनी त्यही चाहन्छन् । पश्चातापको आगोमा जलिरहेको मनमा शीतलताको अनुभूति चाहन्छन् ।
अहंकार र घमण्डले परिपोसित सामाजिक विकृतिभित्रको भैतिक आडम्बरमा कोही नजलुन्, कसैको आँखामा आँसु नझरोस्, परिवार विचल्लित भई सडक छाप बन्न नपरोस्, विक्षिप्त मन लिएर सामाजिक कलंक बोकी कोही बाच्न नपरोस्, निस्वार्थ आचरणमा कहिलै धमिरा नलागोस् । परिकल्पनाको सुन्दर र पवित्र समाजमा बाँच्ने रहर सबैमा पलाओस् ।
देखासिकी र भौतिक चकाचौध र क्षणिक स्वार्थले निम्त्याउने गलत चिन्तन कसैमा जागृत नहोस्, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा हुर्कन पाउने मानव जातिको नैसर्गिक अधिकारमा कहिले दाग नलागोस् , प्राकृतिक सत्यको शीतल छहारीभित्र बाँच्ने रहर सबैमा पुगोस्, लोभ, मोह र आशक्तिले भरिएको विचारले ल्याउने परिणतिको सबैले ख्याल गरुन् ।
कसैलाई पनि विचारमा दिगभ्रमित हुन नपरोस् ,स्वतन्त्र र पवित्र भावनाले ओतप्रोत जीवन सबैको चाहना सबैको सदा सर्वदा पूरा होस् । आज उनी त्यही पवित्र भावनाले छटपटाइरहेका थिए । उता नजिकै रहेको रेडियो मा यस्तो गीत घन्किइरहेको थियो ।
आकाश धर्ती पवित्र बनाइ आउने छिन् प्रकृति,
सधै झै गरी एकनास गरी बग्ने छिन् प्रकृति,
बसन्तको रसस्वादन गर्दै रमाउने छिन् प्रकृति,
हरा र भरा स्वच्छ वातावरण बनाइ हुर्कने छिन् प्रकृति ।।
छिन्–छिन्मा आउने आधी र हुरी सहने छिन् प्रकृति,
जीवन र जगत स्वच्छन्द बनाइ रमाउने छिन् प्रकृति,
दुषित चस्मा हटाइ सबको खुसी साट्ने छिन् प्रकृति,
समाज सधै प्रशन्नताको शीलताले ओत्ने छिन् प्रकृति ।।।
यति कुरा बताइसकेपछि रामु काका फेरि पत्र उठाइ पढ्न सुरु गर्छन् प्रकृतिले सजाइएको सुन्दर बिहानको मिरमिरे उज्यालोसँगै मिसिने रिशी खोला, उत्तरबाट दक्षिण हुँदै कल–कल बग्ने शारदा नदी, शारदा नदीको किनारैमा रहेको त्यो गैरी खेतको लहलाउँदो धानको बिउ (धानको बेर्ना) बिउ उखेल्दै गरेकी जीवनको संगिनी सरीताको उज्यालो चेहरा, छन्–छन् ।
बज्ने चुराको आवाज, बान्की परेको जिउडाल, खेतको डिलमा बसी एक टकले हेरिरहेको जीवन अहिले पनि सम्झन्छन् । नजिकै बाउरे र खेतालाबिच भइरहेको बार्तालाप, रोपार्नी र हलीबिचको हिलो छ्यापा छ्याप, कुलो नजिकै रमाउँदै गरेका केटाकेटी बिचको रमाइलो क्षण, शनिवारको छुट्टी, भोगप्यास नमानी रोपाइ हेरिरहेको दृश्य जीवनले साच्चीकै टोलाएर हेर्दै आनन्दसँग झुमिरहेका थिए ।
यसरी एकोहोरो भएर ट्वाल्ल हेरिरहेकोदेखि सरीताले मेरो प्यारो किन एकोहोरो भइरहेको ? बेर्ना उखल्न ढिला हुन लागिसक्यो, बरु आउनु सँगसँगै बेर्ना उखलौँ, रमाउ । श्रीमतीको मीठो र माया लाग्दो बचनले झल्यास्स हुँदै जीवन उतैतिर लाग्छन् । सरितालाई संकेत गर्दै भन्छन्– म उखलेका बेर्ना रोपाइ गर्ने ठाउँमा पु¥याउँछु ।
अनि आएरसँगै बेर्ना उखलौला हुन्न । यति भन्दै उनी खेततिर हानिए । बेर्ना उठाइ पु¥याउँदै खेतालालाई रोपाइ छिटो–छिटो गर है भनी फर्किए । खेतमा हरियै उम्रियका धानमा बेर्ना उखेल्दै एक अर्कालाई हेर्दै काममा रमाउन थाले । सानो गह्रा खेतको बेर्ना उखेल्न केही समय लाग्यो, करिब दिउँसोको दोपहर हुँदै थियो, थकाइ र भोग, प्यास लागेकोले एक अर्कालाई हेर्दै मुस्कुराउँदै कुलामा हात धोइ एकछिन डिलमा बसेका मात्र थिए, राधिका आमा खाना र पानी लिएर टुपलुक्कै आउनु भयो र भन्नु भयो । क्रमश….।
