गोरक्ष समाचारदाता
दाङ, २० असार । प्रेस सेन्टर नेपाल, घोराही शाखाको आयोजनामा सञ्चालित समाचार लेखन तथा डिजिटल पत्रकारिता तालिम सुरु भएको छ । पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई सशक्त बनाउने उद्देश्यले सुरु गरिएको हो ।
तीनदिने तालिमको उद्घाटन कार्यक्रम शाखाका अध्यक्ष हेमराज परिवर्तनको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि आचार्यले कार्यक्रमले जिल्लामा क्रियाशील र नवप्रवेशी पत्रकारलाई नयाँ सिप, प्रविधि र दृष्टिकोणमा समृद्ध बनाउन मद्दत गर्ने बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले डिजिटल युगमा पत्रकारिताका चुनौती झन् जटिल बन्दै गएको उल्लेख गरे । उनले सचेत, खोजी र तथ्यमा आधारित पत्रकारिता आजको आवश्यकता भएको बताउँदै यस्ता तालिमले पत्रकारलाई प्रविधिसँग अभ्यस्त बनाउने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासघ दाङका अध्यक्ष सन्तोष सुवेदीले तालिमले जिल्लाका पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने बताए । नेकपा (माओवादी केन्द्र) प्रचार विभाग सदस्य तथा महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष उदय जिएमले यस्ता तालिम सिप विकासका लागि मात्र नभई विचार र दृष्टिकोण विस्तारको माध्यम भएको बताए ।
कार्यक्रममा उपस्थित प्रेस सेन्टर नेपाल अनुशासन आयोगका सदस्य प्रकाश चौधरी, प्रेस सेन्टर नेपाल दाङका उपाध्यक्ष जीवन रोका, संस्थापक अध्यक्ष पूरण शर्मा, प्रेस चौतारी दाङका सचिव निमुसंगम घती, दाङ महिला जेसीजकी कार्यकारिणी उपाध्यक्ष लक्ष्मी घमाले पत्रकारितामा आचारसंहिता र नैतिकताको पालनाले नै दीर्घकालीन विश्वास निर्माण हुने भन्दै यस्तो तालिमले अनुशासित पत्रकार उत्पादन गर्ने विश्वास व्यक्त गरे ।
शाखाका उपाध्यक्ष विष्णु गोराथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सुविनराज शेर्पालीले गरेका थिए । तालिममा २५ जना प्रशिक्षार्थी पत्रकारको सहभागिता रहेको छ । तालिम अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकले पत्रकारिताका विविध पक्षबारे प्रशिक्षण दिने बताइएको छ । तालिमका प्रशिक्षकमा नरेन्द्र केसी, लक्ष्मी आचार्य, अजयदीप शर्मा, जनक नेपाली, सन्तोष सुवेदी, हेमराज परिवर्तन रहेका छन् ।