प्रिया स्मृती गजमेर
देउखुरी, २० असार । लमही नगरपालिकाको न्यायिक समितिमा बर्सेनि उजुरीका सङ्ख्या बढ्दै गएका छन् । समितिले दिएको तथ्याङ्क अनुसार पछिल्लो तीन आर्थिक वर्षमा करिब एक सय ७३ वटा मुद्दा दर्ता भएका छन् । जसमा अधिकांश विवाद मेलमिलापमार्फत् समाधान भएका छन् ।
आर्थिक वर्ष ०७८÷०७९ मा कुल ४० वटा उजुरी दर्ता भएका थिए । दर्ता भएकामध्ये १९ वटा मुद्दा मेलमिलापमार्फत् टुङ्गिएका छन् भने १५ वटा खारेज भएका थिए । उजुरीकर्ताले दुईवटा निवेदन फिर्ता लिएका थिए । त्यो अवधिमा न्यायिक समितिले करिब ८५ प्रतिशत काम सम्पन्न गरेको थियो । यसैगरी आर्थिक वर्ष ०७९÷०८० मा ३८ वटा उजुरी दर्ता भएका थिए । तीमध्ये १८ वटा विवाद मेलमिलाप भई टुङ्गिएका छन् भने १२ वटा मुद्दा खारेज (डिसमिस) भएका थिए । आर्थिक वर्ष ०८०÷०८१ मा ४४ वटा मुद्दा दर्ता भएकोमा ३२ वटा मुद्दा मेलमिलाप भएका थिए भने चारवटा विवाद मात्र खारेज भएका थिए । समितिले सो वर्षमा ८२ प्रतिशत विवाद समाधान गरेको थियो ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८१÷०८२ मा ५२ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये हालसम्म १८ वटा मुद्दा मेलमिलाप भएका छन् भने १४ वटा विवाद खारेजी भएका छन् । यसैगरी बाँकी २० वटा उजुरी न्यायिक प्रक्रियामा रहेको उपप्रमुख योगीले पत्रकार सम्मेलनमा जानकारी गराएकी थिइन् ।
न्यायिक समितिमा घरायसी झगडा, पतिपत्नी बिचको सामान्य झगडा, सासु–बुहारी बिचको विवाद, बालबच्चाको पालनपोषणसम्बन्धी विवाद, सीमाना तथा बाटो, सिँचाइ, गोरेटो र बार लगाउने विषयमा देखिने समस्या, सामान्य कुटपिट, गालीगलौज, धम्की तथा डरत्रास दिने जस्ता उजुरी आउने गरेका छन् ।
स्थानीय तहमा न्यायिक समितिले साना विवादलाई अदालतसम्म नपुग्ने गरी सामुदायिक समाधान खोज्ने अभ्यासको रूपमा काम गर्दै आएको छ । लमही नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७८ देखि २०८२ सम्म सम्पन्न गरेका न्यायिक कार्यको विवरण सार्वजनिक गरेको हो ।
समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले आफ्नो कार्यसम्पादनका गतिविधि सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा लमही नगरपालिका उपप्रमुख एवम् न्यायिक समिति संयोजक लक्ष्मी योगीले न्यायिक समितिको भूमिकाबारे प्रकाश पार्दै पछिल्ला तीन वर्षमा विभिन्न सामाजिक, पारिवारिक तथा सानातिना विवाद स्थानीय तहमै समाधान गर्दै आएको जानकारी दिएकी थिइन् ।
उनले भनिन्, ‘स्थानीय तहको न्यायिक समितिमार्फत् सहज, छिटो र सुलभ रूपमा विवाद समाधान गर्न सकिन्छ भन्ने सन्देश हामीले दिन सफल भएका छौँ ।’ उपप्रमुख योगीका अनुसार समितिले मेलमिलाप, मध्यस्थता तथा छलफलको माध्यमबाट हरेक वर्ष ८५ प्रतिशत बढी उजुरी सफलतापूर्वक टुङ्ग्याएको छ ।
लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले कानूनी अधिकृतको अभावका बाबजुद न्यायिक समितिले उल्लेखनीय कार्यसम्पादन गरेको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक समिति संयोजक, दुई जना सदस्य तथा एक जना बरिष्ठ अधिवक्ताको सहयोगमा न्याय सम्पादनका कार्य प्रभावकारी रूपमा अगाडि बढाइएको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत देवकोटाको भनाइले कानूनी संरचना अपूर्ण भए पनि स्थानीय तहमा समन्वय, सक्रियता र सेवाप्रति प्रतिबद्ध भए प्रभावकारी न्याय सम्पादन सम्भव छ भन्ने देखाएको छ । उनले न्यायिक पहुँच थप प्रभावकारी बनाउने, कानूनी साक्षरता अभिवृद्धि गर्ने र जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।