Goraksha

National Daily

नसर्ने रोगबाट बच्नका लागि सचेतना आवश्यक

गोरक्ष समाचारदाता
दाङ, १९ असार । घोराहीमा नसर्ने रोगसम्बन्धी दुईदिने गोष्ठी सुरु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा बुधवारदेखि गोष्ठी सुरु भएको हो ।

गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै त्यसबाट बच्नका लागि खानपिन र जीवनशैलीमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । खानपिनमा सावधानी नपनाउँदा पछिल्लो समय नसर्ने रोगका रूपमा मुुटुरोग, क्यान्सर, सुगर, दमलगायतका रोगको जोखिम बढ्दै गएको भन्दै प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले यसबाट बच्न खानपिन र जीवनशैलीमा ध्यान दिनुपर्ने बताए ।

अस्वस्थ खानपिन र बिलासी जीवनशैलीका कारण नागरिकको स्वास्थ्य दिन प्रतिदिन जोखिममा परिरहेकाले स्वस्थ खानपिनसँगै नियमित व्यायाममा ध्यान दिनुपर्ने बताएका थिए । उपकुलपति लामिछानेले शारीरिक गतिविधिको कमी, अनियमित दिनचर्या, धुम्रपान र मदिराको सेवन र तनावपूर्ण जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिने गरेको भन्दै हरेक नागरिक स्वास्थ्यप्रति सचेत बन्नुपर्ने बताए ।

कार्यक्रममा प्राध्यापक केके राईले मानिसको स्वास्थ्य सबैभन्दा ठुलो धन भएकाले स्वास्थ्य राम्रो बनाउन हरेक नागरिक सचेत हुनुपर्ने बताए । स्वादका लागि हरेक नागरिकले जङ्कफुड, फास्टपुडलगायत पेयपदार्थ पिउने गरेको भन्दै त्यसले स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले सचेत हुन आग्रह गरेका थिए ।

प्रतिष्ठानका सहनिर्देशक डा सुरेश रसाइलीले नसर्ने रोगबाट बच्न व्यक्तिदेखि परिवार र समाजसम्म सबै स्तरमा सचेतना आवश्यक रहेको बताए । उनले सामुदायिक स्तरमा स्वास्थ्य शिक्षा र जागरूकता कार्यक्रम नियमित सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिए । सहभागीले बढ्दो चिनी, नुन र बोसोयुक्त खानाको सेवनसँगै अखाद्य खाना, फलफूल र तरकारीमा प्रयोग गरिने विषादीका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिने गरेको बताएका थिए ।

बिहिबारसम्म सञ्चालन हुने गोष्ठीमा प्रतिष्ठानमा कार्यरत स्वास्थकर्मीसँगै घोराही उपमहानगरपालिका अन्तर्गत विभिन्न स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, अध्ययनरत नर्सलगायतको सहभागिता रहेको छ । गोष्ठीको प्रशिक्षकमा प्रतिष्ठानका डिन डा रमेश कँडेल, डा सुरेश रसाइलीलगायतका रहेका छन् ।