Goraksha

National Daily

‘देशको परिवर्तनका लागि गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका’

हिमाल महरा
घोराही,१८ असार । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा पूर्व मन्त्री राजु खनालले माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियाका माध्यमबाट समाधान गर्न स्वं गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

शान्ति प्रक्रियाका नायक, नेपाली राजनीतिक शिखर पुरुष तथा नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०१ औं जन्मजयन्तीका अवसरमा बुधवार नेपाली कांग्रेस क्षेत्र नं २ ले आयोजना गरेको वृक्षारोपणलाई सम्वोधन गर्दै कोइरालाकै कारण तत्कालिन सरकार र विदा्रोही माओवादीविच सम्झौता भएर देश शान्ति प्रक्रियाका माध्यमबाट अहिलेको अवस्थासम्म आइपुगेको बताएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पूर्वमन्त्री खनालले भने,‘नेपाली राजनीतिक इतिहासमा एउटै व्यक्तिले तीन वटा ठूला आन्दोलनको नेतृत्व गरेको दुर्लभ उदाहरण गिरिजाप्रसाद कोइराला हुन । कोइरालाले विराटनगर जुट मिलका मजदुर आन्दोलनदेखि बहुदलीय व्यवस्था, लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियासम्म उनको योगदानलाई जनताले नभुल्ने बताएका हुन । देशलाई संकट परेको बेला जस्तोसुकै कठोर निर्णय लिन सक्ने कोइरालाको जीवनीबाट सकारात्मक पक्षहरु सिकेर नेतृत्वले राजनीति गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले कोइरालालाई कुशल संगठनकर्ता, लोकतान्त्रिक आन्दोलनका निडर योद्धा, शान्ति प्रक्रियाका नायक तथा नेपालको गणतान्त्रिक यात्राका अग्रणी नेताका रूपमा स्मरण गरेका थिए । साथै उनका आदर्श र योगदानलाई पछिल्लो पुस्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम घोराही–६, लखुवारस्थित श्री जनकल्याण आधारभूत विद्यालयको प्राङ्गणमा वृक्षारोपन समेत गरिएको थियो । नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्काको सभापतित्वमा भएको वृक्षारोपन कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह–महामन्त्री खगराज पाण्डेयले तत्कालिन सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि अहिलेको परिवर्तनका लागि कोइरालाले महत्वपूर्ण योगदान गरेको बताएका थिए ।

साथै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पार्टीलाइृ एकतावद्ध बनाउनेदेखि देशमा शान्ति स्थापनाका लागि महत्वपूर्ण योगदान पु¥याउने स्वर्गीय कोइरालाबाट धेरै सकारात्मक कुराहरु सिक्न सकिने बताएका थिए । कार्यक्रममा नेपाली काग्रेस दाङका पूर्व जिल्ला सभापति विकिश्वरी गौतम, नेपाली कांग्रेसकी नेतृ तथा संविधानसभा सदस्य अनिता देवकोटा, नेपाली कांग्रेस दाङका जिल्ला उपसभापतिद्वय कमानसिंह भारती र गिरिराज सुवेदी, महासमिति सदस्य भूपबहादुर डाँगीलगायत नेताहरूले मन्तव्य राख्दै स्व. कोइरालाको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का क्षेत्रीय कोषाध्यक्ष गोपाल भुसालले गरेका थिए।