Goraksha

National Daily

विद्यार्थीमार्फत बिरुवा रोप्ने कार्यक्रम बन्दै प्रभावकारी

गोरक्ष समाचारदाता
दाङ,१८ असार । डिभिजन वन कार्यालय घोराही दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीले बुधवार विरुवा रोपेका छन ।

एक विद्यार्थी, दुई बिरुवा रोप्ने र संरक्षण गर्ने विद्यालयको बार्षिक कार्यक्रम अनुसार यस बर्षपनि विद्यालयले विद्यार्थीलाई बिरुवा प्रदान गरेको छ । विद्यालयको ‘एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा’ भन्ने कार्यक्रम अनुसार बुधबार दुवै विद्यालयमा अध्ययनरत एक हजार नौ सय बढी विद्यार्थीलाई विरुवा वितरण गरिएको ज्योतिपुन्ज आवासीय माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिएका छन् ।

बितरण गरिएका विरुवा विद्यार्थीहरुले आफ्नो घर वरपर रोपेका छन । बृक्षारोपणका लागि बजार क्षेत्रका विद्यार्थीलाई सौन्दर्यवद्र्धक बिरुवा र गाउँमा फराकिलो धेरै जग्गा हुनेहरुका लागी जडिबुटिजन्य र वनजन्य बिरुवा दिइएको थियो । विद्यालयबाट प्राप्त बिरुवा विद्यार्थीहरुले अभिभाकको सहयोगमा रोपेका छन । रोपिएका बिरुवा संरक्षण गर्ने काममा पनि विद्यार्थीहरुले निकै चासोका साथ लागेको अभिभावकले बताएका छन ।

कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङले धुपी, अर्जुन, पारिजात, गुलमोहर, अमला, कपुर, दालचिनि, टिमुर, कल्की, राजवृक्ष, छतिवन, सितलचिनी लगायतका प्रजातिका बिरुवा विद्यालयलाई निःशुल्क उपलब्ध गराएको थियो । बिरुवा लगाउने ठाउँ, क्षेत्रफल र विद्यार्थीहरुको चाहना अनुसार वितरण गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही दाङका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाले जानकारी दिएका छन् ।

कार्यक्रम शुरु भएपछि विद्यार्थीहरुमा जल,जंगल र जमिनप्रति स्नेह राखी वातावरण संरक्षण र प्रवद्र्धनमा सचेतना ल्याउनका लागि ज्योतिपूञ्जमा अध्ययनरत विद्यार्थीलाई बिरुवा घरमै लगी अभिभाभवको सहयोगमा रोप्ने र संरक्षण गर्ने कामप्रति चासो बढेर गएको पाइएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक शर्मा बताउँछन् । विद्यालयको “समाज र विद्यालय सँगसँगै” कार्यक्रमअन्तर्गत यस वर्ष “एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा” भन्ने मूल नाराका साथ विद्यार्थीहरुको प्रयोगात्मक परीक्षामा अंक उपलव्ध गराउने योजनासहित ५ बर्षदेखि बृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले बताएका छन् ।

रोपिएका बिरुवा संरक्षणका लागि विद्यालयले बिगतका वर्षदेखि नै सवै विद्यार्थीका अभिभावकलाई पत्राचार गरी छोरा÷छोरीले विरुवा रोप्नका लागि खाडल खनेर तयारी अवस्थामा राख्न, खाडल खन्दा निस्केको माटोमा कम्पोष्ट मल राम्रोसँग मिश्रण गरी खाडलको आधा भागसम्म भर्न, आधा भरिएको खाडलमा विरुवाको जरालाई छोपेको माटो नझर्ने गरी पलाष्टिक÷छवाली सावधानीपूर्वक हटाएर सिधा पर्नेगरी रोप्न सुझाव दिने गरेको छ ।

विद्यालय नयाँ ब्यवस्थापनका साथ सञ्चालनको शुरुको बर्षदेखि नै बृक्षारोपण कार्य थालिएपनि बिगत ५ बर्षदेखि बर्षहरुदेखि विद्यार्थीहरु मार्फत उनीहरुकै संरक्षणमा रहने गरी बृक्षारोपण गरिएको र उक्त कार्यक्रम प्रभावकारी भएको विद्यालयले जनाएको छ । डिभिजन वन कार्यालयको सहयोगमा उक्त कार्यक्रम गर्दै आएको र त्यसलाई थप ब्यवस्थित गर्नका लागि तीन बर्षदेखि भिभावकै प्रत्यक्ष निगरानीमा संरक्षण हुनेगरी बृक्षारोपण कार्यक्रम गरिएकोमा त्यसको अनुगमन गर्दा प्रभावकारी देखिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल अधिकारीको भनाई छ ।

विद्यार्थीहरुलाई वातावरण संरक्षण सचेतिकरणका लागि विद्यालयको योजनामा उल्लेखित “एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा” भन्ने कार्यक्रम प्रभावकारी देखिएका कारण आवश्यक बिरुवा कार्यालयले निशुल्क सहयोग गर्दै आएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।