अस्वाभाविक कर फिर्ता नलिएसम्म व्यवसाय ठप्प : केन्द्रीय सदस्य स्वर्णकार [अन्तर्वार्ता]
अहिले मुलुकभरका सुनचाँदी व्यवसायीहरु आन्दोलित छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको आह्वानमा मुलुकभर सुनचाँदी व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्दा उपभोक्ताहरु पनि यसको मर्कामा परेका छन् । अत्यावश्यक परेका बेला लुकिछिपी व्यवसायीहरुबाट गहना खरिद गर्नुपरेको छ । सरकारले सुनचाँदी व्यवसायीलाई आगामी आर्थिक वर्षदेखि बिलाशिता कर दुई प्रतिशत थप गर्ने भएपछि व्यवसायीहरु आन्दोलित भएका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्यमा सुनचाँदी व्यवसायीहरुलाई थप दुई प्रतिशत विलाशिता कर लगाउने घोषणा गरेको छ ।
यसै सन्दर्भमा केन्द्रित रहेर तुलसीपुरस्थित न्यु विजय सुनचाँदी गहना पसलका प्रोपाइटर, तुलसीपुर सुनचाँदी व्यवसायी समितिका पूर्व अध्यक्ष तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य लोकराज स्वर्णकारसँग सुन व्यवसायीका विविध समस्याका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले गरेका कुराकानीको सारसंक्षेप ।
जिल्लाभर अहिले सुनचाँदी पसलहरू बन्द छन् नि ?
हो, हामीले नेपाल सुनचाँदी व्यवसायी महासंघको आह्वानमा मुलुकभरका सुनचाँदी पसल बन्द गरेका छौं । हामीलाई सरकारले हचुवाका भरमा सुनचाँदी व्यवसायमा विलाशिता कर लगाएपछि हामी त्यसका विरुद्ध आन्दोलनमा छौँ । सोही अनुरुप हामीले दाङ जिल्लामा पनि सम्पूर्ण पसल बन्द गरेर सरकारलाई यो कर हटाउनका लागि दबाब दिइरहेका छौँ ।
महांसघले पनि यो कर खारेज गर्न नेपाल सरकार अर्थमन्त्रालयको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र पनि बुझाइसकेको छ । हामीले सरकारलाई आयकर र मूल्यवृद्धि कर तिर्दै गर्दा फेरि दुई प्रतिशत विलाशिता कर तिर्न सक्दैनौँ । त्यसैगरी आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्यमा सरकारले विलाशिता करका अतिरिक्त हिरा तथा पत्थरहरूमा तेह्र प्रतिशत मूल्य अभिवृद्धि कर पनि थोपरेको छ ।
जुन हाम्रो छिमेकी मुलुक भारतका कुनै पनि प्रान्तमा छैन । यसकारण हाम्रो एउटै माग छ सरकारसँग यो अस्वाभाविक कर तत्काल फिर्ता लियोस् । त्यसपछि मात्र हाम्रो आन्दोलन फिर्ता हुने छ ।
सरकारले तपाईहरूलाई कर लगाइरहँदा त्यो कर त तपाईहरूले उपभोक्तालाई लगाउनु पर्ने होइन र ?
हो, तपाईले भनेजस्तो पनि अरू व्यवसायमा हुने गरेको छ तर हाम्रो खुल्ला सीमाना भएको मुलुक भारतमा सुनमा यस्तो कर नलगाइने, तर हाम्रो मुलुकमा लगाइँदा यसले सीमा नाकाबाट सुनको अवैध कारोबार पनि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै विलाशिता कर खारेजीकै माग गरेका हौँ । एक त नेपालमा हरेक दिन सुनको कारोबार घटिरहेको अवस्थामा फेरि उपभोक्तालाई यो कर थोपर्दा व्यवसाय थप चौपट हुन्छ भन्ने हामीलाई विश्वास छ ।
तपाईहरूले सुन खरिद गर्ने प्रक्रियाका विषयमा पनि बताइदिनुस् न ?
सुन व्यापार अरू व्यापार जस्तो होइन, अरू व्यापारमा व्यवसायी आफूले अनुकुलका मुलुक र आफू अनुकुलका उत्पादकसम्म पुगेर सामान खरिद गर्ने गर्छन् तर हामीले सुन किन्ने भनेको नेपाल सरकारले सुनचाँदी व्यवसायीलाई तोकिदिएका वाणिज्य बैंकबाट नै हो । सुनको कारोबार गर्न नेपाल सुनचाँदी व्यवसायी संघमा आवद्ध हुनु पर्ने पहिलो सर्त हो ।
त्यसपछि व्यवसायीले आफूलाई महिनाभरी चाहिने सुनको ढिक्का खरिदका लागि सम्बन्धित क्षेत्रको सुनचाँदी व्यवसायी संघमार्फत् सिफारिस गरेर महासंघमा पठाउन्ु पर्दछ । यही सिफारिसका आधारमा महासंघले सुन किन्ने बैंक तोकिदिन्छ । त्यही गएर ५÷५ सय ग्रामका ढिक्का खरिद गर्ने गरिएको छ । कसैले त्यो भन्दा बढी पनि खरिद गर्न सक्छन् ।
दाङ जिल्लामा घोराही लमही र भालुवाङका व्यवसायी समेटिएको घोराही सुनचाँदी व्यवसायी संघ छ । तुलसीपुरका सम्पूर्ण व्यवसायी समेटिएको तुलसीपुर सुनचाँदी व्यवसायी संघ छ । तुलसीपुर क्षेत्रमा करिब ९० को हाराहारीमा सुनचाँदी व्यवसायी आवद्ध छन् । सायद घोराहीमा पनि त्यसैको हाराहारीमा होलान् ।
अहिले जिल्लामा सुनचाँदी व्यवसायीको अवस्था कस्तो छ ?
खासमा भन्नुपर्दा सुनचाँदी व्यवसाय अत्यावश्यक आवश्यकताको व्यापार भने होइन । विश्वव्याधिका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँगै युक्रेन रसियामा भएको लडाइका कारण उब्जिएको आर्थिक मन्दीसँगै मुलुकमा सुनचाँदीका गहनाको व्यापार खस्केको हो । त्यसबेलादेखि हामी माथि उठ्न सकेका छैनौँ । जसोतसो तलेको मात्र हो ।
हामीभन्दा मर्कामा अहिले कालिगढ रहेका छन् । दिनगन्ती ज्यालामाभन्दा पनि ठेक्कामा काम गर्ने कालिगढलाई अहिले पेसाबाट विस्थापित हुनुपर्ने अवस्था देखिएको छ । कतिपय त विस्थापित भइसकेका छन् । कालिगढ मात्र होइन, व्यवसायी पनि विस्थापित र पेसा छाडेर पलायन भइसकेका छन् ।
सुनको व्यापार फस्टाउनु भनेकै मानिसको क्रयशक्तिमा वृद्धि भएपछि हो, तर मानिसको क्रयशक्तिमा दैनिक जसो ह्रास आइरहेको हामीले पाएका छौँ ।
सुनव्यवसायीले जर्तिवाटै धेरै मुनाफा कमाउँछन् भन्ने आरोप छ नि ?
हो, पहिले पहिले त्यो आरोप लाग्थ्यो । जर्ति पनि कटाउने ज्याला पनि लिने आरोप हामीले खेप्नु परेको थियो । अब त्यो अवस्था छैन । अहिले त हामीले पाउने मुनाफा नेपाल सरकारले नै तोकिदिएको छ । बजारमा काउली किनेको जस्तो होइन । हामीले आधिकारिक रूपमा पाउने मुनाफा भनेको तेह्र प्रतिशत मात्रै हो ।
अर्थात एक तोलाको गहनामा तेह्र लाल हो । त्यहीबाट कालिगढ पनि पालिने हो । हामीले पाउने तेह्र प्रतिशतबाटै ८ प्रतिशत त गहना बनाउने कालिगढलाई दिनुपर्दछ । बाँकी ५ प्रतिशत मात्र हाम्रो मुनाफा हो । त्यसैबाट हामी चल्नु पर्दछ । जर्ति र ज्यालाका कुरा अहिले छैनन् ।
आकर्षक डिजाइन र गुणस्तरीय गहना किन्न राजधानी जाने पनि छन् नि, तपाईहरूसंँग दक्ष कालिगढ वा गहना बनाउने मेसिन नभएर हो ?
यो त भ्रम मात्र हो । काठमाडौँमा जुन गुणस्तरका कालिगढले काम गर्छन् । यहाँ पनि उनीहरूले नै हो । हरेक जिल्लामा अहिले पुरातन शैलीका सुनार छैनन् । बंगाली कालिगढहरूले नै जिल्ला जिल्लामा गहना बनाउँछन् ।
सामान्यतया आरनलगायत आधुनिक डिजाइनका गहना बनाउन मेसिनको पनि प्रयोग हुन थालेको छ तर अन्तमा फिनिसिङ गर्ने भनेको त म्यानुअल्ली नै हो ।
त्यो भएर दक्ष कालिगढ नभई पसल चल्ने अवस्था हँुदैन । काठमाडौँमा हुने डिजाइनका हरेक गहना अहिले मोफसलमा पनि बन्छन् । यसमा मैले आम उपभोक्तालाई विश्वस्त बनाउन चाहन्छु ।
दाङमा सुनचाँदीको कारोबार कस्तो छ ?
जिल्लाभरीको कारोबारको अवस्था त मैले भन्न सक्दैन तर तुलसीपुर क्षेत्रमा मासिक २ केजी सुनका गरगहना बिक्री हुने गरेका छन् । सायद घोराहीमा पनि त्यसैका हाराहारीमा कारोबार हुन्छ जस्तो लाग्छ मलाई । पछिल्लो दशक सुनचाँदीका गरगहनाको कारोबार ह्वात्तै घटेको छ ।
यसको कारण के हो भने यहाँका हुनेखाने सबै विदेश पलायन हुने होड चलेको छ । गरगहनालाई अत्यावश्यक आवश्यकताका रूपमा पनि लिइँदैन । त्यसैले पनि यहाँ सुनचाँदीको कारोबार घटिरहेको अवस्था छ । यसलाई हामीले सुधार गरेर गर्न सकिंदैन ।
देशको अर्थतन्त्रमै सुधार हुनु पर्दछ । आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आम्दानी बढ्न सकेमा मात्र सुनचाँदीका गरगहनाको कारोबार बढ्ने हो तर देशको अर्थतन्त्र दिनदिनै तहस नहस भइरहेको हामीले पाएका छौँ । यही कारण गरगहनाको व्यापार पनि घटिरहेको अवस्था छ ।
अन्तमा आम उपभोक्तालाई केही भन्न चाहनु हुन्छ ?
हाम्रो आन्दोलन सरकारको निर्णयका विरुद्ध हो । हामीलाई सुन व्यापारमा सरकारले अस्वाभाविक कर थोपरेको छ । कुनै पनि सामानमा कर वृद्धि गर्दा छिमेकी मुलुकहरूको कर अभ्यासलाई पनि मन्थन गर्नुपथ्र्याे । हामीसँग खुल्ला सीमा नाका भएको भारतमा सुनचाँदीका गहनाको कारोबारमा विलाशिता कर नलगाइरहेको अवस्थामा हामीलाई लगाउनु सरासर अन्यायपूर्ण हो ।
त्यसैले हाम्रो आन्दोलनका कारण उपभोक्तामा पर्न जाने असरप्रति हामी क्षमाप्रार्थी छौँ । हाम्रो आन्दोलन सफल हुने छ भन्नेमा पनि हामीलाई विश्वास छ । किनकि यो समस्या हरेक नागरिकसँग पनि जोडिएको समस्या हो । मलाई लाग्छ केन्द्रबाट पनि वार्ता सम्वाद भइरहेको छ । केही समयमा सरकार हाम्रा मागप्रति सकारात्मक भएर सम्बोधन गर्ने छ भन्नेमा पनि विश्वस्त पार्न चाहन्छु ।
