दाङ,१६ असार । दाङमा करिब ३० प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । असारको १४ सम्म जिल्लामा सिँचाइ सुविधा भएको करिब ३० प्रतिशत खेतमा किसानले धान रोपाइँको काम सकेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
समयमा पानी नपर्दा जिल्लामा अधिकांश ठाउँमा धान रोपाइँ हुन नसकेको समयमा देउखुरी क्षेत्रमा रोपाइँ लगभव सकिन थालेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिएका छन् ।
सूचना अधिकारी लामिछानेका अनुसार देउखुरी क्षेत्रको लमही नगरापलिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिकालगायत बाह्रै महिना सिचाइँ सुविधा भएको ठाउँहरूमा किसानले धान रोपेका छन् ।
जिल्लामा सबैभन्दा बढी राप्ती गाउँपालिकामा धान रोपाइँ भएको छ । सूचना अधिकारी लामिछानेले भने, ‘अहिलेसम्मको अवस्था हेर्ने हो भने सबैभन्दा बढी अर्थात् ९० प्रतिशत रोपाइँ देउखुरीको राप्ती गाउँपालिका र लमहीमा सकिएको छ तर अन्य ठाउँमा धान रोप्ने गरी वर्षात् नहुँदा रोपाइँ हुनसकेको छैन ।’
राप्ती गाउँपालिका र लमही नगरपालिकामा प्रगन्ना सिँचाइ आयोजना अन्तर्गत बाह्रै महिना सिँचाइको सुविधा हुने गरेको छ । पानी पर्न थालेको र किसानले राखेको ब्याड पनि तयार हुने अवस्था भएकाले पानी परेपछि धमाधम रोपाइँ हुने अवस्था रहेको बताए ।
जिल्लामा धान खेती हुने ३७ हजार दुई सय २५ हेक्टर खेतमा रोपाइँ हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार गत वर्ष जिल्लामा ३७ हजार दुई सय २५ हेक्टरमा धान खेती भएको थियो । जिल्लामा पछिल्लो समय धान खेती हुने क्षेत्रफलमा किसानले व्यावसायिक रूपमा तरकारी खेतीसँगै प्लटिङ हुने गरेका कारण बर्सेनि खेतीयोग्य जमिन घट्दै गएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।