चौघेरा मठको सम्पत्ति संरक्षणमा ध्यान दिन सुझाव

राजीव योगी
दाङ, १६ असार । गोरक्षपात्रदेवता सिद्धरत्ननाथ मठ, चौघेराको आयोजनामा मठ व्यवस्थापन तथा सञ्चालनबारे छलफल गरिएको छ । विगत लामो समयदेखि मठसँग सम्बन्धित विषयमा समुदायस्तरमा छलफलको आवश्यकता रहे पनि औपचारिक रूपमा अन्तरक्रिया हुन नसकेको अवस्थामा मठसँग सम्बद्ध स्थानीयको पहलमा कार्यक्रम आयोजना गरिएको हो ।

मठाधीश पीर योगी ब्रह्मनाथको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मठको सम्पत्ति, आम्दानी, खर्च, सम्भाव्यता र संरक्षणबारे गहन छलफल भएको थियो । कार्यक्रममा मठद्वारा प्रस्तुत कार्यपत्रमा मुख्यतः मठको जग्गासम्बन्धी विवरण उल्लेख गरिएको थियो । कार्यपत्रमा विगतको तुलनामा मठको जग्गा क्षेत्रफल घटेको कारण प्रस्ट्याइएको थियो ।
संस्कृतिविद तथा मठ सञ्चालक समिति सदस्य डा. गोविन्द आचार्यले आम्दानीका परम्परागत स्रोत घट्दै गएकाले मठको दैनिक सञ्चालनमा कठिनाइ आएको बताए । सल्लाहकार हरिप्रसाद पाण्डेयले मठको जग्गा वर्गीकरण गर्दै संरक्षण र पुनःप्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिए ।

वडाध्यक्ष तथा समिति सदस्य रामलौटन चौधरीले मठको प्रचारप्रसारमा स्थानीय निकायको अभिभावकीय भूमिका रहने स्पष्ट पारे । पूर्व पीर मठाधीश जोगी देवनाथले योग्य व्यक्तिलाई जिम्मेवारी दिई मठले नाथ सम्प्रदायको राष्ट्रिय नेतृत्व लिन सक्ने सम्भावनाको कुरा उठाए । स्थानीय कैलाश योगीले समुदायको शून्य सहभागिताले मठको अपेक्षित उन्नति हुन नसकेको बताए ।

क्रिकेट संघ नेपालका केन्द्रीय सदस्य प्रदीप मजगैयाँले भारतबाट आउने श्रद्धालुहरूको व्यवस्थापन र विशेष कार्ययोजना अघि सार्न सुझाव दिए । शेषदत्त चौधरीले मठको जग्गा आफैँ प्रयोग गरेर लाभ लिन सकिने बताए भने लक्ष्मी नारायण शर्माले ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण अभावले मठको सम्भावनामा अवरोध आएको बताए । तदर्थ समितिका सचिव राजीव योगीले मठ व्यवस्थापन, कर्मचारी सक्रियता र जनसहभागिताका विभिन्न पक्षमा सुझाव प्रस्तुत गरे ।

सचिव डा. भोलानाथ योगीले समय अभावका कारण प्रचारप्रसारमा कमी भएको स्वीकार गर्दै योग्य व्यक्ति आएमा मार्ग प्रशस्त गर्ने बताए । कानुनविद् कृष्णबहादुर डाँगीले मठका पुराना द्रव्यहरूलाई सार्वजनिक सङ्ग्रहालयमा राख्नुपर्ने बताए । दामोदर सुवेदीले हिसाब सार्वजनिक गर्दै सामाजिक लेखापरीक्षण गर्न र जातीय विभेद अन्त्य गर्न माग गरे । उद्योग वाणिज्य संघ दाङका बरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, स्थानीय कल्पना योगीलगायतले समुदायको भूमिकामा जोड दिए ।

कार्यक्रमको स्वागत मन्तव्य हरिप्रसाद पाण्डेले दिएका थिए भने सञ्चालन समितिका सदस्य तथा अतिरिक्त क्रियाकलाप संयोजक तोयनाथ योगीले सहजीकरण गरेका थिए । पूर्व मेयर अमरबहादुर डाँगी, मठका महन्त योगी सुरतनाथ, डा. मनोज अधिकारी, जगन्नाथ गिरी, बिमल भण्डारी, चौघेरा खानेपानी, विभिन्न टोल विकास संस्था, स्कुल प्रतिनिधिलगायतको उपस्थिति रहेको कार्यक्रममा मठको समुचित व्यवस्थापन र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।