गोरक्ष समाचारदाता
घोराही, १६ असार । संस्कृति संरक्षण, कृषि क्षेत्रको विकास र राजनीतिक एकता अहिलेको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयको राष्ट्रिय धान दिवसका अवसरमा घोराहीमा आयोजना गरेको ‘दही–चिउरा खाने कार्यक्रम’का सहभागीले दहि चिउरा खाने परम्परालाई निरन्तरतासँगै कृषि क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताएका हुन ।
कृषि क्षेत्रको विकास विना देशको आर्थिक समृद्धि हुन नसक्ने र युवा जनशक्ति विदेशिने क्रम नरोकिने भएकाले स्वदेशमा रोजगारीका माध्यमबाट युवा जनशिक्तलाई रोक्नका लागि कृषिलाई उद्यमशिलतासँग जोडर विकासमा लाग्नुपर्ने बताएका थिए । सहभागीले कृषि पेसा आर्थिक रुपमा कमजोर परिवारले गर्ने व्यवसाय भन्ने मानसिकता रहेको भन्दै त्यसलाई हटाउन आवश्यक रहेकोमा जोड दिएका थिए । साथै असार १५ लाई धान रोप्ने र दहि चिउरा खाने पर्व मात्र नभएर नेताहरुको फाटेको ‘मन जोड्ने पर्व’ का रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयको सभापतित्वमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री राजु खनालले असार १५ जस्ता पर्वहरूले आत्मीयता साटासाट गर्नेसँगै पार्टीलाई एकतावद्ध बनाउन सहयोग गर्ने बताए । पार्टीलाई बलियो र एकढिका बनाउनका लागि जोड्ने काम दहि चिउरा खानेलगायतका विभिन्न पर्वहरुले गरिरहेको भन्दै उपसभापति खनालले पार्टीका सवै तहका नेता तथा कार्यकर्ताहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कांग्रेसभित्र एकता र सहकार्यको भावना बलियो बनाउन लाग्नुपर्ने बताए ।
नेपाली कांग्रेस दाङका पूर्व सभापति विरकेश्वरी गौतमले कृषि क्षेत्रको विकासका लागि सरकारको ध्यान केन्द्रीत गर्नुपर्नेमा बताए । अहिले कामभन्दा कुरा मात्र गर्ने प्रवृद्धिका कारण कृषि क्षेत्र पछाडी परेको भन्दै कृषि क्षेत्रमा नयाँ पुस्ताको आकर्षण गराउनका लागि कृषिलाई प्रविधिमैत्री बनाउन सरकारले ध्यानदिनुपर्ने भन्दै उनले भने,‘गफ मात्र गरेर कृषि पेसाको समृद्धि हुँदैन,व्यवहारमा लागु गर्न सक्नुपर्छ । कृषिमा मल, बीउ र प्रविधिको पहुँच बढाउन आवश्यक छ ।’
संविधानसभा सदस्य अनिता देवकाटाले कृषिलाई सम्मानित पेसाका रुपमा विकास गर्नुपर्ने बताइन । असार १५ लाई मानो खाएर मुरी उब्जाउने दिनका रूपमा लिने गरेको भन्दै उनले उत्पादनमुखी सोचको विकाससँगै कृषि कार्यमा सहभागीता बढाउन आवश्यक रहेको बताइन । नेपाली कांग्रेस दाङका उपसभापति गिरीराज सुवेदीले दहि चिउरा खाने पर्वले नेपालीलाई एकता र सहकार्य गर्न सहयोग पुग्ने बताए ।
महासमिति सदस्य विमला योगीले कृषि पेसालाई उद्यमशीलता र स्थानीयस्तरमा रोजगारका अवसर सिर्जना गर्ने गरि अघि बढाउन आवश्यक रहेको बताइन । कृषिलाई प्रविधि र रोजगारीसँग जोड्दै विकास गर्न सके कृषि क्षेत्रको विकाससँगै रोजगारीका लागि युवालाई विदेश जान नपर्ने बताइन । त्यसका लागि पार्टीले पहल गर्नुपर्ने बताइन । महासमिति सदस्य भुपबहादुर डाँगीले सास्कृतिक पर्वका रुपमा रहेको दहि चिउरा खाने कार्यक्रमले पार्टीभित्र रहेको आपसी बेमेल र तिक्तालाई हटाएर एकतावद्ध बनाउन सहयोगी भूमिका खेल्ने बताएका थिए । कार्यक्रममा बोल्दै महासमिति सदस्य भोजराज पाण्डेयले दहि चिउरा खाने तथा धान दिवसलाई कार्यक्रममा मात्र नभएर व्यवहारमा लागु गर्न सवैले ध्यानदिनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल प्रेस। युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदीप गौतमले कार्यक्रमको बिषवस्तुमाथि प्रकाश पार्दै नेपाली समाजमा गहिरो सांस्कृतिक महत्व बोकेको असार १५ लाई केवल दही–चिउरा खाने पर्वका रुपमा मात्र नभएर कृषिप्रति सम्मान र आत्मनिर्भरतातर्फको सन्देश दिने गरेको बताए । कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेश पाण्डेयले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेससँगै भाृत तथा शुभेच्छुक संघसस्थाका नेता तथा कार्यकर्ताहरको सहभागिता रहेको थियो ।