प्रियास्मृति ढकाल
नेपालगञ्ज, २३ बैशाख । कोरोनाको संक्रमण फैलिन नदिन र संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ प्रभावकारी गराउन नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले ‘व्याकफोर्स’का रुपमा नेपाली सेनालाई परिचालन गरेको छ । लकडाउनदेखि नै नेपालगञ्जमा नेपाली सेना परिचालन गरिएको भए पनि कोरोनाको संक्रमण फैलिएपछि सुरक्षा समितिको बैठकले ‘व्याकफोर्स’का रुपमा सेनालाई परिचालन गर्ने निर्णय गरेको थियो ।
मंगलवारदेखि नेपाली सेनाले नेपालगञ्जमा गस्ती शुरु गरेको छ । ‘लकडाउनबाटै नेपाली सेना परिचालन गरेका थियौं’, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने– ‘तर कोरोनाको संक्रमण फैलिएपछि थप सजगता अपनाउनुपर्ने भएकाले सेनालाई सक्रिय गराउने निर्णय भएको हो, त्यसैअनुसार सेनाले गस्ती गरिरहेको छ ।’ लकडाउनको समयमा नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरी मिलेर चोकचोकमा चेकजाँच गर्ने र मानिसहरुको मुभमेन्ट कम गर्ने काम गर्दै आएको उनले बताए । जिल्लाको सुरक्षा समितिमा सेनाको समेत प्रतिनिधित्व हुने भएकाले समन्वय र सहकार्यबाटै सेना परिचालन भएको उनले स्पष्ट पारेका छन् ।
नेपालगञ्जमा कोरोना संक्रमण फैलिन थालेपछि स्थानीय प्रशासनले आगामी २५ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । जसका कारण आइतवार नेपालगञ्ज सुनसान रह्यो । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्वुलेन्ससहित अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन ठप्प भए । कोरोनाको त्रासका कारण आइतवार त्यसै पनि नागरिकहरु घरबाट बाहिर निस्कन सकेका छैनन् ।
मंगलबार झडप
निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच हिजो मंगलबार झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउने क्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई तितर–वितर गर्न त्रिवेणी मोडमा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासी प्रहरीमाथि हातपात गरेका थिए ।
प्रहरीले उनीमाथि सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । बजार बन्द गराउने क्रममा प्रहरीमाथि हातपात गर्ने व्यापारी गुप्तालाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गरिएको प्रहरी प्रवक्ता सिंहले बताए ।
स्थानीय प्रशासनले उपमहानगरपालिका क्षेत्रलाई मंगलबार बिहान ११ बजेदेखि यही बैशाख २५ गते मध्यरातसम्मका लागि पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरिसकेको छ । निषेधाज्ञा अवधिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाइएको छ ।
आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ । सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । नेपालगञ्जमा शुक्रबार, आइतबार र मंगलबार गरी २३ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणासँगै सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ खड्काको भनाइ छ ।